कुन बैंक कति पानीमा, हेर्नुहोस् ६ महिनाको नाफा नोक्सान


चन्दा कार्की
वाणिज्य बैंक

काठमाडौं, माघ १५ । सोमबारसम्म २८ वाणिज्य बैंकमध्ये २७ वाणिज्य बैंकले चालू आर्थिक वर्षको पहिलो छ महिनासम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । प्राइम कमर्सियल बैंक बाहेक सबै वाणिज्य बैंकले वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।

वित्तीय विवरण सार्वजनिक गरेका बैंकमध्ये अधिकांश बैंकको मुनाफा बढेको देखिएको छ । लगानीयोग्य पुँजी (तरलता)को अभाव झेलिरहेका बेला बैंकहरूको नाफा बढेको छ ।

सर्वाधिक नाफा कमाउनेमा नबिल

वित्तीय विवरण सार्वजनिक गरेका २७ बैंकमध्ये नौ वाणिज्य बैंकले चालू आर्थिक वर्षको छ महिनामा अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । जसमध्ये सबैभन्दा बढी मुनाफा नबिल बैंकले कमाएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १ खर्ब बढी कर्जा प्रवाह नबिल बैंकले १ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएको छ । पुस मसान्तसम्ममा १ खर्ब २१ अर्ब निक्षेप संकलन गरेको बैंकले १ खर्ब ८५ करोड कर्जा प्रवाह गरेको छ ।

त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले पनि गत वर्षको सो अवधिको तुलनामा १५ दशमलव ४९ प्रतिशतले मुनाफा बढाएर १ अर्ब ८३ करोड रुपैयाँ नाफा पुर्याएको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा सर्वाधिक मुनाफा गर्ने तेस्रो नम्बरमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक रहेको छ । बैंकले १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ । यो मुनाफा गत वर्षको सो अवधिको तुलनामा ४६ दशमलव ६५ प्रतिशतले बढी हो । २०७४÷७५ को दोस्रो त्रैमासमा सरकारी शेयर स्वामित्व रहेका तीन वटा बैंकले अर्बमाथिको मुनाफा गरेका छन् । गत वर्षको तुलनामा केही कम नाफा गरेको नेपाल बैंकले यो अवधिमा १ अर्ब ६३ करोड रुपैयाँ नाफा कमाएको छ । त्यस्तै कृषि विकास बैंकले १ अर्ब २ करोड नाफा कमाएको छ ।
यसैगरी एभरेस्ट बैंक लिमिटेडले पहिलोपटक आर्थिक वर्षको छ महिनाको अवधिमा नै अर्बमाथि नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा ९७ करोड १५ लाख रुपैयाँ नाफा गरेको बैंकले गत वर्षको सो अवधिको तुलनामा नाफा १७ दशमलव ३५ प्रतिशतले बढाएर १ अर्ब १४ करोड पुर्याएको छ । हिमालयन बैंकले पनि यो अवधिमा १ अर्ब १० करोड नाफा कमाएको छ । त्यस्तै एनएमबि बैंकले १ अर्ब ५ करोड र स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ ।

सर्वाधिक नाफा बढाउनेमा एनसीसी

चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सर्वाधिक नाफा बढाउनेमा नेपाल क्रेडिट एन्ड कमर्स बैंक रहेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ४ गुणाले नाफा बढाएर ३५ करोड ४५ लाख रुपैयाँ पुर्याएको छ । गत वर्षको सोही अवधिमा बैंकको मुनाफा ७ करोड ७६ लाख रुपैयाँ रहेको थियो ।

आठ बैंकको नाफा घट्यो

नौ वाणिज्य बैंकले दोस्रो त्रैमासमा नै अर्बमाथिको नाफा बढाउँदा आठ वाणिज्य बैंकले भने गत वर्षको तुलनामा नाफा घटाएका छन् । गत आर्थिक वर्षमा खराब कर्जा उठाएर अर्बमाथि नाफा गरेको प्रभु बैंकको मुनाफा यो अवधिमा सबैभन्दा बढी घटेको छ । बैंकले ६३ करोड ४९ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ । गत वर्षको सो अवधिमा बैंकको मुनाफा १ अर्ब ११ करोड रहेको थियो । मुनाफामा गिरावट आए पनि बैंकको नियमित क्रियाकलाप भने सकारात्मक देखिएको छ ।
त्यस्तै एनआईसी एसियाको मुनाफामा पनि २० दशमलव ७४ प्रतिशतले कमी आएको छ । गत वर्षको पुस मसान्तसम्म ७२ करोड १४ लाख नाफा कमाएको बैंकको यो अवधिमा मुनाफा ५७ करोड १७ लाख रुपैयाँमा खुम्चिएको छ । त्यस्तै माछापुच्छे«को मुनाफा पनि ४७ करोड १८ लाख रुपैयाँमा झरेको छ । माछापुच्छे«ले गत वर्षको सो अवधिकमा ५७ करोड ५३ लाख नाफा गरेको थियो ।

यता अर्बमाथिको नाफा गरेको नेपाल बैंकको नाफा पनि गत वर्षको तुलनामा केही कमी आएको छ । गत वर्ष शेयर र केही सम्पत्ति बेचेर १ अर्ब ८९ करोड नाफा गरेको बैंकले नाफा हाल १ अर्ब ६३ करोड नाफा कमाएको छ । गत वर्षको तुलनामा मुनाफामा केही कमी देखिए पनि बैंकको समग्र वित्तीय कअवस्था भने सकारात्मक नै देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया