भिसा कार्डबाट भुक्तानी गरे १० प्रतिशत सम्म ‘क्यास ब्याक’ पाइने


आर्थिकन्यूज
भिसा कार्डबाट भुक्तानी गरे १० प्रतिशत सम्म ‘क्यास ब्याक’ पाइने

काठमाडौं, पुस ३० । १० वटा बैंकहरुले भिसा कार्डको माध्यमबाट वस्तु खरिद गरे १० प्रतिशत सम्म क्यास व्याक दिने भएका छन् । आइतबार राजधानीको होटल अन्नपूर्णमा एक कार्यक्रमको आयोजना उक्त अफरको सार्वजनिक गरिएको हो । यस अघि गत दशैमा भिसा कार्डबाट रकम भुक्तानी गरे वापत १० प्रतिशत अनिवार्य क्यास ब्याक दिएका बैंकहरुले अब भने न्युनतम् २ प्रतिशतदेखि अधिकतम् १० प्रतिशत सम्म क्यास ब्याक दिने भएका छन् ।

Eco Roofing

भिसा कार्डबाट भुक्तानी गरे क्यास ब्याक दिने योजना नेपाल इन्भेष्टमेन्ट बैकको नेतृत्वमा सेञ्चुरी बैंक, ग्लोबल आइएमइ बैंक, कुमारी बैंक, महालक्ष्मी विकास बैंक, मेगा बैंक, एनसिसी बैंक, राष्ट्रिय बाणिज्य बैंक, सानिमा बैक र टुरिज्जम विकास बैंकले ल्याएका हुन् ।

क्यास ब्याक अफर अन्तर्गत उल्लेखित बैंकहरुले भिसा डेविट कार्डबाट भुक्तानी दिए वापत कम्तिमा ५०० का दरले तीन पटकसम्म कारोबार गर्दा २ प्रतिशत मात्र नगद फिर्ता दिनेछन् । महिनाभरीमा ४ पटकदेखि १५ पटकसम्म कारोबार गर्नेले पाँच प्रतिशत नगद फिर्ता पाउँछन् भने १६ पटकदेखि ३० पटकसम्म कारोबार गरेमा सात प्रतिशत र त्योभन्दा बढि पटक कारोबार गरेमा मात्र १० प्रतिशत नगद फिर्ता हुन्छ । नगद फिर्ता ५०० देखि १० हजार रुपैयाँसम्मको कारोबारमा लागू हुन्छ। १० हजारमाथि जतिसुकै रुपैयाँको सामान किने पनि एक हजार रुपैयाँसम्म मात्र फिर्ता हुन्छ । स्किम माघ १ गतेबाट लागू हुने छ। ट्रायलका रुपमा एक महिनासम्म स्किम लागू हुने बताइएको छ ।

नेपालभर अहिले ४ हजार ५ सय पस मेसिनहरु रहेको तथ्यांक छ । पस मेसिनको माध्यमबाट भिसा कार्डको प्रयोग गरी वस्तु तथा सेवाको भुक्तानी दिन सकिनेछ । उल्लेखित बैंकहरुका साढे १६ लाख भिसा कार्ड नेपालमा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया