संखुवासभामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्षसहित ५ जनाकोे मृत्यु


आर्थिकन्यूज

काठमाडौं, पुस ३० । संखुवासभाको मकालु गाउँपालिका–२ हेदङ्नामा आइतबार भएको जीप दुर्घटनामा गाउँपालिकाका अध्यक्षसहित पाँचजनाको ज्यान गएको छ ।

जिल्लाको गढीबजार नजिकै उक्त दुर्घटना भएको हो । दुर्घटनाबाट अध्यक्ष खड्ग कटुवालको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले आर्थिकन्यूज डटकमलाई बताए । घटनास्थलमा प्रहरी टोली पुगेको तर मृतकहरुको सनाखत नभएको उनले जानकारी दिए ।

सदरमुकाम खाँदबारीबाट भोटखोलाको वरुण मेला भर्न जाने क्रममा बा५ च १३०९ नम्बरको पिकअप सडकबाट करिब ७ सय मिटर तल अरुण नदीको बगरमा झरेर दुर्घटनाग्रस्त भएको हो । यो दुर्घटनामा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल, जिल्ला समन्वय समितिका सूचना अधिकारी सुबासचन्द्र कुइँकेल र मकालुमा बस्दै आएका हेदाङ्नाका सुरेश राईसहित पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले बताए ।

प्रनाउ खड्काका अनुसार यो दुर्घटनामा परेका अन्य दुईजनाको सनाखत हुन बाँकी रहेको छ । यो जीपमा १२ जना भन्दा धेरै यात्रु सवार थिए । घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको संखुवासभा प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया