१४ करोड ६८ लाख कित्ता नयाँ शेयर आउँदै


आर्थिकन्यूज
शेयर

काठमाडौं, पुस २९ । विभिन्न २३ कम्पनीले साधारण शेयर निष्कासन गर्ने भएका छन् । शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका १६ कम्पनी र शेयर निष्कासनको अनुमति पाइसकेको ७ कम्पनीले गरी २२ कम्पनीले १४ करोड ६८ लाख ४० हजार ६४४ कित्ता शेयर निष्कासन गर्न लागेका हुन् ।

Eco Roofing

शेयर निष्कासन गर्न लागेका २३ कम्पनीमध्ये बुटवल पावर कम्पनी लिमिटेड र एनएमबि बैंकले फर्दर पब्लिक अफरिङ (एफपीओ) निष्कासन गर्ने भएका हुन भने अन्य २१ कम्पनीले आईपीओ निष्कासन गर्न लागेका हुन् ।

७ कम्पनीलाई शेयर निष्कासन अनुमति

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ९ गतेदेखि साधारण शेयर (आईपीओ) निष्कासन गर्दैछ । कम्पनीले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । ३ लाख कित्तामध्ये १२ हजार कित्ता संस्थाका कर्मचारी र १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले २ लाख ७३ हजार कित्तामा लागि मात्र आवेदन गर्न पाउँनेछन् ।

कम्पनीको आइपीओमा न्युनतम ५० र बढीमा १५०० कित्तासम्म आवेदन दिन पाईनेछ । आईपीओ निष्कासन छिटोमा माघ १२ र ढिलोमा फागनु ८ गते बन्द हुने एसबीआईले जनाएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

काभ्रेको साँगामा मुख्य कार्यालय रहेको कम्पनीको ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । कम्पनीको आइपीओ निष्काशन पश्चात चुक्ता पूँजी दश करोड रुपैयाँ पुग्नेछ ।

त्यस्तै बुटवल पावर कम्पनीलाई पनि नेपाल धितोपत्र बोर्डले एफपीओ निष्कासन गर्ने अनुमति दिएको छ । कम्पनीले प्रिमियम सहित प्रतिकित्ता ५०१ रुपैयाँमा ४० लाख ८१ हजार कित्ता शेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले ३० मेगवाटको न्यादी र ३७.६ मेगावाटको काबेली ए जलविद्युत आयोजना निमार्ण गर्ने क्रममा रहेको छ । साथै १०० मेगावाटको मनाङ मर्स्याङ्दी आयोजना पनि निमार्णको अनुमति लिने क्रममा रहेको छ ।

त्यस्तै आरम्भ माइक्रोफाइनान्सले पनि शेयर निष्कासनको अनमुति पाएको छ । त्यसैगरी जलविद्युत क्षेत्रका चार कम्पनी पञ्चकन्या माई हाइड्रो पावर, सान्जेन जलविद्युत कम्पनी, रसुवागढी हाइड्रोपावर कम्पनी र कालिका पावर कम्पनीले पनि शेयर निष्कासनको अनुमति पाएका छन् । यी जलविद्युत कम्पनीले स्थानीयका लागि शेयर निष्कासनको अनुमति पाएका हुन् ।

जलविद्युतमा आकर्षण बढ्दो

पछिल्लो समयमा जलविद्युत कम्पनीहरु पनि धमाधम शेयर निष्कासन गर्ने क्रममा रहेका छन् । जलविद्युत आयोजनाले अनिवार्य स्थानीयलाई १० प्रतिशत शेयर दिनुपर्ने व्यवस्था गरेपछि धमाधम शेयर बिक्री गर्न लागेका हुन् । शेयर निष्कासनको लागि आवेदन दिने १६ कम्पनी मध्ये एनएमबि बैंकले फर्दर पब्लिक अफरिङ एफपीओ निष्कासन गर्न लागेको हो भने अन्य १५ कम्पनीले आईपीओ निष्कासन गर्ने भएका हुन् ।

आईपीओ निष्कासन गर्ने १५ कम्पनीमा नेपाल सेवा लघुवित्त र आसा लघुवित्त वित्तीय क्षेत्रका कम्पनी हुन् भने १३ जलविद्युत कम्पनी रहेका छन् । यसमध्ये सिइडीबी हाइड्रो र मैलुङ खोला जलविद्युत कम्पनीले आम सर्वसाधारणका लागि शेयर जारी गर्न लागेका हुन् । त्यस्तै साञ्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रो पावर कम्पनीले प्रमोटर कम्पनीका कर्मचारी, कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता र ऋण प्रवाह गरेका संस्थाका कर्मचारीहरुका लागि शेयर जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएका छन् । अपर तामाकोशी जलविद्युत कम्पनीले स्थानीय र आम सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया