एटीएम कार्डमा मनपरी शुल्क नियन्त्रण हुँदै

कार्डमार्फत् प्रत्येक महिना १ अर्ब ५० लाख बाहिरिन्छ


आर्थिकन्यूज

काठमाडौं, पुस ३० । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाद्वारा जारी गरिएका कार्डमा लिने शुल्कमा एकरूपमा ल्याउने भएको छ । बैंकहरुले जारी गरेका एटीएम कार्डमा शुल्क एकरूपता नभएका कारण ग्राहक ठगिएको गुनासो आउन थालेपछि राष्ट्र बैंकले कार्डको शुल्कमा एकरुपता ल्याउनका लागि गृहकार्य गरिरहेको राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जनाएको छ ।

हाल सञ्चालनमा रहेका स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी), नेसनल पेमेन्ट नेटवर्क (एनपीएन), नेपाल इलेक्ट्रोनिक सिस्टम (नेप्स) भिसा कार्डको स्विचिङ नेपाल इन्भेष्टमेन्ट बैंकले गर्ने गरेको छ भने मास्टर कार्डको स्विचिङ हिमालयन बैंकले गर्ने गरेको छ ।

राष्ट्र बैंकको निर्देशनअनुसार कुनै पनि बैंक तथा वित्तीय संस्थाले दिने सेवामा कुनै शुल्क लिन नपाउने रहेको छ । तर, बैंक तथा वित्तीय संस्थाले दिने सुविधामा लाग्ने न्यूनतम शुल्कमा सेवा लिन राष्ट्र बैंकले भनेको छ । हाल बैंक तथा वित्तीय संस्थाले कार्ड सेवाबाट पनि आम्दनी हुने देखेर आफ्नै नेतृत्वमा कार्ड सेवा सञ्चालन गर्दै आएका छन् ।

हाल सञ्चालनमा रहेको एससीटीको नगद व्यवस्थापन हिमालयन बैंकले गर्ने गरेको छ भने एनपीएनको व्यबस्थापन नेपाल इन्भेष्टमेन्ट बैंक र नेप्सको व्यवस्थापन सनराइज बैंकले गर्दै आइरहेको छ । यी बैंकले उपलब्ध गराएको कार्ड सेवाको शुल्कमा भने एक रुपता देखिँदैन । तीन वटा कार्ड सेवा सञ्चालका बीचमा नै समन्वय नहुँदा ग्राहकले कार्ड सेवाको शुल्क महँगो तिर्न परेको गुनासो आइरहेको राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले जनाएको छ ।

एससीटी कार्डको सदस्य भएका बैंकभित्र कार्ड प्रयोग गरेमा प्रत्येक कारोबार २५ रुपैयाँ लाग्ने गरेको छ भने एनपीएन र नेप्सका सदस्य भएको बैंकबाट कारोबार गरेमा प्रत्येक कारोबारमा ५० रुपैयाँ लाग्ने गरेको बैंकहरुले बताउँदै आएका छन् । यता, एनपीएन कार्डको सदस्य रहेको बैंकका ग्राहकले आफ्नो सदस्य बैंकभित्र कारोबार गर्दा २० रुपैयाँ प्रत्येक कारोबारमा लाग्ने गरेको बताएका छन् ।

तर, प्रभु बैंकमा खाता हुने एक जना कार्ड होल्डरले नेपाल इन्भेष्टमेन्ट बैंकबाट गत शुक्रबार पैसा निकाल्दा भने १ सय ५० रुपैयाँ शुल्कका लागेको गुनासो गरे । त्यस्तै नबिल बैंकको कार्ड हुने अर्काे कार्ड होल्डरले बैंक अफ काठमाण्डूबाट रकम निकाल्दा पनि सोहीबराबरको शुल्क लिएको एक पीडितले बताए ।

त्यस्तै भारतीय सरकारको लगानी रहेको नेपाल एसबीआई बैंकले भने नेपाल राष्ट्र बैंकको निर्देशनको उल्लंघन गर्दै आफ्नो कार्डको स्विचिङ सञ्चालन गर्दै आएको छ । एसबीआई बैंकले आफू भारत सरकारको लगानीमा रहेको बैंकको शाखा कार्यालय भएकाले नेपालका स्थानीय कार्ड सेवा दिने निकायहरुसँग समन्वय गर्न नपर्ने भन्दै आफ्नै छुट्टै स्विचिङ गेटवे बनाएर नेपाल र भारतमा कार्ड सेवा सञ्चालन गर्दै आएको छ ।

एटीएम वा कुनै पनि कार्डबाट गरिने कारोबार अत्यावश्यक परेको बेला गरिन्छ तर, सोही मौका छोपेर बैंकहरुले दिने सेवामा ग्राहकलाई यथेष्ट सूचना नै नदिई अप्ठ्यारोमा पार्ने गरेका छन् ।

यता, अन्तर्राष्ट्रिय कार्डको रकमको व्यवस्थापन अब चालू आर्थिक वर्षको अन्त्यसम्ममा नेपाली रुपैयाँमा नै गर्नुपर्ने राष्ट्र बैंकले भनेपछि अहिले अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायकहरु नेपाली विभिन्न बैंकहरुसँग छलफलमा रहेका छन् । नेपालमा धेरैभन्दा धेरै प्रचलनमा रहेका मास्टर कार्ड र भिसा कार्ड हुन् । हिमालयन बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाललगायतका बैंकहरु नेपालमा चलचल्तीमा आएका कार्डको स्थानीय एजेन्ट बन्न लागिपरेका छन् ।

हाल मास्टर कार्डको नगद व्यवस्थापन भारतको पुनेबाट भइरहेको छ भने भिसाको सिंगापुरबाट भइरहेको छ । यसले गर्दा नेपाली बैंकका ग्राहकहरुको खाताको सूचना विदेशी समक्ष पुगिरहेको छ भने प्रत्येक महिना करिब १ अर्ब ५० लाख रुपैयाँ कमिसनसमेत उनीहरुले लिँदै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया