विश्वमा कस्ले कति खपत गर्छ सुन ?


आर्थिकन्यूज

काठमाडौं, पुस २९ । पछिल्लो समय सुनको माग र कारोबारमा वृद्धि भएको छ । सन् १९७० को दशकदेखि प्रत्येक वर्ष सुनको माग तीन गुणाले बढ्दै गएको छ । विश्वभर अहिले १२९० टन सुनको माग रहेको छ । सुन साँस्कृति, धार्मिक, आत्मिक र व्यावसायिक रुपमा जोडिएको धातु भएकाले पनि विभिन्न देशमा यसको प्रयोग गहना बनाउन, प्राविधिक काम आदिमा प्रयोग गर्न र धनको रुपमा सञ्चिति गर्न बढी प्रयोग भएको पाइन्छ ।

सुनका बिस्कुट र सिक्काको माग गर्नेमा युरोप पहिलो नम्बरमा आउँछ । युरोपमा सन् २००८ देखि २०१५ सम्म युरोपमा २१२.६ टन सुनको माग भएको छ । जुन सन् १९९५ देखि २००७ सम्मको तथ्यांकभन्दा झण्डै दोब्बर हो । अहिले युरोपमा १२ प्रतिशतका दरले सुनको माग बढिरहेको छ । युरोपसंँगै अहिले सुनको कारोबार पूर्वी राष्ट्रमा बढी भइरहेको छ । आर्थिक वृद्धिदरमा सुधार भएसंँगै पूर्वी मुलुकमा सुनको मागमा पनि बढी रहेको छ ।

चीनमा सन् २००४ देखि २०१५ सम्म आउँदा १२ देखि २०१ टनसम्म सुनको माग भएको पाइन्छ । चीन, भारत र अमेरिका सुनका गहनाको ठूलो मात्रामा कारोबार गर्ने मूलुकमा पर्दछन् । सन् २०१५ मा चीनमा ७८४ टन, भारतमा ६५४ टन र अमेरिकामा १२० टन सुनको कारोबार भएको थियो । अन्य क्षेत्र वा कार्यमा भन्दा सुनका गरगहना बनाउनका लागि २०१५ मा सबैभन्दा धेरै अर्थात ५७ प्रतिशतले माग भएको छ ।

सुन उत्पादन गर्ने विश्वका पाँच ठूला कम्पनी

संसारमा खानीबाट सुन निकाल्ने धेरै कम्पनी रहेका छन् । यीमध्ये पाँच वटा ठूला कम्पनी यी हुन् ।

ब्यारिक गोल्ड कर्पोरेसन: यो कम्पनी संसारको सबैभन्दा बढी सुन निकाल्ने कम्पनी मानिएको छ । यस कम्पनीले २६ वटा सुन खानीको सञ्चालन गर्दै आएको छ ।

न्यूमाउन्ट माइनिङ कर्पोरेशन: यस कम्पनी विश्वको ८ देशमा खानी सञ्चालन गर्दै आएको छ । यसले उत्तरी अमेरिका, दक्षिण अमेरिका, अस्ट्रेलिया, एसिया र अफ्रिका गरी ५ महादेशमा काम गर्दै आएको छ ।

एङ्ग्लो गोल्ड अशान्ति: यो साउथ अफ्रिकामा रहेको कम्पनी हो । यस कम्पनीले ४ महादेशमा २१ सुनको खानी सञ्चालन गर्दै आएको छ । अमेरिका, तन्जानिया, दक्षिण अफ्रिका, नामिबिया, माली, गिनी, घाना, ब्राजिल, अस्ट्रेलिया र अर्जेन्टिना गरी १० देशमा यसका शाखा रहेका छन् ।

गोल्ड फिल्डस् लिमिटेड: यस कम्पनीले दक्षिण अफ्रिका, घाना, अस्ट्रेलिया र पेरुमा सुनको भण्डारण गर्दै आएको छ । यस कम्पनीको गोल्ड फिल्ड दक्षिण अफ्रिकामा रहेको छ ।

यमन गोल्ड: यो कम्पनी क्यानडामा रहेको छ जसले ब्राजिल, अर्जेन्टिना, चिली र कोलम्बियामा सुन उत्पादन, विकास र खोजतलासको काम गरिरहेको छ । (समाचार एजेन्सीहरूको सहयोग)

फेसबुकबाट तपाईको प्रतिक्रिया