डिम्याट खाता खोल्नेको संख्या ३६ प्रतिशतले बढ्यो


आर्थिकन्यूज

काठमाडौं, पुस २८ । हितग्राही खाता (डिम्याट) खोल्ने संख्या ३६.१३ प्रतिशतले बढेको छ । धितोपत्र अभौतिकीकरण गरी कारोबार गर्नका लागि आर्थिक वर्ष २०७२/७३ मा ३ लाख ५१ हजार ४ सय २५ वटा हितग्राही खाता खोलिएका थिए भने सो संख्या आर्थिक वर्ष २०७३/७४ मा ४ लाख ७८ हजार ३ सय ८५ वटा हितग्राही खाता खोलिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।

कम्पनीको शुक्रबार सम्पन्न सातौं वार्षिक साधारणसभाले धितोपत्र केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ अनुसार धितोपत्रको अभौतिकीकरणका लागि दर्ता गरेका कम्पनीहरुको संख्या आर्थिक वर्ष २०७२/७३ मा ९२ वटा र आर्थिक वर्ष २०७२/७३ मा २३ वटा गरी समीक्षा अवधिसम्म कुल १८७ पुगेको जनाइएको छ ।

त्यस्तै समीक्षा अवधिसम्म कुल निक्षेप सदस्यको संख्या ६५ पुगेको छ । आर्थिक वर्ष २०७२/७३ मा १३ वटा कम्पनीलाई निक्षेप सदस्यता प्रदान गरिएको थियो भने आर्थिक वर्ष २०७३/७४ मा थप ४ वटा कम्पनीलाई निक्षेप सदस्यता प्रदान गरिएको छ । निक्षेप सदस्यको सञ्जाल ७३ वटा जिल्लामा विस्तार गरी केन्द्रीय निक्षेप सेवा प्रदान गरिँदै आएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा ९० करोड ७७ लाख ६६ हजार २ सय ७३ कित्ता धितोपत्र अभौतिकीकरण भएका थिए भने आर्थिक वर्ष २०७३/७४ मा कुल १ अर्ब ५ करोड ९४ लाख ६३ हजार २ सय ९९ कित्ता धितोपत्र अभौतिकीरण भएका छन् । यो संख्या गत आर्थिक वर्षको तुलनामा १६.७१ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७२/७३ मा ११ करोड ८९ लाख ५९ हजार ३९ रुपैयाँ आम्दानी गरेकोमा आर्थिक वर्ष २०७३/७४ मा १५ करोड १८ लाख ४२ हजार ६ सय ६२ रुपैयाँ आम्दानी गर्न सफल भएको छ । यस आर्थिक वर्षको आम्दानी गत आर्थिक वर्षको तुलनामा २७.६४ प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी खर्चतर्फ आर्थिक वर्ष २०७२/७३ मा ६ करोड ४९ लाख ७५ हजार २ सय ७५ रुपैयाँ खर्च भएकोमा यस आर्थिक वर्ष २०७३/७४ मा ७ करोड ३९ लाख ६५ हजार ८ सय ८९ रुपैयाँ खर्च भएको छ । यस आर्थिक वर्षको खर्च गत आव २०७२/७३ भन्दा १३.८४ प्रतिशतले वृद्धि भएको जनाइएकोछ ।

आर्थिक वर्ष २०७२/७३ सम्म ३ करोड १८ लाख ८२ हजार ८ सय ८४ रुपैयाँ सञ्चित नोक्सान रहेकोमा आर्थिक वर्ष २०७३/७४ मा सञ्चित मुनाफा आर्जन गर्न सफल भई २ करोड २१ लाख ९० हजार २ सय १९ रुपैयाँ कम्पनीको जगेडा कोषमा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया