अब विश्वसँग जोडिन भारत र चीन दुबैतिरबाट सम्भव


आर्थिकन्यूज

काठमाडौं, पुस २८ । एकलौटी रुपमा नेपालमा इन्टरनेट ब्यान्डवीथ दिँदै आएको भारतीय एकाधिकार शुक्रबारबाट सकिएको छ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर शाहीले चिनिया टेलिकमबाट नेपाल आएको ब्यान्डवीथको उद्घाटन गर्दै उक्त एकाधिकार तोडिएको हो ।

नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीचको क्रसबोर्डर अप्टिकल फाइबर लिंक सञ्चालनमा आएको हो । उक्त फाइबर लिंक आएसँगै अब विश्वसँग जोडिन नेपालको सूचना महामार्ग भारत र चीन दुबैतिरबाट सम्भव भएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले नेपालको लागि यो कार्य एक कोशेढुंगा साबित भएको बताए । उनले नेपाल र चीनबीच लामो समयदेखि व्यापार तथा लगानी हुँदै कुरा स्मरण गर्दै उनले पछिल्लो समय कम्पनी तथा नागरिकहरुबीच नै चीनसँग सम्बन्ध बढ्दै जानु खुसीको कुरा हो भने ।

सोही कार्यक्रममा बोल्दै नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले सूचना प्रविधिको क्षेत्रलाई व्यापक बनाउनको लागि यो कार्यको शुरुवात भएकोमा खुसी व्यक्त गरे । इन्टरनेटलाई भरपर्दो बनाउन यो सम्झौता फलदायी भएको उनको भनाई छ ।

त्यस्तै, चिनिया टेलिकमको तर्फबाट वाङ योङलिनले कडा परिश्रमले यो कार्य सम्भव भएको कुरा स्मरण गरे । यसले नेपालमा हुने इन्टरनेट ट्राफिक व्यवस्थापनलाई सघाउ पुग्ने बताए ।

टेलिकमले चीनियाँ स्थलमार्गबाट रसुवागढीहुँदै जोडिएको अप्टिकल फाइबर मार्गबाट अवदेखि इन्टरनेट कनेक्सन ल्याउने छ । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच स्थलमार्ग हुँदै आइपी सेवा उपलब्ध गराउने सम्बन्धमा २०७३ मंसिर २१ मा व्यावसायिक सम्झौता भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया