शेयर बजारमा चलखेल गर्दाको दुष्परिणाम (भाग–२)


सन्दिल श्रेष्ठ

काठमाडौं, पुस २८ । केतन पारेख एक चार्टर्ड एकाउनटेन्ट थिए, परम्परागत पारिवारिक स्टक ब्रोकर चलाउने गर्थे । उनले कुनै समय भारतीय स्टक मार्केटको अमिताभ बच्चनको नामले चिनिने हर्षत मेहताको फर्ममा प्रशिक्षार्थीको रुपमा काम गर्ने गर्थे । केतन पारिख पम्प एन्ड डम्प तथा अन्य केही टेक्निकलको माध्यमले आफ्नो स्क्याम चलाउने गर्थे ।

पम्प एन्ड डम्प प्रक्रियामा ठूला लगानीकर्ताले पहिले धेरै मात्रामा शेयर खरिद गर्ने गर्छन् । त्यसपछि झुटो समाचार आकर्षक तरिकाबाट सम्प्रेषन तथा गलत कुरा फिँजाएर साना लगानीकर्तालाई उक्त कम्पनीप्रति आकर्षित गर्ने कोसिस गर्थे ।

अधिकांश साना लगानीकर्ता गलत समाचारको जालमा फसेर शेयरलाई खरिद गर्ने गर्दछन् । लगानीकर्ताको चापले कम्पनी शेयर माग बढ्न थाल्छ भने मूल्य पनि आकासिने गर्छ । त्यस्ता कम्पनी वृद्धि हँुदै गरेको माग तथा आकासिएको मूल्यले अझ नयाँ लगानीकर्तालाई त्यस्ता मानिसलाई लोभ्याउने काम गर्छ । यसले गर्दा कम्पनी मूल्य उचाईमा पुग्ने गर्दछ अर्थात् पम्प हुने गर्दछ ।

पहिले किनेका ठूला लगानीकर्ता आफ्नो शेयर बिक्री गर्ने अर्थात् डम्प गरेर ठूलो रकम कमाउने गर्छ । जब त्यस्ता मानिस आफ्नो शेयर डम्प गरेपश्चात भने कुनै किसिम प्रचार गर्न छाड्ने गर्छ । त्यसपछि भने कम्पनी मूल्य ओभर प्राइस भएर र गतल सूचनाको कारणले घट्ने गर्छ । साना तथा नयाँ लगानीकर्ता जसले त्यस्ता कम्पनी शेयर किनेको छ, ठूलो मात्रामा नोक्सानी ब्योहोर्नु पर्ने हुन्थ्यो ।

केटन पारिख निश्चत कम्पनीको केही प्रोमोटर शेयर खरिद गर्ने गर्थे भने त्यसपछि चलखेल गर्ने गर्थे । सामान्यतया बजारमा दुई प्रकारका लगानीकर्ता हुने गर्दछन् । एक खुद्रा अर्को संस्थागत । खुद्रा लगानीकर्ता अर्थात व्यक्तिगत लगानीकर्ता आफ्नो लागि शेयर किने गर्छ भने संस्थागतजस्तै सामूहिक लगानीकोष, बीमा कम्पनी तथा हेज फन्डको लागि लगानी गर्छ । हर्षत मेहताको स्क्याममा रिटेल लगानीकर्तालाई आकर्षित गर्ने कोसिस गर्थे भने केतन पारिख संस्थागत लगानीकर्तालाई आकर्षित गर्ने कोसिस गर्थेे ।

केतन पारिख एउटा संस्थागत ब्रोकर भएको हुनाले संस्थागत लगानीकर्तालाई कसरी आकर्षित गर्न सकिन्छ भन्ने विषयमा राम्रो जानकार थिए । तिनै संस्थागत लगानीकर्तालाई अलग–अलग तरिका प्रयोग गरेर स्टकको म्यानुपुलेसन गर्न थाले ।

प्रायः संस्थागत लगानीकर्ता तरलतालाई बढी प्राथमिकतामा राख्ने गर्छन् । यसको कारणले पनि केतन पारेख सर्कुलर ट्रेडिङ गर्न थाले । यही सर्कुलर ट्रेडिङ तरिका प्रयोग गरेर स्टकको मूल्य तथा शेयर कारोबार संख्या कृत्रिम तरिकाले बढाउने गर्थे । नयाँ लगानीकर्ता सिर्जना गरेपछि सर्कुलर ट्रेडिङमा पहिले नै सहमति गरी निश्चत ब्रोकरहरूले आफू–आफूबीच रेट बढार कारोबार गर्ने गर्थे । यस प्रक्रियामा पहिलो अपरेटरले शेयर बेच्ने गर्छ , दोस्रोले तेस्रोलाई त्यही शेयर बच्दै जान्छ भने पुनः तेस्रोले पहिलो अपरेटरलाई त्यही शेयर सर्कल बिक्री गर्ने गर्छ ।

यस सर्कल कारोबारले शेयर भोलुम तथा मूल्य बढ्ने गर्दछ । सर्कुलर ट्रेडिङमा सबैभन्दा पहिले अपरेटर अर्थात् ब्रोकर कुन कम्पनी, कति मूल्यमा र कहिले कारोबार गर्ने भन्ने कुराको तय गर्ने गर्छ । त्यसपछि अपरेटर अर्थात् ब्रोकर एउटै समय  एउटै मूल्य, कम्पनीको अडर दिने गर्छ यसको अर्थात् एउटै म्याचिङ अर्डर दिने गर्छ ।

यसले कम्पनी शेयर तिनै ब्रोकरसँग हुने गर्छ भने शेयर कारोबार संख्या बढ्ने गर्छ । केतन पारेख शेयरको मूल्य बढाउनेको लागि आफ्नै कम्पनीबीच कारोबार गराउने गराउर्थे । उनले १० कम्पनी स्टकमा चलखेल गर्दै थिए जसको कारणे ती कम्पनीलाई केतन स्टक भन्न थालिएको थियो । ती कम्पनीको बढी कारोबार हुने भएकाले बजारमा बढी कारोबार हुने कम्पनी त अत्याधिक तरल स्टकको रूपमा देखिन्थ्यो । यसले गर्दा लगानीकर्ता ती कम्पनीमा आकर्षित भएको जस्तो देखिन्थ्यो । आफ्नै ठूलो रकम लगानी गरेर मूल्य पनि बढाई रहेको नयाँ लगानीकर्ता पनि ती कम्पनी प्रवेश गर्ने गर्थे । केतन पारेखको राम्रो समन्ध भएका संस्थागत लगानीकर्ता पनि केतन स्टकमा लगानी गर्न थालेका थिए । संस्थागत लगानीकर्ताको प्रवेशले कम्पनी मूल्य तथा कारोबार संख्या अझ बढेर जान्थ्यो र साना लगानीकर्ता पनि प्रवेश गर्थे ।

सन् १९९७ देखि २००१२ को समय ‘डटकम बुम’ चलिरहेको थियो जसमा लगानीकर्ता पनि टेक्नोलोजी तथा टेलिकम सेवा प्रदायक कम्पनी शेयर तीव्र गरी बढी रहेको तथा आकर्षण पनि बढ्दै गएको थियो । केतन पारखले टेलिकम सेवा दिने कम्पनी र मिडिया कम्पनीको शेयरमा चलखेल गर्न शुरु गरे । यस कुराको चाल कसैले पनि पाएनन् । उनको टाईमिङ एक दम सही देखिन्थ्यो । बाहिरबाट हेर्दा ती कम्पनीको मूल्य राम्रो भविष्य, बलियो आधारभूत पक्ष तथा डटकम बुमको कारणले बढाएको जस्तो देखिन्थ्यो ।

केतनले चलखेल गरेको कम्पनी सञ्चारमाध्यम प्रचार गर्ने गर्थे तथा सधैं लगानीकर्ताको नजरमा रहिरह्योस् र मूल्य बढिरहोस् भन्ने उनको इच्छा थियो । । उनले पेन्टाफोर सफ्ट कम्पनी स्टक शेयर मूल्य प्रतिकित्ता १ सय ७५ रुपैयाँ २ हजार ७ सय, ग्लोबल टेलिसिस्टम कम्पनीको शेयर मूल्य प्रतिकित्ता ८५ रुपैयाँबाट ३ हजार १ सय, एचएफसीएल कम्पनीको ४२ रुपैयाँबाट ३ हजार १ सय रुपैयाँ तथा जी कम्पनी शेयर मूल्य प्रतिकित्ता ७ सय ५० रुपैयाँबाट ११ हजार रुपैयाँसम्म तथा अन्य कम्पनीलाई मूल्य पनि उचाईमा पुर्याए । ती कम्पनीको मूल्य उचाईमा पुगेपछि बेच्ने अर्थात डम्प गर्ने गर्थे । उनले केही निश्चत कम्पनी मात्र फोकस गरे र त्यस्ता कम्पनीमा आफ्नो राम्रो स्टेक बनाउन सफल भए ।

यस स्क्याम चलाउनको लागि चाहिने रकम कम्पनीको प्रमोटर र बैंकबाट जोहो गरेका थिए । कम्पनीको प्रमोटरलाई आफ्नो शेयर बिक्री गर्नको लागि शेयरको मूल्य उच्च भएको हेर्न चाहन्थे । ताकी राम्रो मुनाफा कमाउन सकियोस् । केही कम्पनीको प्रमोटर शेयरलाई धितोमा राखेर कर्जा लिने गर्थे र जब शेयरको मूल्य उच्च तहमा हुँदा धेरै कर्जा पाउने गथ्र्याे ।

यस कारणले कम्पनीका प्रोमोटरहरू केतन पारेखलाई मोटो रकम दिएर स्टक म्यनुपुलेसन गर्न लगाउथे । बैंकको हकमा केतन पारेखलाई ग्लोबल ट्रस्ट बैंक र माधवपुरा मर्कन्टाइल को–अपरेटिभ बैंक दुईबाट फन्ड जम्मा हुन्थ्यो । जब शेयरको मूल्यवृद्धि हुन्थ्यो उनीहरू बैंकमा शेयर धितो राखेर कर्जा लिन्थ्यो ।

बैंकबाट आएको पैसा फेरि शेयर म्यानुपुलेसन गर्न प्रयोग गर्ने गर्थे । उनले योजना बमोजिम ग्लोबल ट्रस्ट बैंकको राम्रो स्टेक शेयर खरिद गरेका थिए । गुजरातस्थित माधवपुरा मर्कन्टाईल सहकारी बैंकको यस स्क्याममा ठूूलो भूमिका रहेको थियो । उक्त बैंकका केही अधिकृतको सहयोगले केतनले ठूलो कर्जा पाएका थिए । त्यसताका रिजर्व बैंक अफ इन्डियाको नियमअनुसार कुनै पनि ब्रोकरलाई १५ करोडभन्दा ठूलो कर्जा प्रवाह गर्न मिल्दैनथ्यो । तर, केतनले ८ सय करोड रुपैयाँभन्दा बढी ऋण लिएका थिए । माधवपुरा मर्कन्टाईल सहकारी बैंकले कर्जा प्रवाहमा रिजर्व बैंक अफ इन्डियाको नियम उल्लंघन त गर्यो नै यसको अलवा बिना धितो कर्जा प्रवाह गरेका थिए ।

हेर्षत महेताले फन्ड जोहो गर्न ‘रेडी फर्वाड डिल’को गलत उपयोग गरेजस्तै केतन पारेखले ‘पेमेन्ट अर्डर’को गलत तरिकाले प्रयोग गरेका थिए । जसको लागि माधवपुरा मर्कन्टाईल सहकारी बैंकको सहयोग लिएका थिए । पेमेन्ट अर्डर अर्थात् डिमान्ड ड्राफ्ट एक वित्तीय प्रिपेड औजार हो । जसमा पे अर्डर लिनेभन्दा अगाडि पे इस्यु गर्ने बैंकलाई केही रकम जम्मा गर्नुपर्ने हुन्छ । माधवपुरा मर्कन्टाईल सहकारी बैंकले केतन पारेखको कम्पनीलाई पे इस्यु गर्ने गर्दथ्यो ।

केतन पारेखका कम्पनीको बैंक अफ इन्डियाको स्टक एक्स्चेज शाखामा चल्ती खाता रहेको थियो । बैंक अफ इन्डियाको स्टक एक्चेज शाखा निकै ठूलो हुनको साथै बढी कारोबार पनि हुने गर्दथ्यो । छिटो पेमेन्टको लागि केतन पारिख एमएमसीबीबाट पे अर्डरबाट आएको रकमलाई बैंक अफ इन्डियाको स्टक एक्चेजलाई दिएर लिने गर्थे ।

त्यसबेला बैंक अफ इण्डिया पे अर्डरमा १८ दशमलव ५ प्रतिशतको ब्याज दर लिने गर्थे । सन् २००१ मार्च केतन परिखाको नाममा एमएमसीबिले १३७ करोडको पे आर्डर इस्सु गरेका थिए भने उक्त पेमेन्ट केतन परिखको कम्पनीले बैंक अफ इण्डियाको स्टक शाखालाई दिए । बैंक अफ इण्डियाले पनि राफसाफको लागि पठायो । त्यसबेला सामान्यतया तीन दिनभित्र किलेरिङ हाउसबाट पे अर्डर फिर्ता नआएको अवस्थामा राफसाफ भएको मानिन्थ्यो ।

केतन पारेकको हकमा पे अर्डर पठाएको ११/१२ दिनपछि रिजर्व बैंक अफ इन्डियाले बैंक अफ इन्डियालाई फिर्ता पठायो । त्यसबेलासम्म बैंक अफ इण्डियाले केतन पारेखको कम्पनीलाई उक्त पैसा ट्रान्सफर गरिसकेको थियो । रिजर्व बैंक अफ इन्डियाको यस्तो खालको व्यवहार देखाउला भनेर कसैले पनि सोचेको थिएनन् । त्यसबेला ठूला बैंकहरु पनि अचम्भित भएको थिए ।

उक्त पेमेन्ट अर्डर वाउन्स भएको थियो किनकी एमएमसीबीले किलरिङमा सहभागी थिएन । बैंकसँंग चाहिने रकम पनि पर्याप्त थिएन । त्यसपछि एमएमसीवीलाई रिजर्व बैंक इन्डियाले टाट पल्टेको घोषणा गर्यो भने बैंकको अफ इन्डियाले १३७ करोड रुपैयाँ नोक्सानी भोग्नु परेको थियो ।

त्यसपछि बैंक अफ इन्डियाले केतन पारेखालाई पैसा फिर्ता गर्न दबाब दियो र केतनले केबल ७ करोड रुपैयाँ मात्र फिर्ता दिएर बाँकी १३० करोड फिर्ता गर्न अस्वीकार गरे । त्यसपछि बैंक अफ इन्डिया १३० करोड रुपैयाँ फिर्ता गर्न भन्दै मुद्दा दर्ता गर्यो ।

सीवीआईले केतन पारेखलाई पक्राउ गरेपछि उनको स्क्यामका बारेमा पर्दाफास भयो । हर्षत मेहेताको स्क्यामलाई एक्पोज गर्ने सूचिता दलालले केतन पारेखको स्क्याम सार्वजनिक गर्ने काममा महत्वपूर्ण भूमिका खेलेका थिए । एमएमसीबीको कर्तुतको कारणले बैंकका निक्षेपकर्तालाई ठूला नोक्सानीको सामना गर्नुपरेको थियो । रिजर्व बैंकले एमएमसीबीलाई टाट पल्टेको घोषणा गरेको कारणले निक्षेपकर्ताको रकम बैंकले फिर्ता गरेन ।

सन् २०१२ मा केन्द्रीय बैंकले बैकको लाइसेन्स खारेज गरेको थियो । केतन पारेखले स्टक म्यानुपुलेसनको लागि २० देखि २५ फरक कम्पनीको नेटवर्क बनाएका थिए । बैंक तथा कम्पनी प्रमोटरबाट प्राप्त भएको रकम आफ्नो एक कम्पनीमा पठाउने गर्थे भने पछि नेटवर्कमध्येको दोस्रो कम्पनीमा ट्रान्सफर गर्ने गर्थे । बैंकबाट स्टक मार्केटमा प्रयोग गर्ने प्राप्त भएको पैसा पनि यिनै नेटवर्क कम्पनी लगातार ट्रान्सफर गर्ने गर्थे ।

उनको खराब समयको शुरुवात डटकम बबल ब्रस्ट हुनुसँंगै भएको थियो । त्यस समयमा टेक्नोलोजी कम्पनीको शेयर लगातार गिरावट देखिएको थियो । सन् २००१ मार्चदेखि केही अन्य ठूला स्टक ब्रोकर, रिटेल लगानीकर्ता तथा संस्थागत लगानीकर्ता पनि ओभरभ्यालु भएको केतन स्टक सर्ट सेल गर्न शुरु गरेका थिए । जसको कारणले पनि भारी गिरावट देखिएको थियो । यस कारणले केतन पारेखले होल्ड गरेका ठूला स्टक मूल्य अझ घट्यो । यति हँुदाहँुदै पनि केतन पारेखको ओभर भ्यालु भएका स्टक बचाउन लागि परेको थियो । तर, धेरै बेरसम्म घटिरहेको मार्केटको सामना गर्न सकेन । तीव्र गतिले घटिरहेको शेयरको कारणले उनलाई फन्ड जोहो गर्न गाह्रो हुन थालेको थियो । अन्तिम समयसम्म पनि केतन आफ्नो पूरा शक्ति लगाएर मार्केटबाट केही फन्डको जोहो गरेर लडिरहे तर सफल हुन सकेनन् । अन्ततः उनको पे अर्डरको केस सार्वजनिक भयो ।

केतन पारेखले म्यानुपुलेसन गरेका कारण केही समयमै उचाईमा पुगेको स्टक पनि तीव्र गतिले घटेर पुरानै तह आउन थाल्यो । उनको म्यानुपुलेसन गरेको ग्लोबल टेलिसिस्टम कम्पनीको स्टक शेयर मूल्य प्रतिकित्ता ३१०० रुपैयाँबाट १२० रुपैयाँ, एचएफसीलएल २३०० रुपैयाँबाट ९० रुपैयाँ तथा अन्य होल्डिङ कम्पनीको स्टक पनि त्यसै गरी घट्यो ।

नयाँ लगानीकर्ता जसले केतन स्टकमा लगानी गरेका थिए । निकै नराम्री फसेका थिए । यस स्क्यामले एमएमसीबी तथा जीटीबीलाई ठूलो नोक्सान भयो । अन्ततः केतन परेखलाई सन् २०१७ सम्म कारोबार गर्न प्रतिबन्ध लग्यो । यद्यपि, सेक्युरिटी एन्ड एक्चेन्ज बोर्ड अफ इन्डियाको अनुसन्धानमा अनुसार केही कम्पनीको माध्यमबाट केतन स्टक मार्केट सक्रिय छन् । उनको कारणले कलकत्ता स्टक एक्चेन्जले पेमेन्ट क्राइसिसको साथै ९ करोड रुपैयाँ बराबरको नोक्सानी ब्यहोर्नु परेको थियो ।सीबीआईको मुद्दामा विशेष अदालतले मार्च २०१४ मा दुई वर्षको जेल सजाय सुनाएको थियो ।

यो पनि पढ्नुहोस्

शेयर बजारमा चलखेल गर्दा भएको दुष्परिणाम (भाग–१)

फेसबुकबाट तपाईको प्रतिक्रिया