बैंकको व्याजदर वृद्धिप्रति चेम्बरको आपत्ति


आर्थिकन्यूज

काठमाडौं, पुस २८ । बैंकहरुले बढाएको व्याजदर प्रति नेपाल चेम्बर अफ कमर्शले आपत्ति जनाएको छ । लगानी योग्य पूँजीको अभावको बहानामा बैंकहरुले बेलाबेलामा व्याजदर बढाउने गरेको भन्दै चेम्बरले आपत्ति जनाएको हो ।

बिहीबार चेम्बर दिवश एवं नेपाल चेम्बर अफ कमर्सको ६७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले बैंकिङ क्षेत्रमा विगतका वर्षहरुमा जस्तै लगानी गर्न पूँजीको अभाव पुनरावृति भएको भन्दै त्यसतर्फ सरोकारवाला निकायको समस्या समाधान गर्नु पर्ने बताए । उनले तरलता संकट भएको भन्दै व्याजदर वृद्धि गरिएको प्रति आपत्ति समेत जनाएका ।

अध्यक्ष श्रेष्ठले निजी क्षेत्रप्रतिको सकारात्मक धारणा निर्माणका लागि अझै पनि पहल हुन नसकेको गुनासो समेत गरे । उनले कालोबजारी ऐन २०३२ लाई अन्य ऐनजस्तै खुला अर्थतन्त्रको परिवेश र आवश्यकताअनुसार परिमार्जन गर्नुपर्ने बताए । ‘व्यापारीलाई पहिला थुन्ने अनि सुन्ने काम भएको छ,’ उनले भने, ‘खुला अर्थतन्त्रको परिवेश तथा आवश्यकताअनुरूप कालोबजारी ऐनलाई परिमार्जन गर्नुपर्छ ।’ निजी क्षेत्रको सशक्तिकरणबाट मात्र राष्ट्रको समग्र विकास सम्भव हुने उनले बताए । निजी क्षेत्रको संवद्र्धन, संरक्षण गर्दै सरकार र निजी क्षेत्रबीच सेतुका रूपमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको चेम्बरको दाबी छ ।

कार्यक्रमका प्रमुख अतिथी उपराष्ट्रपति नन्दबहादुर पुनले आफूले तिरेको कर आफू र आफ्नै राष्ट्रको लागि भएको भन्दै करदाता सबैले गर्भका साथ कर तिर्नु पर्ने बताए । ‘हामीले तिरेको कर हाम्रै लागि हो भन्ने साच्नु पर्छ’ समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले भने– ‘कर तिर्नुलाई गर्भ महशुस गर्नु पर्ने चेतना नभए सम्म मुलुकको आर्थिक समृद्धि हुँदैन ।’ उनले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १८ प्रतिशत व्यापारघाटा भएको भन्दै व्यापारघाटा कम गर्नका लागि वस्तु उतपादन गरी निर्यातमा जोड दिनु पर्ने बताए ।

व्यापार घाटामो मात्रा चुलिदै जानु तथा रेमिट्यान्समा अर्थतन्त्र अडिग रहनु मुलुकको समृद्धिका लागि सकरात्मक सन्देश नभएको उपराष्ट्रपति पुनको भनाई थियो । राष्ट्रको समग्र विकासका लागि नीजि क्षेत्रको भूमिका महत्वपूर्ण भएको भन्दै उद्योग धन्दामा थप लगानी गर्न नीजि क्षेत्रलाई आग्रह समेत गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया