कर्मचारी सञ्चय कोषको जलविद्युतमा ३४ अर्ब लगानी, थप ७० अर्ब लगानी गर्दै


आर्थिकन्यूज

काठमाडौं, पुस २७ । कर्मचारी सञ्चय कोषले एकपछि अर्को गर्दै नेपालको जलविद्युत् क्षेत्रमा आक्रामक लगानी विस्तार गरेको छ । कोषमा रकमसमेत वृद्धि हुँदै गएको र लगानीका स्रोतको खोजी र विविधकरणमा ध्यान दिइएका कारण आकर्षक क्षेत्रको रुपमा जलविद्युत् कोषको आँखामा परेको हो ।

कोषले हालसम्म ऊर्जा क्षेत्रमा ३४ अर्ब रुपियाँ लगानी गरेको जनाएको छ । पछिल्लोपटक कोषका प्रमुख प्रशासकको रुपमा नियुक्त दीपक रौनियार यसअघि जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत चार वर्ष काम गरेको अनुभव छ ।

उक्त कम्पनीमा बसेर नेपालको जलविद्युत् क्षेत्रको सांँगो पांँगो ज्ञान समेत पाउन सफल रौनियारले अझै आगामी दिनमा ऊर्जा क्षेत्रमा थप लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

स्वदेशी पुँजी परिचालन गरेर मात्रै देशको ऊर्जा क्षेत्रमा उल्लेख्य प्रगति हुन्छ भन्ने मान्यता राख्ने रौनियारले कोषले लगानी गरेका धेरै जसो परियोजना निर्माणको क्रममा रहेको र केही आयोजना निर्माण सम्पन्न हुने तरखरमा पुगेको समेत जानकारी दिए ।

कोषले ऋण र सेयर गरी उल्लेख्य मात्रामा लगानी गरिसकेको र आगामी दिनमा थप क्षेत्र र अवसरहरुको खोजीमा रहेको जनाएको छ । बैंक तथा वित्तीय क्षेत्रले जलविद्युत्मा लगानीको हल्ला चलाए पनि उल्लेख्य मात्रामा भने लगानी हुन सकेको छैन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई पाँच प्रतिशत रकम जलविद्युत् क्षेत्रमा लगानी गर्न बाध्यकारी बनाए पनि लगानीको मात्रामा भने बढोत्तरी नभएको बेला कोषले भने आक्रामक रुपमा लगानी विस्तार गरेको हो । कोषले ८ जलविद्युत् आयोजनामा रु २८ अर्ब १५ करोड रकम ऋण लगानी गरेको छ । यस्तै सेयरका रुपमा ६ अबै रकम लगानी गरेको छ ।

कोषले माथिल्लो तामाकोशी, सान्जेन, रसुवागढी, भोटेकोशी जस्ता आयोजनामा लगानी गरेको छ । उसले जलविद्युत् लगानी तथा विकास कम्पनी, विद्युत् उत्पादन कम्पनी र बेतन कर्णाली सञ्चयकर्ता हाइड्रो पावर कम्पनीमा शेयर लगानी गरेको छ ।

त्यसमध्ये माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । सो आयोजनाको ९४ प्रतिशत काम सम्पन्न भएको छ । आगामी मंसिरमा विद्युत् उत्पादन गर्ने तयारी थालेको आयोजनामा कोषको लगानी रहेको छ ।

यस्तै चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनीले निर्माण गरिरहेका साञ्जेन, रसुवागढी र भोटेकोशीमा समेत कोषको लगानी छ । कोषमा हाल रु २ खर्ब ५३ अर्ब रकम रहेको छ । कोषले आफ्नै कम्पनीमार्फत अगाडि बढाएको बेतन कर्णाली जलविद्युत् आयोजनामा ७० अर्ब लगानी गर्ने जनाएको छ । सो आयोजनाको हाल सर्वेक्षणको काम भइरहेको छ । आयोजनामा कर्मचारीको शेयर रहनेछ । यस्तै स्थानीयबासी तथा आम नेपालीलाई समेत आयोजनाका लगानीका लागि प्रेरित गरिनेछ ।

कोषले आगामी पाँच वर्षमा सात खर्ब कुल रकम पु¥याउने र सोही रकम परिचालन गरेर जलविद्युत् पूर्वाधार तथा वायु सेवामा लगानी गर्ने जनाएको छ । त्यसो त नेपाल वायु सेवा निगमलाई दुई वटा जहाज किन्न समेत कोषले २० अर्ब रुपैयाँ ऋण दिएको छ । यसअघि पनि कोषले दिएको ऋणमा नै निगमले दुई नयाँ जहाज ल्याएको थियो । ती जहाज हाल सञ्चालनमा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया