कमल थापा भन्छन्ः वाम गठबन्धनकै नेतृत्वमा सरकार बन्नुपर्छ


आर्थिकन्यूज

काठमाडौं, पुस २६ । उपप्रधान एवम् उर्जामन्त्री कमल थापाले मुलुक अब नयाँ सरकार गठनको ट्रयाकमा हिँडेकोले अब वाम गठबन्धनको नेतृत्वमा सरकार बनाउनुपर्ने स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उपप्रधानमन्त्री थापाले चुनाव सम्पन्न हुनेवित्तिकै सरकार गठन हुनुपर्ने बेलामा प्रमुख दलका शीर्ष नेताहरुले संविधान बनाउँदा गम्भिर भूल गरेकोले अहिले संवैधानिक जटिलताहरु उत्पन्न भएको बताएका हुन् ।

उनले भने,‘अहिले देखिएको संवैधानिक जटिलताहरुमा हामीले संविधान जारी गर्दा पर्याप्त ध्यान दिईएन, खासगर चुनाव सम्पन्न भएपछि नयाँ सरकार गठन हुनुपर्ने हो, तर ठूला दलहरुले सिर्जना गरेको जटिलताका कारण नयाँ सरकार गठनमा ढिलाई भयो, अब चाहीँ सरकार निर्माणको ट्रयाकमा हिँडेको छ, राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि संघीय संसदले पूर्णता पाउँछ, संसदले पूर्णता पाएको एक हप्ताभित्रै नयाँ सरकार गठन हुन्छ।’

साक्षात्कारमा बोल्दै उनले सरकार गठनमा भएको ढिलाईप्रति कसैले कसैलाई दोष लगाउन आवश्यक नरहेको जिकिर गरे । उनले भने,‘जनताले बाम गठबन्धनलाई नयाँ सरकार गठनको लागि म्याण्डेट दिएका छन्, जनतको म्याण्डेट अनुसार वाम गठबन्धनको नेतृत्वमा सरकार बन्नुपर्छ, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ सरकार गठन गर्न असफल हुनुभयो भने जनताप्रतिको ठूलो धोका हुन्छ।’ वाम गठबन्धनले चुनावमा जानुपुर्व नै अबको सरकार स्थिर हुने भनेर आश्वासन बाँडेकोले जनताले सोही अनुसार म्याण्डेट दिएको उनको भनाई थियो ।

जनताको म्याण्डेट अनुसार वाम गठबन्धनको सरकार नबने मुलुकमा फेरि राजनीतिक अस्थिरता ल्याउने र मुलुकलाई आर्थिक समृद्धिको यात्रामा अघि बढाउन बाधा उत्पन्न हुने उल्लेख गर्दै थापाले भने,‘जनताको म्याण्डेट अनुसार नै वाम गठबन्धनको सरकार बनाउनुपर्छ, हामी यही चाहन्छौं।’

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्नको लागि गम्भिर र महत्वपूर्ण प्रयास गरेको मन्त्री थापाले बताए । उनले भने,‘गम्भिर र महत्वपूर्ण विषय भएकोले उहाँले सबैको समर्थन लिन प्रयास गर्नुभएको हो, सकेसम्म सहमति कायम गर्न खोज्नुभएको हो, खासगरी वाम गठबन्धनको सहमति लिएर प्रदेश प्रमुख नियुक्त गर्न खोज्नुभएको हो, तर उहाँहरुले खोचें थापेर यो सरकारले नियुक्त गरेको प्रदेश प्रमुखबाट सपथग्रहण गर्दैनौं भन्नुभयो, त्यो पनि अब बन्ने सरकारको नेतृत्व गर्ने व्यक्तिले, यो सरकारले तोकेको राजधानी पनि मान्दैनौं भनेर सार्वजनिक धम्की दिने काम भयो, हामी अहिलेपनि सहमतिको प्रयासमा छौं, यदि सहमतिमा आउनुभएन भने त्यो उहाँहरुको जिम्मेवारीपूर्ण कार्य होईन, म यही मञ्चबाट भन्न चाहन्छु उहाँहरु जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ, प्रधानमन्त्री त अहिलेपनि सहमतिको पक्षमा हुनुहुन्छ, प्रयास जारी छ, सहमतिको संभावना टर्यो भने अनि हामी निर्णय गर्छौं ।’

प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने काम सरकारको हो भनेर एमाले अध्यक्ष ओलीले अभिव्यक्ति दिनु निहुँ खोज्ने र अनुत्तरदायी कुरा मात्रै भएको उनको आरोप थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया