ढुक्क हुनुहोस्, जेठसम्म शेयर बजारमा अनलाइन सिस्टम लागू हुन्छ


आर्थिकन्यूज
चन्द्रसिंह साउद कार्यकारी निर्देशक, नेपाल स्टक एक्सचेन्ज (नेप्से)

विश्वका विकसित राष्ट्रले पुँजी बजारलाई आर्थिक अवस्थाको मेरुदण्ड मानेर अगाडि बढेको पाइन्छ । तर, नेपालको पुँजी बजार अझै चुस्त नीति, समयसापेक्ष विकास र प्रभावकारी नियमनको पखाईमा रहेको छ । नेपालमा शेयरमा लगानी गर्न सर्वसाधारण उत्साहित भए पनि त्यसको वातावरण बन्न अझै नसकेको आरोप लाग्ने गरेको छ । अबका दिनमा शेयर बजारको विकास कसरी हुन्छ भन्ने कुरामा लगानीकर्ता अन्योलमा छन् ।

Eco Roofing

नेपालको शेयर बजारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कस्ता गर्दै छ ? पछिल्लो समय नेप्सेमा लगातार उतारचढाव आउनुको कारण के हुन सक्छ ? यिनै विषयमा केन्द्रित भएर नेपाल स्टक एक्सचेन्जका कार्यकारी निर्देशक चन्द्रसिंह साउदसँग आर्थिकन्यूज डटकमका लागि सन्दिल श्रेष्ठले गरेको कुराकानी ।

तपाईंले केही महिनामात्रै भयो नेप्सेको नेतृत्व समाल्नु भएको, यस अवधिमा के कस्ता कार्य गर्नुभयो ?

बजारमा अनलाइनसँग सम्बन्धित धेरै टीकाटिप्पणी थिए । म नेप्सेमा आईसकेपछि अनलाइनसम्बन्धी काम कसरी अगाडि बढेको छ । भेन्डर कम्पनी र नेप्सेका बीच कस्तो करार भएको छ भन्ने कुरा अध्ययन गरेँ, त्यसबाट के देखियो भने त्यहाँ १६ वटा मोडल रहेछन् । त्यसमध्ये पाँचवटा मोडल एसआरएस भएर गएका थिए । अहिलेसम्म १५ वटा मोडलको एसआरएस गरेर सकियो । अब एउटा मोडल मात्रै बाँकी छ, जुन ब्रोकरहरूसँग सल्लाह गरेर निर्णय लिनुपर्ने हुनाले छलफलको क्रममा छौं ।

त्यस्तै म नेप्सेमा आउनुभन्दा पहिले नै व्यक्तिगत रुपमा अनुभव गरेको विकास बैंक र लघुवित्तहरूको इन्डेक्स एउटैमा गणना गरिन्थ्यो । त्यसलाई छुट्याउने काम गर्यौ र तेस्रो काम कारोबारसँग सम्बन्धित विनियमावली धेरै पुरानो भइसकेको थियो । त्यसलाई परिमार्जन गर्ने काम अहिले अन्तिम चरणमा पुगिसकेको छ । नेप्से सञ्चालक समितिले पास गरिसकेपछि नेपाल धितोपत्र बोर्डमा पठाउने तयारी गर्ने छौं ।

सँगसँगै मलाई के लाग्यो भने नेप्सेको साधनस्रोत सानो छ, कार्मचारी संख्या पनि सानै छ हामीले बजारलाई वा नेप्सेको कारोबारलाई बढाउन बजारमा भएका विज्ञहरू को–को छन् भनेर तथ्यांक संकलन गर्ने काम गर्यौं । नेप्सेले भोलिका दिनमा सँगै बसेर काम गर्नुपर्छ भन्ने निष्कर्श निकालेर तथ्यांक संकलन गर्ने काम गरेका छौं ।

अर्को काम मार्जिन लेन्डिङ सम्बन्धी धितोपत्र बोर्डको विनियावलीको अधिनमा रहेर काम गरिरहेका छौ । नयाँ कर्मचारीको नियुक्तिको लागि लोकसेवाले लिएको परीक्षाको अन्तर्वार्ता पनि सकेका छौं । यी काम भन्दा छुट्टै काममा वित्त कम्पनी र सीआईटीको इन्डेक्सलाई पनि छुट्याउने रहेको छ ।

नेप्सेले अर्को वर्षको दोस्रोे महिनासम्म अनलाइन सिस्टमलाई प्रयोगमा ल्याउने कुरा गर्नुभएको थियो । यो निर्धारित मितिमै कार्यान्वयन हुनेमा कति सम्भावना छ ?

जेठ महिनासम्ममा आउने कुरामा ढुक्क भए हुन्छ, भेण्डर कम्पनीसँग १४ महिनाको सम्झौता भएको छ । म विश्वस्त छु निर्धारित समयमा अनलाइन सिस्टम आउँछ ।

नेपालको फाइन्सियर विकासको लागि के काम भएको छ ?

नेपालको पुँजी बजारको इतिहास हेर्दा विकास नभएको चाहिँ होइन भएको छ । तर, जुन मात्रामा लगानीकर्ताले खोजेका थिए । त्यो मात्रामा चाहिँ भएको छैन, त्यसका लागि अहिले नेप्सेले विज्ञहरूको रोस्टम तयार गर्दै छ, हामीले पुँजी बजारका जानकार मात्र नभई पुँजी बजारका विज्ञलाई पनि समेटेर यसको विकासमा कसरी अगाडि बढ्ने भनेर छलफल गर्ने छौं । त्यसमा मार्केट मेकर र डिलरको विषयमा कुरा उठाउने छौं ।

यहाँले मार्केट मेकर र डिलरकै कुरा गर्दै गर्दा सीआईटीलाई मार्केट मेकरको रुपमा ल्याउने कुरा चलेको छ, यसलाई ल्याउँदा विकास सम्भव देख्नु हुन्छ ?

सीआईटीलाई मार्केट मेकरको रुपमा ल्याउनुभन्दा मार्केट डिलरको रूपमा ल्याउनुपर्छ जस्तो लाग्छ, किनकी हाम्रो देशमा सीआईटीसँग त्यति टेक्निकल एनलाइसिस गर्ने क्षमता छैन जस्तो लाग्छ , त्यसैले डिलरको रुपमा त्यसलाई विकास गर्नुपर्छ र सकेसम्म डिलरसिप पनि दिनुपर्छ । मैले व्यक्तिगत रूपमा सीआईटीलाई आश्वासनसमेत दिएको छु । सरकारले सञ्चयकोषलाई समेत दिने भनेको छ, त्यसलाई पनि हामी ल्याउन सक्छौं ।

त्यसैगरी ठूलो रकम हुने नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको कल्याणकारी कोषलाई पनि ल्याउन सकिन्छ । यी संस्थालाई ल्याएको खण्डमा त्यहाँ भएको पुँजीको परिचालन गर्न सकिन्छ । यी निकायसँग छलफल गर्ने तयारीमा रहेका छौं ।

एनआरएनलाई नेपालको पुँजी बजारमा भित्र्याउन मस्यौदा तयार भइसकेको भन्ने सुनिन्छ, के हुँदैछ?

केही समय अगाडि धितोपत्र बोर्ड र एनआरएनबीच भएको छलफलमा मोडालिटी तयार गर्ने सहमति भएको थियो । त्यसको मस्यौदा करिब अन्तिम चरणमा पुगेको भन्ने सुन्नमा आएको छ । तर, यो काम बोर्डले मात्र गरेर हँुदैन सरकारको पनि राय लिनुपर्ने देखिन्छ । लगानीको सिमा र उनीहरुले गरेको नाफा कसरी लैजाने भन्ने विषयमा छलफल गर्न जरुरी छ । तयार भएको प्लेटफर्मअनुसार हामी दोस्रो बजारमा कारोबार गराउँछौं ।

नेपालका सबै क्षेत्रको प्रतिनिधित्व गर्न ब्रोकर कम्पनीको संख्या बढाउने कुरा आएको छ, यसमा केही प्रगति भएको छ ?

यो काम नेप्से एक्लैले गर्ने होइन, यसमा सरकार, नेपाल धितोपत्र बोर्ड र नेप्से सँगै बसेर छलफल गरेर निश्कर्ष निकाल्नुपर्छ । यसको लागि शुरुमा अनलाइन सिस्टमलाई विकास गर्नुपर्छ, ब्रोकर लाइसेन्स दिँदैमा कारोबार रकम बढ्ने होइन । ब्रोकरको क्षमतामा समेत वृद्धि गर्नुपर्छ । अहिलेको अवस्थामा अनलाइन सिस्टम ल्याएर हेर्न जरुरी छ ।बंैकहरुलाई लाइसेन्स दिँदा गाउँ–गाउँको प्रतिनिधित्व हुने हुँदा अनलाइनको काम सकेपछि राष्ट्र बैंक, धितोपत्र बोर्ड र सरकारसँग छलफल गरेर अगाडि बढ्ने छौं । बजारको साइज अनुसार आवश्यकता हुन्छ भने हामी ब्रोकर कम्पनी थप्न धितोपत्र बोर्डसँग सहकार्य गछौं ।

बजारमा प्रविधिक विश्लेषक धेरै देखिइरहेका छन् । आ–आफ्नै तरिकाले विश्लेषण गरिरहेका हुन्छन् । जस्ले गर्दा लगानीकर्ता अन्योलमा पनि परेका छन्, यसलाई यहाँले कसरी लिनुभएको छ ?

बजारमा प्रविधिक विश्लेषकहरु धेरै छन् । कसलाई प्राविधिक विश्लेषक मान्ने भन्ने त्यो नै दोधार छ, त्यसकारणले लगानीकर्ताले विश्लेषकको कुरा नसुनेर आफ्नो विचारमा लगानी गर्न जरुरी छ । हल्लाको भरमा पछाडि लाग्नु हुँदैन स्वविवेक प्रयोग गरेर लगानी गर्न सुझाव दिन चाहान्छु । साथै हामीले नेप्सेमा डाटा उपलब्ध गराउन थालेका छौं । हाम्रो नेप्सेमा सूचीकृत भएका सबै कम्पनीको वित्तीय विवरण वेबसाइडमा छिट्टै उपलब्ध गराउने छौं । त्यसबाट लगानीकर्ताले विवेक प्रयोग गर्न सक्नुहुनेछ ।

नेपालमा पुँजी बजारको विषयमा अझै पनि लगानीकर्ता अन्योलमा परेको देखिन्छ , यस विषयमा नेप्सेले के गर्दै छ ?

तपाईले उठाएको विषय सहि हो । तर, पहिलेको तुलनामा अहिले पुँजी बजारमा लगानीकर्ता बढेका छन् । दोस्रो बजारमा नभए पनि प्राथमिक बजारमा लगानीकर्ता बढेका छन् । अझ बजारलाई विस्तार गर्नको लागि सञ्चारमाध्यमहरूको हात हुन्छ । पछिल्लोपटक गरिएको बैंकिङ क्षेत्रको विस्तारले पनि टेवा प्रदान गरेको छ त्यो आफ्नो–आफ्नो क्षेत्रबाट गरिएको काम हो ।

नेप्सेले चाहिँ तपाईंहरूको पनि सहयोग लिन्छ । सातै वटा प्रदेशमा गएर वित्तीय साक्षरता प्रदान गर्ने काम हामीले गर्ने योजना बनाएका छौं । दीर्घकालमा हामी स्कुल कलेजको पठ्यक्रमा समेत यसको विषय समेट्न पहल गर्ने छौं ।

अबका दिनमा शेयर बजारको विकासका लागि कस्ता चुनौती देख्नु भएको छ ?

सबैभन्दा पहिलो देशको अर्थतन्त्र नै हो । दोस्रो राजनीतिक अवस्था र तेस्रो वित्तीय अवस्थाको जानकारी दिने संस्थाको सुशासनको कुराले पनि बजारको विकासका चुनौतीका विषय रहेका छन् । सँगसगै लगानीकर्ताले कुन किसिमको लगानी गरेका छन् त्यसमा पनि ध्यान दिनु जरुरी छ ।

नेप्सेले पनि प्रविधिको विकाससँगै लगानीकर्तालाई दिनुपर्ने कम्पनीको डाटाको विषयमा पनि सुधार गर्नुपर्ने चुनौती रहेका छन् ।

अन्त्यमा लगानीकर्तालाई केही भन्न चाहानु हुन्छ ?

तपाईहरूमार्फत् सबैभन्दा पहिला लगानीकर्तालाई पुँजी बजार गहिरो अध्ययन गरेर मात्र लगानी गर्नहोस् चाहान्छु । जो लगानीकर्ताले पुँजी बजारका बारेमा जानकारी लिसक्नु भएको छ ।उहाँहरुले त आफ्नो किसिमले लगानी गर्नु हुन्छ , जो मान्छे हल्लाको भरमा र नयाँ प्रवेश गर्न चाहानु हुन्छ उहाँहरुले पहिले आईपीओमा लगानी गर्न सुझव दिन्छु , त्यसमा पनि जोखिम मोल्न चाहानु हुन्न भने म्युचुअल फन्डबाट शेयर बजारमा छिर्नुस् र लगानीकर्ताले आफ्नो क्षमताले भ्याएसम्म मात्र लगानी गर्न सुझव दिन चाहान्छु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया