एफपीओ निष्कासन गर्न लागेको बीपीसीमा १ अर्ब ४२ करोड चिनियाँ लगानी


आर्थिकन्यूज

काठमाडौं, पुस २४ । बुटवल पावर कम्पनी लिमिटेडमा १ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको चिनियाँ लगानी आउने भएको छ । एक सय मेगावाटको तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत आयोजना निर्माणका लागि उक्त रकम बराबरको चिनियाँ लगानी स्वीकृत भएको उद्योग विभागले जनाएको हो ।

नेपालको जलविद्युतमा लगानी केन्द्रित गरेको चीनले ठूला–साना गरी १ हजार २ सय २० आयोजना निमार्णमा करिब ४३ अर्ब लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ । ‘चीनबाट ठूला आयोजनाभन्दा पनि साना आयोजनामा बढी लगानी भित्रिएको छ ।’

उद्योग विभाग वैदेशिक लगानी महाशाखाका प्रमुख खगेन्द्र बहादुर बस्नेतले आर्थिकन्यूज डकमसँग भने, चिनबाट ३७ ठूला उद्योग, १०३ मझौला र १ हजार ८० वटा साना उद्योगमा ४२ अर्ब ९४ करोड रुपैयाँ बराबरको स्वीकृत भएको छ ।

उनका अनुसार चीनले विशेषगरी नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाएको र सिमेन्ट, जडिबुटी, उत्पादन, पर्यटन लगायतमा पनि लगानी गर्न खोजेको विभागले जनाएको छ ।

बुटवल पावर कम्पनी लिमिटेड (बिपीसी) ले यसअघि नै चीनका तीन प्रमुख कम्पनीहरुसँग साझेदारी गरेको छ । चीनका तीन प्रमुख हाईड्रोपावर कम्पनी सिचुवन प्रोभिन्सल इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेड, चेङ्गदु सिंचेन इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेड र छिमयूआन इन्जिनीयरिङ्ग कन्सल्टिङ्ग कम्पनी लिमिटेडले बुटवल पावर कम्पनीबीच गत मंसिरमा नै लगानीसम्बन्धी साझेदारी भएको थियो ।

बीपीसीले हाल ३७.६ मेगावाटको काबेली ए जलविद्युत आयोजना र ३० मेगावाटको न्यादी जलविद्युत आयोजना निर्माण शुरु गरेको छ । यी दुबै आयोजना सन् २०२० मा सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ । काबेली ए बनाउन करिब १० अर्ब र न्यादीमा ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ ।

बीपीसीले १२ मेगावाटको झिमरुक, ९.४ मेगावाटको आँधीखोला पावर प्लान्ट संचालन गर्दै आएको छ । त्यस्तैगरि, खुदी प्लान्ट र खिम्ती आयोजनामा पनि लगानी गरेको छ ।

बुटवल पावर कम्पनीले फरदर पब्लिक अफरिङ (एफपीओ) निष्कासनको प्रक्रिया पनि अगाडि बढाएको छ । कम्पनीलाई १०० रुपैयाँ आधार मुल्यमा ४०१ रुपैयाँ प्रिमियम रकम जोडेर प्रतिकित्ता ५०१ रुपैयाँमा एफपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति पाइसकेको छ ।

कम्पनीले ४० लाख ८१ हजार कित्ता एफपीओ बिक्री गर्नेछ । यस आधारमा यो कम्पनीको कुल २ अर्ब ४ करोड ४५ लाख ८१ हजार रुपैयाँ बराबरको एफपीओ आउनेछ ।

गत आर्थिक वर्ष २०७३/७४ मा बीपीसीले ६५ करोड नाफा गरेको छ । चालु आबको पहिलो त्रैमासमा कम्पनीले नाफा ७ करोड २२ लाख रुपैयाँ गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया