माथिल्लो तामाकोसीको लागत बढाउने षड्यन्त्र, सस्तो आयोजनालाई यसरी बनाइँदैछ महँगो


आर्थिकन्यूज

काठमाडौं, पुस १७ । निर्माण सम्पन्न हुन लागेको राष्ट्रिय गौरबको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको १५ अर्ब रुपैयाँ लागत बढाउने षड्यन्त्र भित्रभित्रै शुरु गरिएको छ ।

Eco Roofing

आयोजना समयमा सम्पन्न गर्नेभन्दा पनि लागत बढाएर केही व्यक्ति मोटाउने लक्ष्यका साथ योजनाबद्ध रुपमा संयन्त्र परिचालित भएको बताइएको छ ।

आयोजनाको लागत शुरुमा ३५ अर्ब २९ करोड रुपैयाँ तय गरिएको थियो । हाल सो लागत बढाएर ५० अर्ब पुर्याउने खेल भइरहेको छ । तर, लागत बढाउने विषयमा नेपाल विद्युत् प्राधिकरण र माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका अधिकारीले हालसम्म मुख खोलिसकेका छैनन् ।

ठेकेदार र परामर्शदाताको दबाबमा आयोजनाका केही अधिकारी लागत बढाउन लागेको बताइएको छ ।
नयाँ सुरुङ बनाउन परेको, सुरुङको डिजाइन परिवर्तन भएको तथा भूकम्पका कारण संरचनामा क्षति पुगेको जस्ता तर्क र तथ्य अगाडि सारेर लागत बढाउन लागिएको हो ।

यस्तै डलरमा भएको मूल्यवृद्धि तथा निर्माण सामग्रीमा भएको मूल्यवृद्धि जस्ता कारण पनि आयोजनाको लागत बढाउने शर्तका रुपमा आयोजनाका केही अधिकारीले अगाडि सारेका छन् ।

आयोजनाको लागत बढउने तयारी स्वरुप एक अध्ययन समिति नै बनाइएको छ । उक्त समितिको बारेमा समेत को–को सदस्य छन् र कति समयदेखि समितिले काम गरिरहेको छ भन्ने बारेमा समेत आयोजनाले गोप्य राखेको छ ।
‘सबै काम भित्रभित्रै भइरहेको छ । लागत बढाउने प्रयास स्वरुप नै यी काम भइरहेका छन् ’ आयोजनाका एक अधिकारीले भने–‘सस्तो भनिएको परियोजना अनेकन तिकड्म गरेर महंँगो बनाउन लागिएको छ ।’

आयोजना शुरु गर्दा २०६५ सालमा प्रतिमेगावाट सात करोड ७३ लाख रुपैयाँमा आयोजना सक्ने गरी डिजाइन गरिएको थियो । अब प्रस्ताव गर्न लागिएको लागतमा प्रतिमेगावाट १० करोडभन्दा बढी लाग्ने देखिएको छ ।
उक्त आयोजना निर्माणमा चार विदेशी कम्पनी सहभागी छन् । आयोजना स्वदेशी लगानीमा निर्माण भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया