शेयर बजार अब के हुन्छ, के भन्छन् शेयर जानकारहरू ?


चन्दा कार्की/इशारा कोइराला

काठमाडौं, पुस १६ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावसम्पन्न भएपछि तीन साताको अवधिमा एक दिनबाहेक सबै दिन बजार घटेको छ । यसरी बजार घट्नुमा बैंक तथा वित्तीय संस्थामा देखिएको लगानीयोग्य पुँजी (तरलता) को अभावलाई मुख्य कारण भनिए पनि बजारमा स्थिरिता नहुनु अर्थात् छोटो समयावधिमा ठूलो अंकले उतारचढाव आउनुमा बजारलाई समय सापेक्ष विकास नगर्नु रहेको सरोकारवालाहरूको भनाइ छ ।

तरलता समस्या नहटेसम्म यथावत

बैंक तथा वित्तीय संस्थामा अहिले लगानीयोग्य पुँजी (तरलता) को अभाव देखिएकाले यसको समाधान नभएसम्म तत्काल बजार सुधार हुने अवस्था नरहेको नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष सुरवीर पौड्यालको भनाइ छ । आर्थिकन्यूज डटकमसँग कुराकानी गर्दै उनले भने–‘बजारमा तरलता संकटले ब्याजदर बढ्यो र यसको असर नेपाली पुँजी बजारमा देखियो । तरलता र पुँजी बजारको सधैं, नकारात्मक सम्बन्ध हुन्छ । यसर्थ यसको समाधान नहुँदासम्म बजार बढ्ने कुनै आधार देखिँदैन ।’

अहिले सूचीकृत कम्पनीको बुक क्लोजको सिजन भएकाले पनि त्यसको प्रभाव नेप्सेमा देखिएको हो । ‘यतिबेला लगानीकर्ताले लाभांश र हकप्रद शेयर सुरक्षित गरेपछि शेयर बेच्ने गरेकाले पनि बजार घटेको हो ।’ उनले थपे–‘लगानीकर्ता आत्तिहाल्नुपर्ने अवस्था छैन ।’


नयाँ सरकारको आशा

पुँजी बजारका लगानीकर्ता अमृतराज रेग्मीले अब बन्ने सरकारको नीतिले पुँजी बजारको भविष्य तय गर्ने बताए । उनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पुँजी बजार दिन प्रतिदिन नकारात्मक हुँदै गएको भन्दै यसको मुख्य कारण नयाँ सरकार बन्न समय लाग्नु रहेको बताए । उनले नयाँ सरकारले कस्तो नीति ल्याउँछ भन्ने कुराले लगानीकर्तामा अन्योलता देखिएको जनाऐ ।

बैंक तथा वित्तीय संस्थामा तरलता अभाव हुँदा बैंकले ब्याजदर बढाएका कारण पनि लगानीकर्ता शेयर खरिदभन्दा पनि बैंकमा निक्षेप जम्मा गर्नतिर अग्रसर भएका छन् । जसको प्रभाव पनि बजारमा देखिएको उनको भनाइ छ ।

त्यस्तै अधिकांश बैंकहरुले राष्ट्र बैंकले तोकेको ८ अर्ब पुँजी पु्र्याइसकेको अवस्थामा बैंकहरुको प्रतिफल घट्ने आँकलन, बजारमा बारम्बार भ्याटको कुरा दोहोरिनुले पनि बजार नकारात्मक लगानीकर्ताको अगुवाहरूको विश्लेषण छ ।


ब्रोकेज क्षमता विस्तार, सुधारको आधार

नेपाल इन्भेस्टर फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलका अनुसार बजार अस्थिर हुनुमा ब्रोकेजको सेवा विस्तार नहुनु प्रमुख रहेको छ । आर्थिकन्यूज डटकमसँग कुरा गर्दै उनले भने–‘जबसम्म ब्रोकरहरुको क्षमता विस्तार हुँदैन । तबसम्म बजार अस्थिर नै रहन्छ ।’ बजारको विकासको लागि बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने पनि उनको भनाइ छ ।

बजारको विकासका लागि बजारलाई प्रविधिमैत्री बनाउनुपर्ने, अनलाइन ट्रेडिङ छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउनुपर्ने पनि उनको तर्क छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजीको अभाव हुँदा बजार ओरालो लागेको भए पनि पुँजी बजारमा आउने विभिन्न हल्लाले थप बजार घटाएको उनको तर्क छ । उनले पछिल्लोपटक सामाजिक सञ्जाल र मिडियामा आउने हल्लाले बजारप्रति लगानीकर्तामा भ्रम सिर्जना भएको दाबी गरे । बजारमा केही अंकको तलमाथि स्वाभाविक भएको र त्यो बजारको स्वरुप नै भए पनि लगातार ठूलो अंकले बजार घट्नुमा समग्र देशको अर्थतन्त्रका साथै लगानीकर्ताको पक्षमा नरहेको उल्लेख गरे ।


तरलता अभाव प्रमुख कारण

पुँजी बजारका सक्रिय लगानीकर्ता तथा इन्भेष्टर फोरमका सदस्य सिर्जना सुवेदीले पनि बजार घट्नुमा तरलता अभाव प्रमुख कारण रहेको बताइन । उनले बैंकका तथा वित्तीय संस्थामा लगानीयोेग्य पुँजीको अभावले शेयर बजारमा नयाँ लगानी भित्रिन नसकेको साथै पुँजी बजारमा आउने रकम पनि बैंकले निक्षेपमा उच्च ब्याजदर दिंँदा त्यसको प्रभाव परेको बताइन ।

सुवेदीले राजनीतिक अस्थिरताले पनि बजार घटाउन थप बल पुगेको बताइन । उनले नयाँ सरकार गठनसँगै सरकारले कस्तो नीति लिने हो भन्नेतर्फ लगानीकर्ताको ध्यान केन्द्रित हुँदा बजारमा सकारात्मक प्रभाव पर्न नसकेको बताइन । त्यस्तै अहिले हकप्रद तथा लाभांशका निम्ति बुक क्लोजको सिजन भएकाले पनि बजार स्वभाविक रुपमा केहि घटेको उनको तर्क छ । यद्यपि, अहिले नै लगानीकर्ता आत्तिहाल्नुपर्ने स्थिति छैन ।


‘पर्ख र हेर’ कै स्थितिमा लगानीकर्ता

पुँजी बजारका लगानीकर्ताहरू ‘पर्ख र हेर’ कै स्थितिमा रहेको शेयर बजारलाई नजिकबाट नियाल्नु भएका पूर्णमान सिंहको भनाइ छ । उनले कम्युनिष्टको सरकार आएमा नेपाली पुँजी बजार सकारात्मक हुँदैन भन्ने मनोविज्ञानका कारण बजारले गति लिन नसकेको बताए । त्यस्तै बोनस र हकप्रदका कारण बढ्दो शेयर आपूर्ति र नयाँ शेयर आईपीओ एफपीओतिर रकम जोहो गर्दा पनि बजार घटेको उनले बताए ।

वित्तीय क्षेत्रमा देखिएको तरलताको अभावले पनि बजार घट्नमा सहयोग पुर्याएको उनको तर्क छ । अब राजनीतिक स्थिरता कायम भएपछि बजारमा केही मात्रामा सकारात्मक असर देखिए पनि यसको असर भने २/३ वर्षसम्मै पर्ने सिंहको दाबी छ ।


 

फेसबुकबाट तपाईको प्रतिक्रिया