पुँजी बजारका लगानीकर्ता किन अन्योलमा ?


आर्थिकन्यूज
नेप्से

काठमाडौं, पुस १४ । राजनीतिक संक्रमणकालको अन्त्य हुँदै प्रतिनिधि र प्रदेशसभाको चुनाव सकिएसँगै पुँजी बजारका लगानीकर्ता बजार सकारात्मक हुनेमा ढुक्क थिए । तर, तीन तहका चुनावपछि पनि बजारले भने गति लिन सकेको छैन । लामो समयसम्म पुँजी बजार अन्योलमा रहनुमा नयाँ सरकारको गठन हुन ढिलाइ हुनु नै प्रमुख कारण मानिएको छ ।

Eco Roofing

पुँजी बजारका विषयमा नयाँ सरकारले कस्तो योजना ल्याउँछ भन्ने कुरामा पनि लगानीकर्ता अन्योलमा रहेका छन् । ब्रोकर कम्पनीलाई भ्याट लगाउने विषयलाई लिएर पनि लगानीकर्ता अन्योलमा छन् । पछिल्लो समय बैंककोे ब्याजदरले बजारलाई प्रभावित बनाउँदै आएको छ । बैंकहरुसँग लगानीयोग्य रकमको अभाव हुँदा महँगो ब्याजदरमा निक्षेप तान्ने क्रम बढेको छ ।

पुँजीवृद्धि योजनाले धितोपत्र बजारमा थप भएका नयाँ शेयरका कारण बजारको आकार ह्वात्तै बढेको छ । बजारमा शेयरको फ्लो धेरै भए पनि सोही अनुसारको माग सिर्जना हुन नसक्दा बजारमा दबाब परेको छ । पछिल्लो समयमा अधिक आपूर्ति बजारको लागि प्रमुख चुनौतीको रुपमा खडा भएको छ ।

घटेको बजारले यस साता पनि निरन्तरता पाउँदै अन्तिम कारोबार दिनमा १० दशमलव ७३ अंकले घटेर १४१४ दशमलव ७८ अंकमा कारोबार बन्द भएको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ७४ कम्पनीको २७ हजार १ सय ५३ कारोबारबाट २ अर्ब ६८ करोड २६ लाख ४२ हजार रुपैयाँ बराबरका ५७ लाख २५ हजार २ सय ६० कित्ता शेयर खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा ४ दशमलव शून्य १ प्रतिशत बढी हो । यस साता १० वटा समूहको कारोबार भएकोमा व्यापार समूहबाहेकका सबै समूहमा गिरावट आएको छ । अघिल्लो साताको तुलनामा यो साता बैंक ५२ दशमलव ३३, विकास बैंक ७४ दशमलव शून्य ७, वित्त २१ दशमलव १, लघुवित्त ५९ दशमलव ४८, जलविद्युत् ६७ दशमलव ६७ दशमलव ४५, बीमा २ सय ७९ दशमलव २,उत्पादन तथा प्रशोधन २४ दशमलव ६५ र अन्य समूह १२ दशमलव ४३ अंकले ओरालो लागेका थिए ।

त्यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ११ दशमलव ३९ अंकले घटेर २ सय ९७ दशमलव ६२ अंकमा आइपुगेको छ । कारोबार रकमको आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको ५० करोड ३६ लाख ६० हजार रुपैयाँसहित अग्रस्थानमा रहेको छ ।

कारोबार भएको शेयर संख्या तीन लाख ४८ हजार कित्ताको आधारमा प्रभु बैंक (संस्थापक) अग्रस्थानमा रहेको छ भने कारोबार संख्या ४ हजार ६ सय ९३ पटकको आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंक अग्रस्थानमा रहेको छ ।

साप्ताहिक विश्लेषण

नेप्से परिसूचकमा २०१६/२०१८ सम्ममा सिमेत्रिकल त्रिभुज बन्नेको देखिन्छ । प्राविधिक विश्लेषणमा सिमेत्रिकल त्रिभुजलाई बुलिस ट्रेन्डको नितान्तरता आकृति मानिन्छ । यद्यपि, प्राविधिक विश्लेषणमा कुनै पनि सिमेत्रिकल त्रिभुज बन्नको लागि माथिल्लो र तल्लो तहमा न्यूनतम दुईपटक टेस्ट गरेको हुनुपर्छ । यस आधारमा सिमेत्रिकल त्रिभुजलाई ब्यालिड मान्न सकिन्छ ।

सिमेत्रिकल त्रिभुजको सिद्धान्तअनुसार कुनै पनि माथिल्लो वा तल्लो दिशामा ब्रेक आउट देखाएमा त्यस्तै दिशामा बजार जाने गर्छ । यसको आधारमा तल्लो ट्रेन्ड लाइन १३९० देखि १४०० सय तहसम्म बजार आउन सक्ने सम्भावना प्रबल रहेको छ । यसलाई तत्काल नेप्सेको टेवा क्षेत्रको रुपमा मान्न सकिन्छ । त्यस्तै यसअघि सानो ट्रेन्डलाइनको आधारमा नेप्सेले १४१० को तह मनोवैज्ञानिक टेवा पनि देखाएको थियो । यसलाई पनि नेप्सेले दुईपटक टेस्ट गरिसकेको छ ।

यद्यपि, ब्रेक भएको देखिँदैन । यस कारणले नेप्से परिसूचकलाई अहिले १४१० देखि १३९० लाई ब्रेक गरेर तल गएको अवस्थामा ठूलो गिरावट आउने सम्भावना रहेको छ । यही तहमा बजार रोकिने हो भने १५७० सम्मको पुग्ने सम्भवना देखिन्छ । प्रविधिक विश्लेषणमा लिडिङ औजार मानिने १४ दिने आरएसआई ४७ बाट घटेर ३५ को स्केलमा आएको छ । यसले पनि खरिद चापभन्दा बिक्री चाप बढी रहेको देखाएको छ ।

दैनिक चार्ट

नेप्सेको दैनिक चार्टको आधारमा हेर्दा लगातार बजार डाउन ट्रेन्ड च्यानलमा रहेको देखिन्छ । यसको आधारमा यस साताको अन्तिम कारोबार दिनमा च्यानलको तल्लो लाइनमा टेवा पाएको छ । एमएसीडी औजार पनि एमएसीडी रेखा र सिग्नल रेखा लाइन वियारिस क्रस ओभर देखिएको छ । यदि बजारले अहिले तह ब्रेक गरेको अवस्थामा अझ तल आउने सम्भावना प्रबल रहको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया