कस्तो रह्यो विश्वका धनाढ्यहरूका निम्ति सन् २०१७ ?


आर्थिकन्यूज

काठमाडौं, पुस १४ । सन् २०१७ मा विश्वका ५ सय धनी व्यापारीले करिब एक ट्रिलियन अर्थात एक हजार बिलियन डलर आफ्नो खातामा जोड्न सफल भएका छन् । ग्लोबल स्टक मार्केट ह्वात्तै बढ्दा ठूला व्यापारीले अत्याधिक लाभ लिएका हुन् । ब्लुमबर्ग बिलिनियर्स इन्डेक्स अनुसार ५ सय व्यक्तिको सम्पत्ति २३ प्रतिशतले बढेको हो ।

स्टक मार्केटमा भारी वृद्धि हुँदा ई–कमर्स साइट अमेजनका संस्थापक जेफ बेजोस वर्ष २०१७ मा विश्वको सबैभन्दा धनि व्यक्ति बन्न सफल भए । उनीले माइक्रोसफ्टका मालिक बिल गेट्सलाई पनि पछि पार्दै पहिलो स्थानमा उक्लेका हुन् ।

गत अक्टोबर २७ मा अमेजनको शेयर मूल्य अघिल्लो दिन बन्द भएभन्दा ८ प्रतिशतले बढेपछि बेजोसको सम्पत्तिले बिल गेट्सको सम्पत्तिलाई पछि पारेको हो । सो दिन मात्रै बेजोसले ७ बिलियन डलर आफ्नो कुल सम्पत्तिमा थप्न भ्याए । बजार बढ्नुभन्दा अघि बजोसको कुल सम्पत्ति ८९.७ बिलियन डलर रहेको थियो । तर, स्टक मार्केट बढेपछि उनको सम्पत्ति ९३.१ बिलियन डलर पुगेको थियो ।

यसभन्दा अघि वर्ष २०१७ को अगस्टमा नै उनी सर्वाधिक धनिको सूचीको पहिलो स्थानमा परेका थिए । तर, केही घण्टापछि नै शेयर मूल्य ओरालो लागेपछि उनी तेस्रो स्थानमा झरेका थिए ।

यस वर्ष बेजोसको सम्पत्ति ३४.२ बिलियन डलरले बढेको हो । हालसम्म उनको कुल सम्पत्ति ९९.६ बिलियन डलर रहेको छ । बेजोसको सम्पत्ति माइक्रोसफ्टका संस्थापक बिल गेट्सभन्दा ८.३ बिलियन डलरले बढी छ ।

गत अगष्ट महिनामा बिल गेट्सले आफ्नो सम्पत्तिबाट ४.६ बिलियन डलर बराबरको शेयर बिल एन्ड मिलिन्डा गेट्स फाउन्डेसनको नाममा गरिदिएका थिए । विश्व स्वास्थ्य र गरिबीको क्षेत्रमा काम गर्नको लागि उनले शेयर हस्तान्तरण गरेका थिए । सोही कारणले पनि उनी दोस्रो स्थानमा परेका हुन् । उनको फाउन्डेसनले सन् १९९४ देखि हालसम्म ३५ बिलियन डलर समाज सेवामा लगाइसकेको छ । यतिका धेरै रकम समाज सेवामा खर्च गर्ने सबैभन्दा ठूलो फाउन्डेसन नै बिल एन्ड मिलिन्डा गेट्स फाउन्डेसन नै हो । बिल गेट्सको सम्पत्ति ९०.२० बिलियन डलर रहेको छ । बिल गेट्स यसभन्दा अघि विश्वको सबैभन्दा धनि मानिसको सूचीको पहिलो स्थानमा रहेको थिए ।

वर्ष २०१७ को तेस्रो धनी व्याक्तिको सूचीमा अमेरिकन व्यापारी, लगानीकर्ता तथा समाजसेवी वारेन बफेट परे । ८७ वर्षीय बफेट अमेरिकन नागरिक हुन् । उनको सम्पत्ति ८४.३ बिलियन डलर रहेको छ । बफेट गत अगस्ट महिनामा अमेरिकाको दोस्रो धनी व्याक्तिको सूचीमा परेका थिए । उनी सन् १९५१ देखि हालसम्म निरन्तर रुपमा व्यापारिक भूमिकामा रहेका छन् ।

अमान्सियो अर्टेगा वर्ष २०१७ मा सर्वाधिक कमाउने व्यापारीको चौथो स्थानमा रहेका छन् । उनीको सम्पत्ति बफेटको भन्दा मात्र ५.३ बिलियनले कम हो । अघिल्लो वर्ष दोस्रो स्थानमा रहेको उनी यस वर्ष चौथो स्थानमा झरेका हुन् । उनी विशेषत खुद्रा व्यापारी हुन् । उनको जारा नामक कम्पनी रहेको छ । उक्त कम्पनीले लत्ताकपडा लगायतका सामग्रीको बिक्री वितरण गर्दै आइरहेको छ । यसको अलावा उनको पयर्टन तथा ग्यास उद्योगमा पनि उनको लगानी रहेको छ ।

चर्चित सामजिक सञ्जाल फेसबुकका सीईओ मार्क जुकरबर्ग सबैभन्दा कम उमेरका धनी युवा हुन् । जुकरबर्गको फेसबुकले छोटो समयमा नै निकै चर्चा बटुलेपछि उनी रातारात धनी मानिसको सूचीमा पर्न सफल रहे । उनको कूल सम्पत्ति ७२.३ बिलियन डलर रहेको छ । मात्र ३३ वर्षका उनले फेसबुकलाई परिमार्जित र परिस्कृत बनाउँदै लगेका छन् ।

नेपालीको अवस्था के छ ?

अमेरिकी व्यावसायिक पत्रिका फोब्र्सले प्रकाशित गरेको सन् २०१६ का विश्वका अर्बपतिहरुको सूचीमा नेपालका एकमात्र अर्बपति विनोद चौधरी वर्ष सन् २०१५ को तुलनामा १६२ स्थान तल खस्केका थिए । सन् २०१५ मा चौधरी १४ सय १५औं स्थानमा रहेका थिए भने उनी २०१६ मा १५ सय ७७औं स्थानमा आइपुगेका थिए ।

सन् २०१३ मा पहिलोपटक विश्वका धनाढ्यको सूचीमा पर्न सफल चौधरीको सम्पत्ति फोब्र्सको रिपोर्ट अनुसार १.१ बिलियन डलर रहेको छ । सन् २०१५ मा उनको सम्पत्ति १.३ अर्ब अमेरिकी डलर थियो ।

सन् २०१५ भन्दा नेटवर्थ बढेको भए पनि सूचीमा भने उनको स्थान घटेको हो । चौधरीको सूचीमा परेका अन्य व्यक्तिहरूकै अनुपातमा सम्पत्ति बढ्न नसक्दा स्थान घटेको विश्लेषण गरिएको छ ।

चौधरी ग्रुप (सीजी) अफ इन्डस्ट्रिजका मालिक चौधरीको नेपालको नबिल बैंक सीजीभित्रै झन्डै ४० कम्पनी मार्फत इलेक्ट्रोनिक सामग्री, सिमेन्ट, चाउचाउलगायतका खाद्य सामग्री उत्पादन गर्दै आएको छ । चौधरीको नेपालका साथै भारत, सर्विया, साउदी अरेबिया, बंगलादेशको विभिन्न कम्पनीमा लगानी रहेको छ ।

(विभिन्न समाचार एजेन्सीहरूको सहयोगमा)

फेसबुकबाट तपाईको प्रतिक्रिया