कुलमानले ल्याए विद्युतीय चार्जिङ स्टेसन, विद्युतीय सवारीका लागि बरदान सावित हुँदै


आर्थिकन्यूज

काठमाडौं, पुस ५ । नेपाल विद्युत् प्राधिरकणले प्रवद्र्धनात्मक रुपमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन खडा गरेको छ । प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा प्रवद्र्धनात्म्क रुपमा चार्जिङ स्टेसन खडा गरिएको हो । वर्षाकालमा अब विद्युत् उत्पादन बढी हुने र विद्युत् खेरसमेत जाने अवस्था आएका कारण नागरिकलाई विद्युतीय सवारी साधनको प्रयोगमा समेत चेतना जगाउने लक्ष्यका साथ चार्जिङ स्टेसन खडा गरिएको हो ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि नागरिकले सहज रुपमा विद्युत् पाउने र खेर समेत जाने भएकाले हाल प्रवद्र्धनात्मक रुपमा नै विद्युतीय सवारीका लागि मार्ग प्रशस्त गरिएको प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।

उनकाअनुसार नीतिगत रुपमा नै सरकारले विद्युतीय सवारीका लागि प्रवद्र्धन गर्न लागिएको हो । विदेशतिर विद्युतीय सवारी साधान उत्पादन गर्ने, प्रयोग गर्ने तथा त्यसलाई नै विशेष प्राथमिकता दिने गरिएको छ ।

विश्वविख्यात कम्पनीहरुले विद्युतीय सवारी सधान उत्पादनमा समेत विशेष प्राथमिकता दिएका छन् । नेपालमा पनि आगामी दिनमा पेट्रोलियम पदार्थको आयात घटाएर विद्युतीय सवारी साधानलाई प्राथमिकता दिन प्राधिकरणले प्रभावकारी रुपमा नै अभियान सञ्चालन गर्न लागिएको हो ।

काठमाडौंका एक दर्जन बढी स्थानमा व्यावसायिक रुमपा नै विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन खडा गर्ने प्राधिकरणको तयारी छ । वार्षिक रुपमा ४२ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भइरहेको छ । त्यसलाई पनि नियन्त्रण गर्न र स्वदेशको पैसा स्वदेशमा नै राख्न विद्युतीय सवारीलाई प्राथमिकता दिन लागिएको प्राधिकरणको भनाइ छ ।

सरकारले काठमाडौँ भक्तपुर रुटमा चलाएको ट्रली बस बन्द गरेर निजी क्षेत्रलाई पेट्रोलियम पदार्थले चल्ने सवारी साधन चलाउन प्रेरित गरेपछि नेपालको परनिर्भरता समेत बढ्दै गएको हो ।

प्राधिकरणले प्रवद्र्धनको रुपमा सुरु गर्न लागेको चार्जिङ स्टेशनको प्रचभार प्रसारमा विशेष जोड दिनुपर्ने र नागरिकलाई विद्युतीय सवारी नै उत्तम विकल्प हो भन्ने जानकारी दिलाउनु नै आफूहरुको दायित्व रहेको प्रवक्ता अधिकारीको भनाइ छ ।

हाल जडान गरिएको स्टेशन प्रवद्र्धनात्मक भए पनि त्यसबाट विद्युतीय सवारी साधान हुनेले फाइदा लिन सक्ने प्राधिकरणको विश्वास छ । तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थ आयात घटाउन प्रवद्र्धनात्मक रुपमा नै भएपनि चार्जिङ स्टेसन खडा गर्ने कार्ययोजना अगाडि सारेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया