कोटेश्वर–कलंकी सडक विस्तारमा ढिलासुस्ती

१० किलोमिटर सडक ५ वर्षमा पनि सम्पन्न नहुने


रोयल आचार्य/आर्थिकन्यूज

काठमाडौं, पुस ५ । कोटेश्वर–कलंकी चक्रपथ सडक विस्तार तोकिएको मितिमा सम्पन्न नहुने देखिएको छ । सन् २०१३ जूनबाट निर्माण शुरु गरिएको १०.३९ किलोमिटर सडक विस्तार निर्धारित समयमा सम्पन्न नहुने भएको हो ।

सन् २०१३ मा निर्माण कार्य शुरु गरी सन् २०१६ भित्रै सम्पन्न गर्ने सम्झौता भए पनि भूकम्प र नाकाबन्दीका कारण निर्माण कार्यमा असर परेको थियो । भूकम्प र नाकाबन्दीको कारण देखाउँदै २०१६ भित्रै सम्पन्न गर्नुपर्ने आयोजना निर्माणका लागि दुई वर्ष समयावधि थप गरिएको थियो । जसअनुसार अब आगामी जुलाई महिनामा सडक निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने हुन्छ । समयावधि थप पश्चात आगामी जुलाईमा निर्माण कार्य सम्पन्न गर्ने भनियता पनि निर्धारित समयमा सम्पन्न नहुने विज्ञहरु बताउँछन् ।

आगामी जुलाई महिनामा सडक निर्माण कार्य सम्पन्न हुनेमा विश्वस्त हुन नसकिने सडक विभागका एक अधिकारीले बताए । विभागका अधिकारीका अनुसार आयोजनाको करिब आधा भाग सम्पन्न गर्न अझै बाँकी छ ।

चीन सरकारको अनुदानमा निर्माण भइरहेको १० किलोमिटरको उक्त सडक विस्तार कार्य सन् २०१२ बाट शुरु भई निर्माणको काम २०१३ बाट शुरु भएको थियो ।

आठ लेनका कलंकी–कोटेश्वर सडक निर्माणको काम समयमै सम्पन्न हुन नसकेपछि भूकम्प र नाकाबन्दीलाई प्रमुख कारण देखाउँदै २ वर्ष म्याद थप गरिएको थियो । नेपाल सरकार र चिनियाँ कम्पनी संघाई कन्स्ट्रक्सन ग्रुपबीच सन् २०१३ जुनबाट काम शुरू गरी ४० महिनामा योजना सम्पन्न गर्ने सम्झौता भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया