कार्यकाल नसकिँदै किन राजीनामा दिन्छन् बैंकका सीईओ ?


रोयल आचार्य

काठमाडौं, मंसिर २० । बैंक तथा वित्तीय संस्थाको नेतृत्व परिवर्तन हुनु सामान्य भए पनि आफ्नो कार्यकाल नसकिँदै राजीनामा दिनुलाई भने वित्तीय क्षेत्रमा अनौठो मानिएको छ । अन्य क्षेत्रको जागिरभन्दा बैंकिङ क्षेत्रमा पैसा र ग्लामर्स दुवै हुने भएकाले आकर्षक मानिँदै आएको छ ।

कसरी हुन्छ, आफ्नो कार्यकाल लम्बाउने कसरतमा रहेको खबर आउँदै गर्दा पछिल्लो समयमा भने बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूले धमाधम राजीनानम दिन थालेका छन् ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (वाफिया) ले दुई कार्यकालभन्दा बढी एउटै बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा बस्न नपाउने बाध्यकारी व्यवस्था गरेको छ । तर, कतिपय सीईओ वाफियाको बाध्यकारी व्यवस्थाका कारण बैंक छाड्ने भए पनि केहीले आफ्नो कार्यकाल बाँकी छँदै राजीनामा दिने गरेका छन् ।

पछिल्लो छ महिनामा मात्रै ६ जना सीईओले कार्यकाल बाँकी छँदै राजीनामा दिएर नयाँ बाटो समाएका छन् । कार्यकाल बाँकी छँदै सीईओले किन राजीनाम दिए ? यस विषयमा सबैको आ–आफ्नै बाध्यता हुनसक्छ । तर, अधिकांशले बैंक सञ्चालकसँग असहमति भएकै कारण बैंक छोड्ने गरेका छन् ।

कार्यकाल बाँकी छँदै कस–कसले छोडे बैंक ?

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत सशीन जोशीले कार्यकाल नसकिँदै केही दिन अघि राजीनामा दिएका छन् । बैंकको सञ्चालक समितिले सोमबार बसेको बैठकले आगामी फागुन ५ गतेदेखि लागू हुने गरी जोशीको राजीनामा स्वीकृत गरिसकेको छ ।

त्यस्तै जनता बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले गत जेठमा कार्यकाल नसकिँदै राजीनामा दिए । उनको राजीनामालाई बैंक सञ्चालक समितिले तत्कालै स्वीकृत पनि गरिदिएको थियो ।

बैंक अफ काठमाण्डूका सीईओ अजय श्रेष्ठले पनि असार १९ गते राजीनामा गरे । चार वर्षे कार्यकालका लागि सीईओ नियुक्त भएका उनले एक वर्षमै बैंक छोडे ।

यसैगरी भदौै ११ गते सेञ्चुरी कमर्सियल बैंकका सीईओ अनुजमणि तिमल्सिनाले पनि कार्यकाल बाँकी छँदै राजीनामा गरे भने ग्लोबल आईएमई बैंकका सीईओ अनील ज्ञवालीले पनि दुई वर्ष कार्यकाल बाँकी छँदै राजीनामा गरे ।

सिद्धार्थ बैंकमा कार्यकाल बाँकी छदाछदै सीईओ सुरेन्द्र भण्डारीले पनि राजिनामा दिए । यसअघि महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराईले पनि कार्यकाल बाँकी छँदै राजीनामा दिएका थिए ।

को–को कार्यकाल सकिँदै छ ?

आफ्नो आठ वर्षे कार्यकाल पूरा गरी हिमालयन बैंकका सीईओ अशोक शम्शेर जबराको यस वर्षदेखि आफ्ना बाबु हिमालय शम्शेर जबराले स्थापना गरेको बैंकलाई बाईबाई गर्दै छन् । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेले पनि बैंक छोड्नुपर्ने भएको छ । बहुराष्ट्रिय लगानी रहेको स्टान्डर्ड चाटर्ड बैंक सीईओ जोसफ सिल्भानुसले केही महिनाभित्रै बैंक छोड्ने भएका छन् ।

बाफियाको बाध्यकारी व्यवस्था

बाफिया

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन–२०७२ (बाफिया) ले कुनै पनि बैंकको प्रमुख कार्यकारी अधिकृत दुई कार्यकाल भन्दा बढी समय एकै बैंकमा बस्न नपाउने व्यवस्था गरेको छ । बाफियाको यो बाध्यकारी व्यवस्थाका कारण सीईओहरुले नचाहेर पनि दुई कार्यकाल पूरा गरेपछि बैंक छाड्नैपर्ने हुन्छ । नेपाल बैंकर्स संघका निर्वतमान अध्यक्ष उपेन्द्र पौड्यालले बाफियाको बाध्यकारी व्यवस्थाकै कारण एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिए । हाल पौड्याल नबिल बैंकको सञ्चालक सदस्य बनेका छन् । बैंकर्स संघकै वर्तमान अध्यक्ष अनिलकेशरी शाहको पनि पौड्यालको जस्तै छ । मेगा बैंक नेपालका संस्थापक सीईओ समेत रहेका अध्यक्ष शाह यसै साता मेगा बैंक छोड्दैछन् ।

मेगा छाड्नु अघि नै सेञ्चुरी बैंकमा नियुक्ति पाइसकेका उनले नचाहँदा नचाहँदै पनि मेगा छाड्न लागेको प्रतिक्रिया दिएका छन् । ‘हलोदेखि हाइड्रो सम्म’ का योजनाकारसमेत रहेका शाह मेगा बैंकमा काम गर्ने इच्छा बाँकी नै भए पनि बाफियाको बाध्यकारी व्यवस्थाका कारण सेञ्चुरीमा जान लागेको बताए ।

सञ्चालकसँगको मनमुटाव

पछिल्लो समय कार्यकाल बाँकी छदै सीईओ पदबाट राजीनामा दिएका अधिकांश सीईओको समस्या भने एउटै छ । पछिल्लो छ महिनामा ६ जना सीईओहरुले कार्यकाल बाँकी छँदै पदबाट राजीनामा दिएका छन् । सञ्चालक समितिसँग कुरा नमिलेकै कारण राजीनामा दिएको पछिल्लो उदाहरण नविल बैंकका सीईओ सशीन जोशी हुन् ।

बैंक सञ्चालक समितिसँग कुरा नमिलेपछि सीईओ जोशीले नबिल बैंक छोड्ने भएका हुन् । २०७२ असार १३ गतेदेखि नबिल बैंकमा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका जोशीले साढे दुई वर्ष पनि नभई राजीनामा दिएका हुन् । उनको कार्यकाल बाँकी हुँदाहुँदै बैंकको सञ्चालक समितिसँग विवाद भएपछि जोशी आफंैले राजीनामा दिएका हुन् । बैंकका कर्मचारी विवाद र प्रर्पोटी भ्यालुएसनमा बैंकका सञ्चालकसँग जोशीको विवाद भएको थियो ।

त्यस्तै बैंक अफ काठमाण्डूका सीईओ अजय श्रेष्ठले पनि असार १९ गते राजीनामा गरे । चार वर्षे कार्यकालका लागि सीईओ नियुक्त भएका उनले एक वर्षमै बैंक छोडे । व्यवसाय बढाउन नसकेको आरोप सञ्चालक समितिले लगाएपछि उनले तत्काल राजीनामा दिएको जानकारहरू बताउँछन् ।

गत भदौमा सेञ्चुरी कमर्सियल बैंकका सीईओ अनुजमणि तिमल्सिनाले पनि कार्यकाल बाँकी छँदै राजीनामा गरे । उनले दुई वर्षे कार्यकाल छँदै राजीनामा गरेका थिए । कार्यकाल बाँकी रहँदै राजीनामा दिएका ग्लोबल आईएमई बैंकका अनिल ज्ञवालीले पनि सञ्चालकसँगको मनमुटावकै कारण बैंक छोडेका थिए । तर, यस विषयमा ज्ञवालीले मुख खोलेनन् ।

थप सेवा सुविधाको लोभ

सीईओहरूले थप सेवा सुविधाको प्रलोभनमा परेर समेत कार्यकाल बाँकी छँदै बैंक छोड्ने गरेका छन् । बहाल रहेको बैंकभन्दा अर्को बैंकले बढी सेवा सुविधा दिने भएपछि पनि सीईओहरु लोभिएर राजीनामा गर्छन् । यसको पछिल्लो उदाहरण कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी हुन् ।

भण्डारी सिद्धार्थ बैंकमा कार्यकाल बाँकी छदै राजीनामा दिएर कुमारी बैंकमा गएका थिए । सिद्धार्थको सीईओ पदबाट राजिनामा दिएपछि आफ्नो कोही कसैसँग मनमुटाव नभएको र स्वइच्छाले आफू कुमारी बैंक गएको उनले प्रतिक्रिया दिएका थिए ।

इज्जत जोगाउन राजीनामा

कार्यकाल बाँकी छँदै राजीनामा दिने सीईओहरुको सूचीमा महालक्ष्मी विकास बैंकका निवर्तमान सीईओ रमेश भट्टराई पनि पर्छन् । महालक्ष्मी विकास बैंकलाई महालक्ष्मी फाइनान्सको रुपमा स्थापना गरेका सीईओ भट्टराई तीन वित्तीय संस्थासँग मर्ज गरेर फाइनान्सलाई विकास बैंक बनाएका थिए । फाइनान्सको रुपमा स्थापना भएको महालक्ष्मी एकाएक बलियो विकास बैंकको रुपमा स्थापित हुने चरणमा थियो ।

भट्टराईले बलियो विकास बैंकको रुपमा रहेको यति डेभलपमेन्टसँग मर्जर गराएर ठूलो विकास बैंकको रुपमा महालक्ष्मीलाई स्थापित गराउन सफल भए । दुई ठूला विकास बैंक मर्जरपछि बनेको महालक्ष्मीलाई नेपालको २९औं वाणिज्य बैंक पनि भन्ने गरिएको थियो । मर्जरपछिको व्यवस्थापन मिलाए लगत्तै भट्टराईले सीईओ पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा के–कारण आयो भन्ने विषयमा सर्वत्र चर्चा छ । कतिपयले अन्य सीईओको जस्तै सञ्चालक समितिसँग विवाद भएको हो कि भन्ने आशंका गरे पनि भट्टराईले त्यस्तो केही नभएको बताए । उनले बैंकलाई एउटा उचाईमा ल्याउन चाहेको र बैंक उचाईमा आएपछि आफूले स्वइच्छाले राजीनामा दिएको बताए ।

जनता बैंकका सीईओ कुमार लम्सालले गत जेठमा कार्यकाल नसकिँदै राजीनामा दिए । लम्सालले पनि बैंकको वित्तीय अवस्थालगायत धेरै कुरा सुधार भइसकेकाले आफूले राजीनामा दिएको बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया