विदेश जाने ? होइन स्वरोजगार कोषबाट तालिम लिइ ऋण लिएर व्यवसाय शुरु गर्नुस्


आर्थिकन्यूज

काठमाडौं । युवा जनशक्तिलाई पुँजी र कामको अभावमा विदेश पलायन हुने प्रवृत्तिलाई निरुत्साहित गर्न स्थापना गरिएको कोष हो, युवा तथा साना व्यवसायी स्वरोजगार कोष । यसको स्थापना २०६५ सालमा भएको हो । परम्परागत उत्पादन प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने तथा सीपयुक्त बेरोजगार युवाहरूलाई स्वरोजगारको अवसर प्रदान गर्ने मुख्य लक्ष्य यस कोषको रहेको छ ।

कोषले अशिक्षित र बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउन अभिमुखीकरण तथा व्यावसायिक र सीपमूलक तालिम प्रदान गर्नुका साथै बैङ्क र वित्तीय सस्थाहरूमार्फत् सहुलियत ब्याजदरमा बिनाधितो आवधिक कर्जा प्रदान पनि गर्छ । यी सेवाहरु निशुल्क रूपमा प्रदान गरिँदै आएको छ । साथै आर्थिक रूपले पिछडिएका विपन्न वर्ग, महिला, दलित, आदिवासी, जनजाति, द्वन्द्वपीडित, अपाङ्ग, घाइते परिवार एव युवा तथा परम्परागत सीप भएका जात जातिहरूलाई व्यावसायिक खेती, कृषिजन्य उद्योग वा सेवामूलक स्वरोजगार कार्यक्रम सञ्चालन गर्न सहुलियत ब्याजदरमा कर्जा प्रदान गरिँदै आएको छ ।

त्यस्तो कर्जाबापत प्रतिव्यक्ति बेरोजगार युवालाई अधिकतम दुई लाख र बढीमा २५ जनाको प्रत्येक समूहलाई अधिकतम रु. ५० लाख प्रदान गरिदै आएको छ ।

कोषका मुख्य उद्देश्य

– पुँजीको अभावमा हुने प्रतिभा पलायन रोक्ने
– बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउने
– शिक्षित तथा अर्धशिक्षित युवाहरूलाई स्वदेशमै रोजगार दिने
– परम्परागत सीप भएका जातीय समुदायहरू, द्वन्द्वपीडित व्यक्ति, उत्पीडित जाति, जनजाति, पिछडिएको क्षेत्र तथा महिलालाई कर्जा लगानीमा प्राथमिकता दिने
– व्यावसायिक खेती, पशुपन्छीपालन, कृषि तथा वनजन्य उद्योग, पर्यटन घरवास तथा रत्न पत्थरसम्बन्धी स्वरोजगारमूलक तालिम प्रदान गर्ने
– सहर तथा बजार क्षेत्रमा ठेलागाडा, रिक्साजस्ता स्वरोजगारमूलक कार्यक्रममा स्वरोजगारका लागि कर्जा प्रदान गर्ने
– सम्बन्धित क्षेत्रमै खपत हुने स्थानीय कच्चा पदार्थ र सीपमूलक परियोजनामार्फत् हुने उत्पादनलाई प्राथमिकता दिने र
– “एक गाउँ एक उत्पादन“ एव “एक सहकारी एक मुख्य चिनारी“सम्बन्धी परियोजनामा लगानी गर्न प्रोत्साहन गर्ने रहेको छ ।

कस्तो व्यवसायले ऋण पाउँछन ?

– व्यावसायिक खेती तथा पशुपन्छीपालन, कृषि तथा वन्य उद्योग, घरेलु तथा साना उद्योग र अन्य व्यापार व्यवसाय
– सहर–बजार क्षेत्रमा रिक्सा, ठेलागाडालगायतका स्वरोजगारमूलक, सेवामूलक व्यवसाय
– परम्परागत सीपयुक्त व्यवसाय
– पर्यटन (होम स्टे) सम्बन्धी व्यवसाय
– स्थानीय कच्चा पदार्थ र सीपमूलक परियोजना, उत्पादित क्षेत्रमा नै खपत गर्ने परियोजना र एक गाउँ एक उत्पादनसम्बन्धी परियोजनाका साथै द्वन्द्वपीडित व्यक्ति, अपाङ्ग, घाइते र सहिद परिवार, उत्पीडित जाति, जनजाति, दलित तथा महिलाद्वारा सञ्चालन हुने परियोजनाहरूलाई विशेष प्राथमिकता दिने ।

कोषबाट कसले लाभ प्राप्त गर्छ ?

१८ देखि ५० वर्षसम्मको उमेरका सबै शिक्षित, अर्धशिक्षित वा अशिक्षित, कुनै पनि पेसा, व्यवसाय र आयआर्जन कार्यमा सलग्न नभएका बेरोजगार व्यक्तिहरूले यसबाट लाभ प्राप्त गर्छन् ।

ऋण लिन कसरी आवेदन गर्ने ?

स्वरोजगार कोषमार्फत् कर्जा प्राप्त गर्न बेरोजगार युवाले कोषसँग कर्जा सम्झौता गरेको बैङ्क, वित्तीय संस्था वा सहकारीमा सम्पर्क गर्नुपर्छ । आवेदन दिँदा देहायका कागजपत्र संलग्न गरेको हुनुपर्छ ।
– अभिमुखीकरण तालिम लिएको प्रमाणपत्र
– नागरिकताको प्रमाणपत्र
– आफूले गर्न चाहेको व्यवसायको व्यावसायिक परियोजना विवरण
– आफू र एकाघरका परिवारको सम्पत्ति विवरण

कोषमार्फत् पाइने ऋणमा कति प्रतिशत ब्याज लाग्छ ?

स्वरोजगार कार्यक्रमअन्तर्गत पाइने कर्जामा लाग्ने ब्याजदर कर्जा लगानी गर्ने बैङ्क, वित्तीय सस्था वा सहकारीले नै तोक्दछन् । तर, कोषसँग भएको सम्झौताअनुसार सम्बन्धित सस्थाको भाकाअनुसार समयमै ऋणीले किस्ता चुक्ता गरेमा सम्पूर्ण ऋण चुक्ता भएपछि त्यसमा लागेको ब्याजको साठी प्रतिशत रकम कोषले लगानी गरेका बैङ्क, वित्तीय संस्था र सहकारीहरू मार्फत ऋणीलाई फिर्ता गरिन्छ । यी बैङ्क, वित्तीय संस्था र सहकारीहरूले त्यस्ता ऋणीहरूको सूची कोषलाई बुझाउनेछन् र कोषले तिनका दाबीहरूमाथि उचित अनुसन्धान र प्रमाणीकरण गरेपछि बैङ्क, वित्तीय संस्था र सहकारीहरूमार्फत् त्यस्ता ऋणीहरूलाई प्रदान गर्छ ।

कोषमार्फत् प्रदान गरिने ऋणमा धितोको कस्तो व्यवस्था छ ?

ऋण स्वीकृत भएपछि, जुन व्यापार व्यवसायका लागि ऋण लिइएको हो सोही व्यापार व्यवसाय नै ऋणको साँवा, ब्याज भुक्तानी नगरुन्जेलसम्मका लागि ऋणको सुरक्षणका रूपमा सम्बन्धित वित्तीय सस्थाले धितोका रूपमा राख्छ । यसका लागि ऋणी स्वयं र निजको परिवारका सदस्य जमानी वा धितोका रूपमा बस्नुपर्छ । सम्पत्तिभन्दा व्यक्तिको इमान नै महत्वपूर्ण भएकाले यसमा व्यक्तिको चरित्र वा इमानलाई नै धितोका रूपमा राख्ने व्यवस्था गरिएको छ । साथै सहकारी सस्थाको व्यवस्थाअनुसार कर्जा सुरक्षण गर्न अन्य आवश्यक धितो राख्न सकिनेछ ।

ऋण दुरुपयोग गर्नेलाई के हुन्छ ?

जुन उद्देश्य र प्रयोजनका लागि ऋण लिइएको हो, त्यसबमोजिम काम नगरी ऋणको दुरुपयोग गरेमा वा सयमा ऋणको साँवा, ब्याज भुक्तानी नगरेमा प्रचलित कानुनअनुसार ऋणीबाट साँवा, ब्याज असुलउपर गरिनेछ । साथै, कर्जा सूचना केन्द्रमा त्यस्ता व्यक्तिको नाम सूचीकृत गरी निजलाई खराब ऋणीमाथि हुने कारबाही गर्ने, राहदानी रोक्का गर्ने, कालोसूचीमा राख्ने, निर्वाचनमा उम्मेदवार बन्न नपाउने, समाजबाट बहिष्कार गर्ने तथा सरकारले प्रदान गर्ने सम्पूर्ण सेवाबाट वञ्चित गर्नेजस्ता विविध कारबाही गरिनेछ । यसका अतिरिक्त ऋणीको जुनसुकै सम्पत्ति वा जेथाबाट ऋण असुलउपर गर्न सकिनेछ ।

बीमाको व्यवस्था छ कि छैन ?

ऋणको भाका अवधिभित्र ऋणीको मृत्यु भएमा वा ऋणी स्थायी रूपमा अपाङ्ग भएमा वा भवितव्य परी सम्बन्धित परियोजनामा नोक्सान भएमा ऋणीको ऋण बीमा कम्पनीले तिर्ने व्यवस्था गरिनेछ। सम्बन्धित व्यापार व्यवसायको बीमाबापत लाग्ने प्रिमियम नेपाल सरकार, अर्थ मन्त्रालयले बेहोर्नेछ । तर, क्षतिको विवरण तथा सूचना आधिकारिक निकायबाट सिफारिस वा पुष्टि भएको हुनुपर्नेछ ।

व्यापार व्यवसायका लागि बजारको कस्तो व्यवस्था हुन्छ ?

ऋणीले उत्पादन गरेका वस्तुहरू सम्बन्धित क्षेत्रमा नै खपत हुन् भनेर त्यस्ता उत्पादित सामग्री जिल्लास्थित सहकारी संस्थाले खरिद गर्ने र वितरण गर्ने व्यवस्था गरिनेछ । त्यस्ता सामग्री अन्य जिल्लाका सहकारी संस्थाले पनि खरिद गर्नसक्ने व्यवस्था मिलाइनेछ ।

ऋण लिन कस्तो तालिम आवश्यक पर्छ ?

सरकारी निकाय, अन्तर्रा्ष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्था जुनसुकै निकायबाट लिइएको तालिमको प्रमाणपत्र ऋणका लागि मान्य हुनेछ । परम्परागत सीप भएका व्यक्तिले गर्ने व्यवसायका लागि भने तालिमको प्रमाणपत्र चाहिँदैन । तर, ऋण दिने बैङ्क तथा वित्तीय संस्थाले नै तोकिएको व्यापार व्यवसाय गर्न सक्ने वा नसक्ने भन्ने कुराको यकिन गरी ऋण प्रदान गर्नेछ । स्रोतः युवा तथा साना व्यवसायी स्वरोजगार कोष

फेसबुकबाट तपाईको प्रतिक्रिया