वस्तु विनिमय बजार नियमावली लागू, के–के व्यवस्था छन् ? (हेर्नुहोस् भिडियोमा)


आर्थिकन्यूज

काठमाडौं, मंसिर ११ । नेपाल धितोपत्र बोर्डले वस्तु विनिमय बजार नियमावली–२०७४ लागू गरेको छ । सोमबार बोर्डले पत्रकार सम्मेलन गरी वस्तु विनिमय बजार नियमावली–२०७४ लागु गरिएको जानकारी दिएको हो ।

वस्तु विनिमय बजारको विकास तथा सञ्चालन, लगानीकर्ताको संरक्षण, वस्तुको कारोबार, राफसाफ तथा फछ्यौट र वेयर हाउसलाई नियमन गर्न वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ को दफा ६१ ले दिएको अधिकार प्रयोग गरी नेपाल धितोपत्र बोर्डले वस्तु विनिमय बजारसम्बन्धी नियमावली, २०७४ लागू गरेको हो ।

सोमबारदेखि लागू गरिएको नियमावलीले ५० करोड पुँजी पुर्याएर मात्र एक्सचेञ्ज सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ । यसका साथै एक्सचेञ्जका लगानीकर्ताले ५ वर्षसम्म आफ्नो हिस्साको शेयर बिक्री गर्न पाउने छैनन् ।

उक्त नियमावली गत साउनमा राष्ट्रपतिबाट प्रमाणिकरण भएको थियो । प्रमाणिकरण भएको ९० दिनभित्र नियमावली लागू भइसक्नुपर्ने व्यवस्था अनुसार नियमावली लागू गरिएको बोर्डका प्रवक्ता एवम् कार्यकारी निर्देशक निरज गिरीले बताए ।

नियमावली कार्यान्वायनमा आएपछि अहिले सञ्चालनमा रहेका कमेडिटी एक्सचेञ्जले नयाँ व्यवस्था अनुसार सञ्चालन अनुमति लिनुपर्छ । बोेर्ड नियमावली लागू गरेसँगै न्युनतम् चुक्ता पुँजीसम्बन्धी व्यवस्थासमेत गरेको छ ।

विशेषताहरू के–के छन् ?
– वस्तु विनिमय बजार सञ्चालन गर्न कम्पनी संस्थापना गर्नु अघि सम्भाव्यता अध्ययन प्रतिवेदन, लगानीको स्रोत, शेयर स्वामित्वसम्वन्धी विवरण तथा वस्तुको विद्युतीय कारोबार प्रणालीको सुरक्षाका लागि व्यवस्थालगायतका विवरणसहित बोर्डवाट पूर्वस्वीकृतिको लागि निवेदन पेश गर्नुपर्ने,
– अनुमति प्राप्त गरेको १ सय ८० दिनभित्र न्यूनतम पूर्वाधार तयार गर्नुपर्ने,
– बोर्डबाट अनुमतिपत्र लिएर मात्र वस्तु विनिमय बजारसम्वन्धी कार्य गर्न पाइने,

न्यूनतम चुक्ता पुँजीसम्बन्धी व्यवस्था
– वस्तु विनिमय बजार सञ्चालन गर्ने संगठित संस्थाको चुक्ता पुँजी रु. ५० करोड,
– वेयर हाउसको रु. १५ करोड,
– राफसाफ तथा फछ्यौट व्यवसायको रु. ७ करोड
– लगानी व्यवस्थापकको रु. ५ करोड,
– लगानी परामर्शदाताको रु. १ करोड तथा
– वस्तु कारोबार दलालको रु. ५० लाख

देशको समग्र आर्थिक अवस्था तथा आर्थिक क्रियाकलापको आधार, लगानीकर्ताको हित संरक्षण, वस्तु विनिमय बजार संचालन गर्न चाहिने साधन÷स्रोत र प्रतिस्पर्धालाई दृष्टिगत गरी वस्तु विनिमय वजारलाई अनुमति दिने, कसैले पनि वस्तु विनिमय वजारको कूल शेयर पुँजीको ५ प्रतिशतभन्दा बढी शेयर स्वामित्व ग्रहण गर्न नपाउने नियमावलीमा व्यवस्था छ ।

त्यस्तै वस्तु विनिमय बजारको अनुमति लिएको तीन वर्षसम्म शेयर बिक्री गर्न नपाइने र त्यसपश्चात शेयर स्वामित्व लिएको व्यक्तिले शेयर हस्तान्तरण गर्न चाहेमा बोर्डको पूर्वस्वीकृति लिनुपर्ने, ऐन तथा नियमावलीले तोकएको योग्यता पूरा गरेको व्यक्ति वा संस्थाले मात्र शेयर स्वामित्व लिन सक्ने उल्लेख छ ।

विदेशी संस्थाले रणनीतिक साझेदारको रुपमा बजारको कुल शेयर पुँजीको बढीमा ५१ प्रतिशतसम्म शेयर स्वामित्व ग्रहण गर्नसक्ने । त्यस्तो स्वामित्व ग्रहण गर्ने विदेशी रणनीतिक साझेदार वस्तु विनिमय बजार सम्बन्धी व्यवसाय सञ्चालन गरेको न्यूनतम तीन वर्षको अनुभव हुनुपर्नेछ ।

कारोबार गर्न सकिने वस्तुको सूची यस्तो छ ।

(क) कृषिजन्य उत्पादन : कपास, अलैंची, जिरा, खुर्सानी, मरीच, काजू, सुपारी, दलहन, मकै, गहुँ, धान, आलु, मेथी, तोरी, भटमास, आलस, फापर, उखु, सूर्ति, जूट, अदुवा, बेसार, फलफुल तथा सोबाट निर्मित जुस ।
(ख) धातुजन्य वस्तु : आल्मुनियम, तामा, सिसा, निकल, टिन, पित्तल, फलाम, स्टिल, जिंक ।
(ग) बहुमूल्य धातु : सुन, चाँदी, प्लाटिनम ।
(घ) खनिज तेलजन्य वस्तु : कच्चा तेल, पेट्रोलियन पदार्थ, प्राकृतिक ग्यास, हिटिङ आयल ।
(ङ) तेल : नरिवलको तेल, पाम तेल, तोरीको तेल, भटमासको तेल, सूर्य मुखी तेल, आलसको तेल ।
(च) अन्य : चिनी, सख्खर, चिया, कफी, अण्डा, जडिबुटी ।

कारोबारपूर्व वस्तु करार तयार गरी बोर्डमा दर्ता गर्नुपर्ने, वस्तु विनिमय बजारले कारोबार शुरु गरेको वा स्थगन गरेको जानकारी लगानीकर्तालाई दिनुपर्ने, बजार, व्यवसायीले विद्युतीय रुपमा कारोबार गर्न सकिने गरी स्वचालित कारोबार प्रणाली स्थापना गर्नुपर्नेे, व्यवसायीले ग्राहकको स्पष्ट पहिचान हुने विवरण केवाईसीसहितको अभिलेख राख्नुपर्ने, अनुमतिपत्र प्राप्त संस्थाले वार्षिक, अर्ध वार्षिक तथा त्रैमासिक रुपमा विवरण पेश गर्नुपर्ने, बोर्डले नियमित रुपमा सुपरिवेक्षण तथा अनुगमन गर्ने, नियमावलीमा उल्लेख छ ।

यसैगरी वस्तु विनिमय बजारले लगानीकर्ता संरक्षण कोष र सेटलमेन्ट ग्यारेन्ट फन्ड स्थापना गर्नुपर्ने व्यवस्था रहेको छ, ऐन, नियमावली तथा बोर्डले दिएको निर्देशन पालना नगरेमा, कारोबार रोक, अनुमतिपत्र निलम्वन, खारेजी, विगो बमोजिम वा १० लाखसम्म जरिवाना वा ५ वर्षसम्म कैद हुन सक्ने ।

वस्तु विनिमय वजार नियमावली २०७४ लागू भई कार्यान्वयनमा आए पश्चात नेपालको वस्तु विनिमय वजार स्पष्ट नियमन दायराभित्र प्रवेश गर्नुको साथै बजार नियमित, व्यवस्थित विश्वसनीय, स्वच्छ, तथा पारदर्शी भई लगानीकर्तालाई लगानी विविधिकरणको लागि नयाँ क्षेत्र खुल्ने बोर्डको अपेक्षा रहेको छ । साथै कानुनी व्यवस्था भएसँगै व्यवहारिक र कानुनी हिसाबले वस्तु विनिमय बजारको विकासलाई व्यवस्थित र नियमन गर्ने बोर्डलाई मुख्य चुनौतीको रुपमा रहेको छ ।

हेर्नुहोस भिडियोमा

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया