आजबाट ब्याजदर करिडोर लागू


आर्थिकन्यूज
ब्याजदर

काठमाडौं, कार्तिक २९ । नेपाल राष्ट्र बैंकले ब्याजदर कोरिडोर बुधबारदेखि लागू गरेको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार चालू आर्थिक वर्षको मौद्रिक नीतिमा भएको व्यवस्थाअनुसार नेपाल राष्ट्रले बुधबारबाट ब्याजदर करिडोर लागू गरेको जानकारी दिए । बैंकहरुले तरलता अभाव हुन थालेको बताउँदै गर्दा राष्ट्र बैंकले करिडोर शुरु गरेको हो ।

राष्ट्र बैंकले आर्थिक वर्ष शुरु भएको करिब चार महिना ढिला गरी करिडोर कार्यान्वयनमा ल्याएको छ । मौद्रिक नीति र सरकारको वित्त नीतिबीच तालमेल मिलाउन राष्ट्र बैंकले केही समय ढिला गरी करिडोर कार्यान्वयन गर्नु परेको राष्ट्र बैंकले जनाएको छ ।

ब्याजदर करिडोर राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्दा तथा कर्जा दिँदा लिने र दिने ब्याजदरको सीमा हो । यसअघि बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर आफैंले निर्धारण गर्दै आएका थिए अब भने राष्ट्र बैंकले तोकेको निश्चित ब्याजदरमा अन्य बैंकहरुले कारोबार गर्नुपर्ने हुन्छ ।

करिडोरको अवधारणा तत्कालीन गभर्नर डा. युवराज खतिवडाले ल्याएका थिए । केही बैंकले अन्तर बैंक सापटी ४ प्रतिशत पुग्यो भन्दै तरलता अभाव हुन थालेकाले रिपो जारी गर्न राष्ट्र बैंकमा दबाब बनाउन थालेका छन् ।
अहिले बैंक तथा वित्तीय संस्थासँग अनिवार्य तरलता अनुपात (सीआरआर) वापतको रकम १३४ अर्ब रुपैयाँ छ । यसबाहेक १६ अर्ब रुपैयाँ अधिक तरलता छ ।

करिडोरका लागि अन्तर बैंकको तल्लो सीमा ३ प्रतिशत र अधिकतम सीमा पाँच प्रतिशत छ । अहिले बैंकहरुको अन्तर बैंक सापटीदर ४ प्रतिशत हाराहारी छ ।

सरकारले राष्ट्र बैंकमार्फत् ७२ अर्ब रुपैयाँको विकास ऋणपत्र र २७ अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिल गरी कुल ९९ अर्ब ३३ करोड आन्तरिक ऋण उठाइसकेको छ । अहिले ट्रेजरी बिलको दर साढे चार प्रतिशत र अन्य ऋणपत्रको दर साढे ६ प्रतिशत पुगिसकेको छ । त्यसैले तरलता अभाव भए विदेशमा गरिएको अल्पकालीन लगानी फिर्ता बैंकहरुले फिर्ता ल्याउनुपर्ने आशय राष्ट्र बैंकको छ ।

करिडोर लागू गर्नुको उद्देश्य भनेको बजारमा रहेको अधिक तरलताको व्यवस्थापन गर्नु र अल्पकालीन ब्याजदरमा हुने उतारचढाबलाई नियन्त्रण गर्नु नै हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया