सार्क मुलुकबीच आर्थिक सम्बन्धमा जोड


आर्थिकन्यूज

काठमाडौं, कात्तिक २९ । काठमाडौंमा शुरु भएको १० औं दक्षिण एसियाली आर्थिक शिखर सम्मेलनमा एसियाली देशबीच लगानी, व्यापारलगायत अन्तर्देशीय आर्थिक सम्बन्ध स्थापनाका लागि सहकार्य गर्नुपर्नेे विषयलाई प्राथमिकताका साथ उठान गरिएको छ ।

मंंगलबारदेखि शुरू भएको उक्त सम्मेलनमा सार्क मुलुकले क्षेत्रगत विकासका लागि सबै मुलुकले समन्वयात्मक भूमिका खेल्ने र त्यसका लागि आवश्यक पहल गरी दीर्घकालीन कार्ययोजनाका निर्माण गर्ने विषयमा पनि सम्मेलनमा छलफल भएको छ । उक्त सम्मेलनमा बोल्दै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्क मुलुकमा सुमधुर जल, स्थल र हवाई पारवाहन सम्बन्ध हुन नसक्दा तथा ती मुलुकबीच गैरभन्सार अवरोधले आर्थिक सम्बन्धलाई फलदायी बनाउन नसकेको बताए ।

पारवाहन र व्यापार अवरोध प्रमुख बाधक रहेको बताउँदै अर्थमन्त्री कार्कीले दक्षिण एसियाली मुलुकको समावेशी तथा दिगो विकासका निम्ति आर्थिक एकीकरणलाई बलियो बनाउनुपर्ने धारणा राखेका छन् ।

त्यसैगरी भुटानका अर्थमन्त्री लिम्पो दोर्जेले जलविद्युत्का क्षेत्रमा नेपाल र भुटानले सहकार्य गर्नुपर्ने बताए । नेपाल र भुटानको समान रुपमा जलविद्युत्को सम्भावना भएकोले दुवै देशले मिलेर सहकार्य गर्न सकिने उल्लेख गर्दै गैरभन्सारको समस्यालाई पनि निराकरणको पहल गरिनपर्नुे दोर्जेको धारणा छ ।

अन्तर्देशीय लगानी, व्यापार, पारवहन तथा आपसी सम्पर्क सम्बन्धी विषयमा सम्मेलनले क्षेत्रीय साझा धारणासमेत पारित गर्नेछ । त्यस्तै अन्तर्देशीय लगानी तथा व्यापार सम्भाव्यताको खोजी, दक्षिण एसियाली मुलुकमा दिगो विकासका लक्ष्य एवम् समावेशी विकास व्यापार सहजीकरणलगायत विषयलाई महत्वपूर्ण एजेन्डाका रुपमा हेरिएको छ ।

पछिल्लो समय विश्वव्यापी रुपमा महत्वपूर्ण विषयका रुपमा उठेको अन्तर्राष्ट्रिय श्रमिक आप्रवास तथा विप्रेषणबाट सिर्जीत अवसर एवम् चुनौतीको अन्वेषणलाई पनि सम्मेलनमा महत्वका साथ लिइएको छ । सार्क मुलुकमा रहेको प्राकृतिक स्रोतको र सामथ्र्यको सदुपयोगका लागि पहल गर्नुपर्नेमा पनि सहभागिको साझा धारणाका रुपमा देखिएको छ ।

ऊर्जा क्षेत्रको विकासका लागि यस क्षेत्रका मुलुकबीच व्यापार तत्परताको आँकलन, ऊर्जा सहकार्यका मुद्दालाई पनि सम्मेलनमा प्राथमिकतामा राखिएको छ । मौसम परिवर्तनका तथा प्रकोप जोखिम न्यूनीकरणमा क्षेत्रीय सहकार्यका लागि पनि आवश्यक छलफल गरिन लागिएको हो ।

त्यसैगरी विश्व व्यापार संगठनको आगामी ११औं मन्त्रीस्तरीय बैठकमा दक्षिण एसियाली मुलुक समान धारणा राखिनुपर्नेमा पनि सहभागीहरुले जोड दिएका छन । शिखर सम्मेलनमा सार्क राष्ट्रका वाणिज्य मन्त्रीहरु, योजनाविद्हरु, आर्थिक क्षेत्रसँग सम्बन्धित प्रबुद्ध व्यक्तिहरुको समूह संयुक्त राष्ट्रसंघ तथा सार्क पर्यवेक्षक मुलुकका प्रतिनिधिको पनि सहभागिता रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया