रैराङ हाइड्रोपावरको आईपीओ आउने, अनुमतिका लागि पुग्यो बोर्ड


आर्थिकन्यूज
माथिल्लो तामाकोसी

काठमाडौं, कात्तिक २९ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (Rairang Hydropower Development Company Limited) को साधारण शेयर आईपीओ आउने भएको छ । कम्पनीको ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता शेयर निष्कासन हुने भएको हो ।

कम्पनीले शेयर निष्कासनका लागि नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीको शेयर बिक्री तथा निष्काशनका लागि एस क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीको शेयरलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको अवस्था औसतभन्दा तल रहेको संकेत गर्दछ ।

यसअघि आयोजना प्रभावित स्थानीयबासीलाई पाँच लाख ६० हजार कित्ता साधारण शेयर निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ । हाल कम्पनीको जारी पुँजी ५६ करोड रुपैयाँ रहेको छ भने संस्थापक शेयरधनीको स्वामित्व ७५ प्रतिशत रहेको छ । कम्पनीले स्थानीयका लागि जारी गरिएको आईपीओ बाँडफाँडपछि दोस्रो चरणमा १५ प्रतिशत बराबरको ८ लाख ४० हजार कित्ता शेयर कर्मचारी र सर्वसाधारणलाई लागि बिक्री गर्न लागेको हो ।

रैराङले निर्माण गरीरहेको पाँचथर र ताप्लेजुङको सिमा क्षेत्रमा ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजनाबाट आगामी माघसम्ममा विद्युत उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ ।

इवाखोला जलविद्युत आयोजनामा २५ प्रतिशत बराबरको १४ लाख कित्ता सेयर रिडी हाइड्रोपावरको नाममा रहेको छ । रैराङ हाइड्रोपावरले यसअघि धादिङमा ५०० किलोवाट क्षमताको जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विद्युत्त उत्पादन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया