गौचन हत्यामा संलग्न सुटरसहित पाँच सार्वजनिक


आर्थिकन्यूज

काठमाडौं, कात्तिक २८ । गत असोज २३ मा राजधानीको नयाँ बानेश्वरमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न सुटर सहित पाँच जना पक्राउ परेका छन् । हत्यामा संलग्नहरुलाई महानगरीय प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । नुवाकोटका राजीव लामा स्याङतान, पर्साका प्रकाश शिवजी महतो, भारत विहारका मुकेश पाण्डे, चितवनका सन्तोष गुरुङ र नार्गाजुनका प्रकाश बुढाथोकीलाई मंगलबार प्रहरीले सार्वजनिक गरेको हो ।

लामो अनुसन्धानपछि प्रहरीले गौचनको हत्यामा संलग्न सुटरसहित पाँच जनालाई पक्राउ गरेको हो । पत्रकार सम्मेलनमा गौचनको हत्याको लागि बा ३५ प २४६१ नम्बरको चोरीको मोटरसाइकल प्रयोग भएको खुलेको छ । सोही चोरीको मोटरसाइकलको प्रयोग गरि हत्याराहरुले एक महिनादेखि गौचनलाई पछ्याएका थिए ।

प्रहरीको अनुसन्धान अनुसार मुख्य अभियुक्त समिरमान सिंह बस्नेत, मनोज पुन, लोप्साङ, बोका भन्ने गंगा लिङ्देन (लिम्बु), श्याम बहादुर गुम्बे, काले दाइ भन्ने अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापा भने अझै फरार रहेका छन् ।

हत्याको छानबिनका लागि डिआइजी गणेश केसीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया