पश्चिम सेतीको सम्झौता गर्न चिनियाँ आउँदै


आर्थिकन्यूज
पश्चिम सेती

काठमाडौं, कात्तिक २८ । बूढीगण्डकी जलविद्युत् आयोजनाको जिम्मा लिएको चिनियाँ कम्पनी गेजुवाको अनुमतिपत्र खारेज गरेको तीन दिनपछि बुधबार उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउने भएको छ ।

चीनको थ्री गर्जेजको उपाध्यक्षसहितको टोली बुधबार नेपाल काठमाडौं आइपुग्ने छ । उक्त टोलीले नेपालको जलविद्युत् क्षेत्रमा लगानी तथा अन्य विविध विषयमा छलफल गर्ने बताइएको छ ।

ऊर्जा मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार नेपाल विद्युत् प्राधिकरण र चिनियाँ थ्री गर्जेज कम्पनीका प्रतिनिधिबीच ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजनाको संयुक्त लगानी सम्झौतामा हस्ताक्षर गर्ने तयारी समेत भएको बताइन्छ ।

प्राधिकरणका एक अधिकारीले समेत सम्झौता हुन सक्ने विश्वास व्यक्त गरे । ती अधिकारीले भने छलफल अन्तिम चरणमा पुगेको छ ।सरकार र चिनियाँ पक्षबीच भएको समझदारीमा ७५ प्रतिशत चिनियाँ कम्पनी र २५ प्रतिशत प्राधिकरणले लगानी गर्ने उल्लेख छ । उक्त सम्झौता ०६९ भदौमा भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया