२८ वाणिज्य बैंकको त्रैमासिक रिपोर्ट सार्वजानिक, कसको अवस्था कस्तो !


आर्थिकन्यूज
२८ वाणिज्य बैंक

काठमाडौं, कात्तिक २८ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा अधिकांश वाणिज्य बैंकको नाफा वृद्धिदर घटेको छ । नेपालमा सञ्चालित २८ वाणिज्य बैंकको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण हेर्दा धेरैजसो बैंकको नाफा वृद्धिदर घटेको देखिन्छ । समग्रमा पनि बैंकको मुनाफा आर्जन घटेको तथ्यांकले देखाउँछ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा यी बैंकले नौ अर्ब ७३ करोड ६४ लाख नाफा आर्जन गरेकोमा यो वर्ष बैंकको नाफा नौ अर्ब ६६ करोड ९० लाख रुपैयाँमा खुम्चिएको छ । प्रस्तुत तथ्यांक अनुसार गत वर्षको सोही अवधिको तुलनामा नाफा ६ करोड ७४ लाख कमी हो ।

सर्वाधिक नाफा वृद्धि गर्नेमा सिभिल बैंक

पहिलो त्रैमासमा अधिकांश बैंकको मुनाफा वृद्धिदर घटेको अवस्थामा सिभिल बैंकले राम्रो मुनाफा आर्जन गरेको छ । यो अवधिमा बैंकले ११ करोड ३३ लाख रुपैयाँ मुनाफा कमाएको छ । यो नाफा गतवर्षको सोही अवधिको तुलनामा ६७९.१६ प्रतिशतले बढी हो । गतवर्षको पहिलो त्रैमासमा बैंकको नाफा १ करोड ४५ लाख रुपैयाँ थियो । बैंकको ब्याज खर्च भन्दा ब्याज आम्दानीको वृद्धि अनुपात धेरै भएकाले बैंकको खुद व्याज आम्दानी बढेको छ । त्यस्तै खराब कर्जा असुली गरेकाले पनि बैंकको आम्दानीमा बढोत्तरी भएको हो । यो अवधिमा बैंकले ३१ करोड ४५ लाख रुपैयाँ खराब कर्जा असुल गरेको छ ।

तीन अर्ब ८ करोडको पूँजीलाई समिक्षा अवधिमा ५ अर्ब १८ करोड पुर्याएको बैंकले प्रतिशेयर आम्दानी पनि दोब्बरले वृद्धि गरेको छ । गतवर्षको यो अवधिमा एक रुपैयाँ ८९ पैसा प्रतिशेयर आम्दानी रहेको बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४९ पैसा पुगेको छ ।

सबैभन्दा बढी नाफा कमाउनेमा नेपाल बैंक

चालू आवको पहिलो त्रैमासको रिपोर्ट हेर्दा नेपाल बैंकले आफूलाई अब्बल साबित गरेको छ । गत आर्थिक वर्षमा शेयर तथा सम्पत्ती बेचेर १ अर्ब १६ करोड ६० लाख मुनाफा आर्जन गरेको बैंकले यो वर्ष बैंकिङ क्रियाकलापबाट नै राम्रो मुनाफा आर्जन गरेको छ । बैंकले यो अवधिमा ९७ करोड १३ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको तुलनाभन्दा १६ दशमलव ७० प्रतिशतले घटेको हो ।

सरकारी स्वामित्व रहेको यो बैंकको खुद व्याज आम्दानीमा १८ दशमलव ७३ प्रतिशतले बढेर १ अर्ब ३९ करोड ४० लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा ५१ दशमलव ९८ प्रतिशतले बढेर ७२ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।

नबिललाई उछिन्दै इन्भेष्टमेन्ट नीजि क्षेत्र तर्फ अगाडि

अघिल्लो वर्षको यो अवधिमा सबैभन्दा बढी मुनाफा कमाएको नबिल बैंकलाई पछि पार्दै नीजि क्षेत्र तर्फ सबैभन्दा बढी नाफा कमाउनेमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । बैंकले यो अवधिमा ८९ करोड ४९ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष ७४ करोड ८ लाख रुपैयाँ कमाएको थियो । जुन गतववर्षको सोही अवधिको तुलनामा २० दशमलव ८१ प्रतिशत बढी हो । उता गत आवको सो अवधिमा ७९ करोड ८३ लाख नाफा कमाएको नबिल बैंकले यसवर्ष नाफा ६ दशमलव ६४ प्रतिशतले बढाएर ८५ करोड १४ लाख रुपैयाँ पुर्याएको छ ।

मुनाफा घट्ने पहिलो नम्बर सुचीमा मेगा बैंक

मुनाफा घट्नेमा मेगा बैंक पहिलो नम्बरमा परिेको छ । बैंकले २०७४/७५ को पहिलो त्रैमाससम्म आईपुग्दा खुद मुनाफा ८ करोड ११ लाख रुपैयाँ कमाउन सफल भएको छ । जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ४४ दशमलव ७४ प्रतिशतले कमी आएको हो । बैंकले अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा १४ करोड ६९ लाख रुपैयाँ कमाएको थियो । बैंकको प्रतिशेयर आम्दानी वार्षिक १ दशमलव ७७ रुपैयाँमा सिमित भएको छ ।

त्यस्तै सिद्धार्थ बैंकको नाफा पनि ३९ दशमलव ८२ प्रतिशतले घटेको छ । गतवर्षको पहिलो त्रैमासमा ३५ करोड ९६ लाख रुपैयाँ मुनाफा कमाएको बैंकले यसअवधिमा मुनाफा २१ करोड ६४ लाख रुपैयाँमा खुम्चिएको छ ।

यो अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, सेञ्चरी बैंक, एनएमबी बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी बैंक, माछापुच्छे बैंक, एनआईसी एसिया बैंक, सानिमा बैंक र प्राइम बैंकले नाफा बढाएका छन् । तर मेगा बैंक, नेपाल बंगलादेश बैंक, हिमालयन बैंक, नेपाल बैंक, कृषि विकास बैंक, ग्लोबल आईएमई बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, बैंक अफ काठमान्डू लुम्बिनी, सिद्धार्थ बैंक, सनराइज बैंक र कुमारी बैंक लगायतको नाफा घटेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया