चिनियाँ कम्पनीको सम्झौता खारेज गरेकै दिन भारतीय कम्पनीको भने म्याद थप


आर्थिकन्यूज

काठमाडौं, कात्तिक २७ । चिनियाँ कम्पनीसँग बूढीगण्डकी आयोजना अगाडि बढाउने सम्बन्धमा भएको सम्झौता खारेज गरेको सरकारले दुई विवादास्पद भारतीय कम्पनीसँग भएको सम्झौताको म्याद भने थप गरेको छ ।

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक जीएमआरको म्याद ६ महिना थप भएको छ भने अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवद्र्धक सतजल विद्युत् निगमको म्याद ६ महिना थप भएको छ ।

आयोजनास्थलमा कुनै पनि काम नगरेको र निर्माण प्रक्रिया अगाडि बढाउनसमेत आलटाल गर्दै आएको जीएमआरको म्याद लगानी बोर्डको २८औं बैठकले गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको बैठकले जीएमआरको म्याद एक वर्ष थप गरेको हो । लगानी जुुटाउन नसकेको र स्थानीय प्रभावितलाई मुआब्जा वितरणमा समेत चासो नदेखाएको भन्दै जीएमआरको आलोचना हुने गरेको छ । ९ सय मेगावाट क्षमताको आयोजना निर्माणका लागि बोर्ड र भारतीय कम्पनी जीएमआरबीच सन् २०१२ मा आयोजना विकास सम्झौता भएको हो ।

यस्तै निर्माण शुरु हुने क्रममा पुगेको अरुण तेस्रो प्रवद्र्धक सतलज विद्युत् निगमको पनि म्याद ६ महिना थप गरेको छ । सतलजले आयोजनास्थल संखुवासभामा मुआब्जा वितरणको काम सकिसकेको छ भने निर्माणको अन्तिम तयारीमा रहेको छ । तर, चिनियाँ कम्पनीसँग भएको सम्झौता खारेज गरेर दुई भारतीय कम्पनीको म्याद थप गर्नुलाई भने स्वतन्त्र विश्लेषकले राम्रो मानेका छैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया