१८ लघुवित्त कम्पनीको पहिलो त्रैमासिक रिपोर्ट सार्वजानिक, हेरौं कसको मुनाफा कति !


आर्थिकन्यूज

काठमाडौं, कात्तिक २६ । बैंक तथा वित्त कम्पनीहरुले कम्पनीहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक रिपार्ट धमाधम सार्वजानिक गरिरहेका छन् । वित्तीय विवरण सार्वजानिक गरेका १८ लघुवित्त कम्पनीमध्ये गत आवको सोही अवधिको तुलनामा नौ कम्पनीको मुनाफा बढेको छ । त्यस्तै बाँकी नौ कम्पनीको मुनाफामा भने गिरावट आएको छ ।

कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणका आधारमा हेर्दा यस्तो देखिन्छ अवस्था !

वित्तीय विवरण अनुसार सबैभन्दा पहिले वित्तीय विवरण सार्वजानिक गरेको फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक नै फस्र्ट भएको छ । ४५ करोड ६२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा दुई करोड ४१ लाख ३० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिमा एक करोड ५० लाख ३९ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । जुन गत वर्षको सोही अवधिको तुलनामा ६० प्रतिशतले बढी हो । कम्पनीले प्रति शेयर आम्दानी २१ रुपैयाँ १५ पैसा कायम गरेको छ ।

त्यस्तै जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकले पनि गत वर्षको तुलनामा मुनाफा ५२ दशमलव ०८ प्रतिशतले बढाएको छ । चालु आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमासमा कम्पनीले ३७ लाख रुपैयाँ खुद मुनाफा कमाएको । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले २४ लाख रुपैयाँ मुनाफा कमाएको थियो । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ५१ दशमलव ६७ रुपैयाँ रहेको छ ।

५ करोड ७३ लाख रुपैयाँ चुक्ता पुँजी भएको मिथिला लघुवित्त विकास बैंकले यो अवधिमा खुद मुनाफा ४९ दशमलव १९ प्रतिशतले बढोत्तरी गरेको छ । गतवर्षको सो अवधिमा ९ लाख रुपैयाँ मुनाफा कमाएको कम्पनीले चालू आवको पहिलो तीन महिनाको अवधिमा १४ लाख रुपैयाँ कमाएको छ ।

त्यस्तै रुलर माइक्रोफाइनान्स, आरएसडिसी लघुवित्त वित्तीय संस्था, वोमी माइक्रोफाइनान्स, फरवार्ड माइक्रोफाइनान्स, नेसनल माइक्रोफाइनान्स र नेपाल सेवा लघुवित्तले यो अवधिमा मुनाफा कमाएका छन् ।

त्यस्तै विवरण सार्वजानिक गरेका १८ कम्पनी मध्ये समता माइक्रोफाइनान्सको मुनाफा उच्च अंकले घटेको छ । कम्पनीले गत आवको तुलनामा ५७ दशमलव ०२ प्रतिशतले कमी अर्थात २२ लाख रुपैयाँ मात्रै मुनाफा कमाएको छ । जबकि गत आवको सोही अवधिमा कम्पनीको मुनाफा ५२ लाख थियो ।

त्यस्तै स्वदेशी लघुवित्त वित्तीय संस्थाको मुनाफामा पनि ५१ दशमलव १ प्रतिशतले कमी आएको छ । मुनाफा घटाउने अन्य कम्पनीमा सूर्योदय लघुवित्त, रिलायबल माइक्रोफाइनान्स, निर्धन उत्थान, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, लक्ष्मी लघुवित्त, विजया लघुवित्त र इन्फिनीटि माइक्रोफाइनान्स रहेका छन् । यद्यपी गत आवको तुलनामा मुनाफा घटाएको निर्धन उत्थानले भने यो अवधिमा सबैभन्दा बढी कमाएको छ । कम्पनीले यो अवधिमा १२ करोड ५५ लाख मुनाफा कमाएको छ । यो गतवर्षको तुलनामा २० दशमलव ०९ प्रतिशतले कमी हो । गतवर्षको सो अवधिमा कम्पनीले १५ करोड ७० लाख मुनाफा आर्जन गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया