श्रीमतीको सम्पत्तिमा चुनाव लड्दै पोखरेल र महत


आर्थिकन्यूज
डडेल्धुरामा निर्वाचित प्रतिनिधिद्वारा नै तालाबन्दी

काठमाडौं कात्तिक २६ । प्रतिनिधिसभा र प्रदेसभाको निर्वाचनको मिति आउन करिब दुई साता बाँकी छ । नेपाली जनताले आफ्नो मतद्वारा आगामी पाँच वर्षका लागि आफ्ना नेता छान्न गइरहेका छन् ।

यसै क्रममा काठमाडौँ क्षेत्र नं ५ को चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ । सो निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेल र नेपाली कांग्रेसका नेता डा. प्रकाशरण महत चुनावी मैदानमा छन् ।

पोखरेल र महत दुवैको सम्पत्तिको मोटामोटी हिसाब गर्दा उस्तै–उस्तै देखिन्छ । तर, रमाइलो के छ भने दुवैको सम्पत्ति आफ्नो नाममा भने छैन । दुवैले श्रीमतीको नाममा मात्रै सम्पत्ति रहेको भन्दै प्रचार गराउने गरेका छन् । २०४६ सालपछि राजनीतिमा उदाएका पोखरेलले तत्कालीन कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सहयोगीको रुपमा काम गरे । हाल उनी एमालेका महासचिव छन् ।

तत्कालीन राजा ज्ञानेन्द्रले ‘कु’ गरेपछि पानी ट्यांकीमा पैसा लुकाएको तत्कालीन शाही आयोगले विवरण सार्वजनिक गरेको थियो । उनकी श्रीमती मिरा धुजु पूर्वसांसद समेत हुन् । उनको बसुन्धारामा तीन तले घर रहेको छ । हालको मूल्यअनुसार उक्त घरको मूल्य मात्रै चार करोडभन्दा बढी पर्ने बताइन्छ ।

यस्तै मनमोहन अस्पतालदेखि विभिन्न बैंक तथा वित्तीय संस्थामा समेत पोखरेलको शेयर छ । महासचिव पोखरेल दुईपटक मन्त्री भए । उनले भने आफ्नो नाममा कुनै पनि सम्पत्ति नरहेको र सबै श्रीमती मिराको माइतीले दाइजोमा दिएको बताउने गरेका छन् ।

दुईपटक कांग्रेसका नेता नरहरि आचार्यसँग पराजित भएका महासचिव पोखरेल यसपटक पनि सोही क्षेत्रबाट निर्वाचनमा वामगठन्धनको उम्मेदवार छन् ।

पछिल्लो १० वर्षमा कुनै पनि सार्वजनिक पदमा भने नरहेका पोखरेल डा. बाबुराम भट्टराई नेतृत्वको सरकारको उपप्रधानमन्त्रीमा नियुक्त भएका थिए । तर, १३ दिनमा नै राजीनामा गरेर निस्किए ।

उता नुवाकोटको सामान्य आर्थिक अवस्थाबाट राजधानी छिरेका नेपाली कांग्रेसका नेता एवम् पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महत काठमाडौं चोभारस्थित फुफूको घरमा बसेर अध्ययन गरेका थिए ।

ऊर्जामन्त्री, परराष्ट्रमन्त्री समेत भइसकेका डा. प्रकाशशरण महतको ३० तोला सुन, १२ सय तोला चाँदीलाई ‘विवाहबाट प्राप्त भएको’ भनी लेखेका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको परराष्ट्रमन्त्री रहेका डा. महतले केही बैंक तथा वित्तीय संस्थामा शेयर रहेको समेत प्रधानमन्त्री कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा उल्लेख गरेका थिए ।

महतले झापा तोपगाछी–५ मा रहेको ५ बिघा ४ कट्ठा जमिनसमेत श्रीमतीको ‘माइतीबाट प्राप्त भएको’ उक्त विवरणमा उल्लेख गरेका छन् ।

काठमाडौंमा रहेको घरसमेत उनले श्रीमती बिना महतको नाममा रहेको पछिल्लोपटक पेस गरेको सम्पत्ति विवरणमा उल्लेख छ । यसअघि सधै समानुपातिक निर्वाचन प्रणालीमार्फत सांसद भएका डा. महत यसपटक भने काठमाडौँ क्षेत्र नं ५ बाट चुनावी प्रतिस्पर्धामा छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया