मलेसियामा कामदार आयातमा नेपाल दोस्रो


आर्थिकन्यूज

काठमाडौं, कार्तिक २५ । नेपाली कामदार मलेसियाका लागि दोस्रो ठूलो श्रमिक आयात गर्ने स्रोत मुलुक भएको त्यहा सार्वजनिक तथ्यांकले देखाएको छ ।मलेसियामा सार्वजनिक गरिएको एक तथ्यांकमा ३ लाख ८५ हजार ३ सय २० जना नेपाली कामदार वैधानिक रुपमा काम गरिरहेको देखिएको छ । इण्डोनेसिया ७ लाख ७ हजार १ सय ८१ जनासहित विदेशी कामदार आपूर्ति गर्ने श्रोत मुलुकमा पहिलो स्थानमा छ ।

करिब ५ लाखभन्दा बढी नेपालीहरु कार्यरत रहेको अनुमान गरिएको मलेसियामा अझै कयौं हजार नेपाली कामदार अवैध रुपमा कार्यरत रहेका छन् । मलेसियाका उत्पादन, निर्माण, सेवा र कृषि लगायत क्षेत्रमा नेपालीहरु कार्यरत छन् । यीमध्ये धेरैजसो उत्पादन निर्माण र सेवा क्षेत्रमा काम गर्छन् ।

केही अघिल्ला वर्षसम्म मलेसियालाई कामदार दिने संख्याका आधारमा बंगलादेश दोश्रो स्थानमा थियो भने नेपाल तेश्रो स्थानमा । मलेसियाका उप मानव संशाधनमन्त्री ईस्माइल अब्दुल मुत्तालिबले बुधबार त्यहाँको प्रतिनिधि सभामा उक्त तथ्यांक सार्वजनिक गरेका थिए ।

मलेसियालाई नेपालसहित विभिन्न १३ मुलुकले दक्ष, अर्धदक्ष र अदक्ष गरी विभिन्न श्रेणीका कामदार पठाउँदै आएका छन् । तथ्यांकअनुसार त्यहाँका विभिन्न रोजगारीका क्षेत्रमा वैधरुपमा १७ लाख ३२ हजार ९ सय ४४ जना विदेशी कामदार कार्यरत रहेका छन् । मलेसियामा २ लाख २२ हजार आठसय ६८ बंगलादेशी, १ लाख २१ हजार ५० बर्मेली, १ लाख १३ हजार ६ सय २८ भारतीय, ५८ हजार ९ सय ५७ पाकिस्तानी र ५५ हजार १ सय २० जना फिलीपिनो कामदारहरु वैध रुपमा कार्यरत रहेको बताइएको छ ।

त्यस्तै, २६ हजार ३ सय ८७ भियतनामी, १७ हजार ५ सय १६ चिनियाँ, १४ हजार ६ सय ५० थाईल्याण्ड, ५ हजार ६ सय १३ श्रीलंकाली, ४ हजार ६ सय २१ कम्बोडियाली, ३३ जना लाओसका नागरिक रहेको बताइएको छ ।मध्यान्हबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया