म्याच फिक्सिङ अनुसन्धानमा योगदान पुर्‍याएको भन्दै नेपाल प्रहरीलाई सम्मान


काठमाडौं, असोज २७ । एशियन फुटबल कन्फेडेरेसन (एएफसी) ले महानगरीय अपराध अनुसन्धान महाशाखालाई फुटबल म्याच फिक्सिङको अनुसन्धानमा योगदान पुर्याएको भन्दै सम्मान गरेको छ ।

शुक्रबार मलेसियाको क्वालालम्पुरमा आयोजित एक समारोहमा म्याच फिक्सिङ अनुसन्धानको नेतृत्व गरेका महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख डिआईजी सर्वेन्द्र खनाल र डिएसपी सुदीपराज पाठकलाई एएफसीका महासचवि डाडो विन्डसोरजोनले सम्मान गरेका हुन् । कार्यक्रममा नेपाल प्रहरीलाई धन्यवाद दिँदै महासचिव विन्डसोरजोनले नेपाल प्रहरीसँगको सहकार्य र प्राप्त नतिजाले एशियाली फुटबल जगतलाई अनुशासित राख्ने काम भएको छ भन्दै प्रशंसा पनि गरे । उनले आगमी दिनमा यस्तै सहयोगको अपेक्षा पनि गरेका छन् ।

नेपाल सरकारले म्याच फिक्सिङको कार्यलाई अपराधको सूचिमा पारेकोप्रति उनले खुशी व्यक्त गरे । ‘यो खेल जगतलाई नै एउटा पाठ सिकाउने महत्पपूर्ण कदम हो। यसबाट अन्य मुलुकपनि प्रेरीत हुनेछन् मैले आशा राखेको छुु’, महासचिव जोनले भने ।

म्याच फिक्सिङमा संलग्न खेलाडीले खेलेको खेलको नतिजा, उनीहरूको सम्पर्कमा रहेका विदेशी नागरिक र उनीहरूको पृष्ठभूमि, खेलाडीको आर्थिक गतिविधि र आम्दानीको स्रोत तथा उनीहरूको नाममा विदेशबाट आएको रकमको विवरण पत्ता लगाउँदै नेपाल प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। अनुसन्धान पुष्टि भएपछि एएफसीले उनीहरुमाथि आजीवन प्रतिबन्ध लगाएको थियो ।

म्याचफिक्सिङमा संलग्न भएको पाइएपछि एएफसीले २०७२ असोजमा चार नेपाली खेलाडी र एक सहायक प्रशिक्षकलाई आजीवन प्रतिबन्ध लगाएको थियो । तत्कालीन नेपाली फुटबल टोलीका स्टार खेलाडीहरु सागर थापा, विकास क्षेत्री, सन्दीप राई, रितेश थापा तथा सहायक प्रशिक्षक अन्जन केसीलाई प्रहरीले पक्राउ गरेको थियो ।

नेपाल प्रहरी, एएफसीले साझेदारी स्पोर्टट्रेडर तथा युनियन अफ युरोपियन फुटबल एशोसिएशन (युईएफए) ले एक वर्षसम्म म्याच फिक्सिङबारे अनुसन्धान गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया