‘बाटो खर्च दिएर सबै सांसदहरुलाई बिदाई’


काठमाडौं, असोज २७ । सभामुख ओनसरी घर्तीले शनिबार दिउँसो संसदको अन्तिम तथा विशेष बैठक बोलाएकी छिन् । रुपान्तरित संसदको आयू भोलिदेखि सकिने भएकोले भोली हुने बैठक विशेष हुने बताइएको छ । भोलीको बैठकमा शीर्ष नेता र सभामुख बोल्ने कार्यक्रम रहेको छ ।

सभामुख घर्तीले रुपान्तरिक संसदका सांसदलाई विदाइ गर्ने विषयमा प्रमुख सचेतकहरुसँग छलफल पनि गरेकी छिन । सभामुखले शनिबार दिउँसो २ बजे सांसदहरुसँग सामूहिक तस्वीर खिचाउने पनि कार्यक्रम छ । त्यसलगत्तै ३ बजे बस्ने संसदको अन्तिम बैठकलाई शीर्ष नेताहरुसँगै सभामुखले पनि सम्बोधन गर्नेछिन् ।

भोलीको अन्तिम बैठकसँगै संसद सचिवालयले सांसदहरुलाई बाटो खर्च दिएर बिदाइ गर्ने बताएको छ । यसको लागि सचिवालयले तयारी समेत गरिरहेको छ । सांसदहरुलाई घरसम्म पुग्ने बाटो खर्च दिएर बिदाइ गर्ने तयारी भइरहेको संसद सचिवालयले जनाएको छ । संसद सचिवालय स्रोतका अनुसार सांसदलाई काठमाडौंबाट घरसम्म पुग्न लाग्ने यातायात र खाना, खाजा खर्चबापतको रकम दिने तयारी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया