मैलुङ खोला जलविद्युतको ७ करोड रुपैयाँ बढीको साधारण शेयर आउँदै


काठमाडौं, असोज २७ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड (Mailung Khola Jal Vidhyut Co. Ltd) ले सर्वसाधारण लगानीकर्ताका लागि शेयर निष्कासन गर्ने भएको छ । आयोजना प्रभावित स्थानीय बासीका लागि शेयर निष्कासन गरी बाँढफाँड समेत गरिसकेको कम्पनीले आम सर्वसाधारणका लागि शेयर जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा सात करोड ३६ लाख २६ हजार ६०० रुपैयाँको सात लाख ३६ हजार २८६ कित्ता शेयर जारी गर्न लागेको हो । धितोपत्र बोर्डबाट कम्पनीलाई शेयर जारी गर्ने अनुमति दिएपछि कम्पनीले शेयर निष्कासन गर्नेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

मैलुङ खोला जलविद्युत कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित रसुवाका स्थानीय बासिन्दाका लागि १० प्रतिशत तीन करोड ६८ लाख १४ हजार चार सय रुपैयाँको ३ लाख ६८ हजार १४३ कित्ता शेयर निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ ।

कम्पनीले रसुवाको मैलुङ खोलामा पाँच मेगावाटको जलविद्युत् आयोजना निर्माण गरेको छ । आयोजनाले २०७१ सालदेखि व्यावसायिक उत्पादन सुरु गरे पनि ‘गोरखा भूकम्प’का कारण क्षति पुगेपछि उत्पादन रोकिएको थियो । पुनःमर्मत सम्भार गरेर कम्पनीले अघिल्लो भदौदेखि पुनःउत्पादन सुरु गरिसकेको छ ।

कम्पनीको चुक्ता पुँजी रु ३६ करोड ८१ लाख ४३ हजार छ । त्यसमा प्रवद्र्धकको ७० प्रतिशत हिस्सा छ । बाँकी १० प्रतिशत प्रभावित क्षेत्रका बासिन्दालाई र २० प्रतिशत सर्वसाधारण प्रदान गर्न लागिएको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया