‘तिहारलगत्तै ब्रोकरमार्फत मार्जिन टेडिङ्ग सेवा’

काठमाडौं, असोज २६ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले तिहारलगत्तै ब्रोकरमार्फत् मार्जिन टेडिङ्ग सेवा शुरु गर्ने तयारीको अन्तिम चरणमा बोर्ड रहेको जानकारी दिएका छन् । विश्व लगानीकर्ता सप्ताह तथा बोर्डको रजत जयन्ती वर्षको अवसरमा बोर्ड परिसरमा भएको लगानीकर्ता प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले लगानीकर्ताको हित संरक्षणलाई सधै पहिलो प्राथमिकतामा राख्दै बजार विकास तथा सुधारका कार्यका लागि बोर्ड कार्यरत रहेको बताए ।

कूल ७५ जनाको सहभागिता रहेको कार्यक्रममा बोर्डका निर्देशक डा.नवराज अधिकारीले धितोपत्रमा लगानीसम्बन्धी आधारभूत जानकारी र बजार सुधार तथा विकाससम्बन्धी पहल तथा भावी कार्यक्रम विषयमा प्रस्तुतीकरण दिई धितोपत्र बजारसम्बन्धी विविध जानकारी तथा यसमा निहित जोखिमका विषयमा उपस्थित सबैलाई प्रशिक्षित गर्दै विवेकशील लगानीकर्ता कसरी हुने भन्ने सम्बन्धमा जानकारी दिएका थिए ।

कार्यक्रममा अतिथिको रुपमा उपस्थित विभिन्न लगानीकर्ता संघका अध्यक्षहरु उत्तम अर्याल र नवराज सुवेदीले विश्व लगानीकर्ता सप्ताहलाई बोर्डले नेपालमा पनि मनाई लगानीकर्तालाई विशेष ध्यान दिएको तथा यस प्रकारका कार्यक्रमलाई बोर्डले देशभर संचालन गर्नुपर्नेमा विशेष जोड दिए । कार्यक्रममा लगानीकर्ता संघका अध्यक्षहरु, पदाधिकारीहरु तथा सर्वसाधारण लगानीकर्ताहरुले आफूले भोग्नुपरेको समस्याको जानकारी बोर्डलाई दिदै दोस्रो बजारमा अनलाइन ट्रेडिङको शुरुवात तत्काल गरिनुपर्ने, वाणिज्य बैंकले ब्रोकरको लाइसेन्स पाउनुपर्ने, दोस्रो बजारमा एक वर्षभन्दा लामो अवधि शेयर होल्ड गरी बिक्री गर्दा क्यापिटल गेन ट्याक्स लाग्न नहुने, धितोपत्र कारोवार गर्दा लाग्ने ब्रोकर कमिसन अझै घटाउनुपर्ने, ब्रोकरमार्फत मार्जिन टेडिङ्गको व्यवस्था हुनुपने जस्ता विषय उठाएका थिए ।

कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक परिष्ट नाथ पौड्यालले रजत जयन्ती वर्षको उपलक्षमा बोर्डले देशका विकट जिल्ला सहित विभिन्न स्थानहरुमा कम्तिमा २५ लगानीकर्ता प्रशिक्षण तथा सचेतना कार्यक्रम यही वर्ष गर्ने जानकारी दिदै स्मार्ट इन्भेष्टमेन्टसम्बन्धमा जानकारी दिएक थिए ।

बोर्डले यस अघि वि.सं. २०६५ साल यता नेपाल उद्योग वाणिज्य महासंघ, स्थानीय क्याम्पस तथा विद्यालय र अन्य विभिन्न संघ संस्थासँगको सहकार्यमा ६३ जिल्लामा ११० भन्दा बढी कार्यक्रममार्फत् १३ हजारभन्दा बढी लगानीकर्तालाई प्रशिक्षित गर्ने कार्य गरिसकेको भएपनि विश्व लगानीकर्ता सप्ताहको उपलक्ष्यमा पहिलोपटक आयोजित यस प्रकारको कार्यक्रम विशेष रहेको छ ।

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया