काठका टुक्रामा कला, सीप र मेहनत कुँदेर मनग्यै आम्दानी

काठमाडौं, असोज २६ । सीप र मेहनत भयो भने रोजगारीको लागि न त विदेशिनु पर्छ, न त जागिरको लागि अरुको ढोका नै ढक्ढक्याउनु पर्छ, यसको दरिलो उदाहरण हुन् केशवप्रसाद पुडासैनी । काठमाडौं तारकेश्वर नगरपालिका वडा नम्बर ३ जितपुरफेदीका पुडासैनी बिगत ६ वर्षदेखि फालिएका काठको टुक्रामा आफ्नो कला, सीप र मेहनत कुँदेर मनग्यै आम्दानीमात्रै गरेका छैनन् अरुका निम्ति प्रेरणाको स्रोत पनि बनेका छन् ।

५३ वर्षीय पुडासैनीले खटिया, सुरो, धुप राख्ने स्ट्यान्ड, खराउ, दाबिलो जस्ता दर्जनौं काठका सामग्रीहरु हातैले बनाउँदै आएका छन् । उनले बनाएका सामग्रीहरु विशेष गरेर धार्मिक कार्यका निम्ति प्रयोगमा आउने भएकाले त्यसप्रति आस्था भएका मानिसले खरिद गर्ने गरेका छन् ।

काष्ठकला व्यवसायी केशव प्रसाद पुडासैनी

२३ वर्ष सरकारी सेवा गरेका पुडासैनीले अवकासपछिको जीवनलाई क्रियाशील र उपयोगी बनाउनका निम्ति केही काम गर्ने सोच बनाएका थिए । त्यसैक्रममा उनको मन काष्ठकलाप्रति आकर्षित भयो अहिले त्यसैप्रति समर्पित भएका छन् । उक्त कामका निम्ति उनले कसैबाट तालिम लिएर कामको थालनी गरेका होइनन् । अरुले गरेको काम हेरेर थिए । पुडासैनी भन्छन्–‘रुची भएपछि देखेरै पनि काम गर्न सकिँदो रहेछ । फरक भनेको शुरु–शुरुमा काम गर्दा राम्रो फिनिसिङ हुँदैनथ्यो, समय र खर्च बढी लाग्थ्यो तर लगाव बढ्दै गएपछि काममा निखारपन आउँदो रहेछ ।’

उनले बनाउने सामग्रीहरु विभिन्न गुणस्तरका रहेका छन् । ग्राहकको रोजाइ अनुसार फरक–फरक मूल्यका वस्तु उनले उपलब्ध गराउँदै आएका छन् । काठको गुणस्तरले मूल्यलाई फरक पर्ने उनी बताउँछन् । सामग्रीहरु निर्माण गर्न उनी प्रायः फर्निचरमा फालिएका काठका टुक्राहरुको प्रयोग गर्दछन् । तर, कतिपय सामग्रीको लागि राम्रै काठको आवश्यकता पर्ने हुँदा उनी त्यसको पनि जोह गर्छन् । यदी ग्राहकसँग काठ छ भने आफ्नो ज्यालामात्रै लिएर अर्डर बमोजिमको सामग्री निर्माण पुडासैनीले गरिदिने गरेका छन् ।

पुडासैनी सामग्रीमात्रै बनाउँदैन् आफूले बनाएका सामग्रीको बजारीकरण गर्न पनि आफैं दौडन्छन् । ‘शुरु–शुरुमा त बजारमा आफूले बनाएका सामग्रीको महत्व नै बुझ्दैनथे महत्वबारे प्रकाश पारेपछि बिस्तारै अर्डरहरु बढ्दै गयो । ’–पुडासैनी भन्छन् । हाल उनले उत्पादन गरेका सामग्रीहरु राजधानीको प्रायः सबै पूजा सामग्री पाइने पसलमा उपलब्ध छन् । उनका ग्राहकहरु धर्मकर्ममा आस्था भएका मानिस रहेको कारणले पूजा पसलमा उनी सामग्रीहरु पुर्याउँछन् ।

काम गर्दै पुडासैनी

उनले यस कामबाट मासिक करिब ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्छन् । कृषि पेशामा समेत आबद्ध उनले बचेको समय यस कार्यमा लगाउँदा थप आम्दानी भएको हो यो । परिवारको साथ सहयोगले काममा सफलता प्राप्त गर्दै आएका पडासैनी अब आफ्नो कला, सीप र मेहनतलाई थप व्यावसायिक बनाउन चाहान्छन् ।

कारखानामा काम गर्दै पुडासैनी

सरकारीस्तरबाट केही तालिमको व्यवस्था र बजारीकरणमा सहयोग भए आफ्नो काष्ठ कलालाई अझै परिस्कृत, समय सापेक्ष बनाउँदै लैजाने उनको योजना छ । तारकेश्वर जितपुरफेदीमा रहेको आफ्नै घर तथा लैनचौरस्थित पसलमा बसेर काम गर्दै आएका अबआधुनिक मेसिन राखेर आफ्नो उत्पादनहरु बढाउने सोचमा रहेका छन् । तर, त्यसका निम्ति प्रक्रिया नबझ्दा अन्योलमा छन् ।

यज्ञ होम गर्दा चारु होम गर्न प्रयोग गरिने सुरो

आफूले बनाएका उत्पादन नितान्तै अलग रहेकाले बजारमा माग बढ्दै गइरहेको उनको भनाइ छ । तर, कतिपयले आफूले यहाँ बनाएको सामानलाई भारतबाट मगाएको भनेर आफ्नै अगाडि ग्राहकलाई ढाट्दा भने मन खिन्न हुने बताउछन् ।

अहिले सम्पर्कका आधारमा सामग्री बनाउँदै आएको भए पनि मागलाई धान्नको लागि आफ्नो उत्पादन बढाउन उनी लागिपरेका हुन् । उनले निर्माण गर्ने पुस्तक बाचन गर्दा राख्ने खटिया ‘बुक स्ट्यान्ड’ को बजारमूल्य २ हजारदेखि ३ हजार रुपैयाँ पर्छ । त्यस्तै यज्ञ होम गर्दा अग्नीमा चारु होम गर्न प्रयोग गरिने सुरोको २ सय ५० देखि ५ सय रुपैयाँ, सानो खराउको २ सय देखि ५ सय रुपैयाँमा पसलमा बिक्री गर्दै आएका छन् पसलले भने आफू अनुकूल नाफा राखेर बिक्री गर्छन् ।

पूजा गर्ने खराउ

खेती किसानीबाट बचेको समय काष्ठकलामा लगाउँदै आएका पुडासैनी आफूसँग लगाव र सीप र मेहनत गर्न सक्ने भए स्वदेशमा नै केही गर्न सकिन्छ । विदेशमा कमाइने पैसा स्वदेशमै कम मेहतनले कमाउन सकिने धारणा राख्छन् ।

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया