एनआरएनए महाधिवेशनः उम्मेदवार बन्न कति दर्ता शुल्क ?

काठमाडौं, असोज २३ । आसन्न गैरआवासीय नेपाली संघको आठौं महाधिवेशनको अध्यक्ष पदको लागी तीन जनाको उम्मेदवारी परेको छ । अध्यक्षको उम्मेदवारको रुपमा जापानमा आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्दै आएका भवन भट्ट, कतारका निर्माण व्यवसायी टिबी (टेकबहादुर) कार्की तथा वर्तमान् अध्यक्ष शेष घलेकी श्रीमती जमुना घलेले पनि दाबेदारी प्रस्तुत गरेकी छिन् ।

टिबी कार्की

कतारमा ‘द बेच जनरल सर्भिस’ निर्माण कम्पनी सञ्चालन गरिरहेका टिबी कार्कीले पनि यसपटक अध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गरेका छन् । कार्कीको कम्पनीमा कयौं नेपाली कामदारहरु कार्यरत रहेका छन् ।

भवन भट्ट

जापानमा २० वर्षदेखि बस्दै आएका भवन भट्टको पनि अध्यक्ष पदमा उम्मेदवारी परेको छ । जापानमा उनको २ सय ९० वटा रेष्टुरेन्टहरु सञ्चालनमा रहेका छन् ।

जमुना घले

जमुना घले वर्तमान् अध्यक्ष शेष घलेका श्रीमती हुन् । उनी अष्ट्रलियाको आठौं धनी महिलाको सूचीमा पर्न सफल भएकी छिन् । उच्च शिक्षाको लागि सन् १९९१ मा अष्ट्रलिया पुगेकी उनी उतै बिभिन्न व्यवसाय सञ्चालन गर्दै आइरहेकी छिन् ।

त्यस्तै, उपाध्यक्षतर्फ जर्मनीमा रेष्टुरेन्ट व्यवसायी सञ्चालन गर्दै आएका कुमार पन्त, महिला उपाध्यक्षमा सपिला राजभण्डारी र पुष्प थापा छन् भने कूल आचार्य र चिरन्जीवी थापा पनि उपाध्यक्षका आकांक्षी देखिएका छन् ।

महासचिव पदमा रसियालाई कर्मथलो बनाएका डा. बद्री केसी, हङकङ र मकाउमा व्यवसाय गर्दै आएका त्रिलोक गुरुङ, बेल्जियममा होटल व्यवसाय सञ्चालन गर्दै आएका अर्जुन कुमार श्रेष्ठले पनि उम्मेद्वारी दिएका छन् ।

असोज २८ देखि ३१ गतेसम्म राजधानीमा हुने अन्तराष्ट्रिय सम्मेलनका लागि विश्वका ७७ देशमा रहेका शाखा महाधिवेशन प्रतिनिधिहरु काठमाडौंमा आएका छन् । करिव २५ सयभन्दा बढी प्रतिनिधीहरुको सहभागीता रहने सम्मेलनले नयाँ कार्यसमिति चयन गर्नेछ । सम्मेलनमा सहभागीहुनेहरुले दर्ता शुल्क पनि तिर्नुपर्छ । त्यसको लागि संघले दर्ताशुल्क पनि तोकेको छ ।

अध्यक्षमा उम्मेदवारी दिनेले ४५ सय अ‍ेमेरिकी डलर तिर्नुपर्छ । त्यस्तै, उपाध्यक्ष तथा महासचिवका उम्मेलदवारले ३७ सय ५०, सचिव तथा कोषध्यक्षले ३ हजार, सहकोषध्यक्षले २६ सय २५, महिला, युवा तथा क्षेत्रीय संयोजकले २२ सय ५०, क्षेत्रीय उप संयोजकले १५ सय, महिला तथा युवा क्षेत्रीय उपसंयोजकले १ हजार र आईसीसी सदस्यले १ हजार अमेरिकी डलर तिर्नुपर्ने अनिवार्य व्यवस्था संघले गरेको छ ।

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया