नेपालको शेयर बजारमा असुरक्षित लगानी


नेपालको शेयर

माधब थापा,

शेयर लगानीकर्ताले लगानी गर्दा गरिने विश्लेषण र लगानी गर्ने शैलीलाई नियाल्ने हो अनौठो देखिन्छ । त्यस्तै कम्पनीको मूल्यमा हुने उतार चढाब प्रक्रिया र लगानीकर्ताले सोच्ने शैलीलाई विश्लेषण गर्दा एकदमै फरक पाइन्छ । विश्वका कयौं लगानीकर्ता जो पुँजी बजारको लगानी र त्यसबाट उनीहरुले पाएको सफलताका कारण आज विश्वमा उनीहरु परिचित छन् ।

उनीहरूले धनाढ्यको स्थान पनि पाइरहेका छन्, त्यस्ता व्यक्तिको जीवनीबाट कयौं नेपालका शेयर लगानीकर्ता पनि उत्प्रेरित भएको पाइन्छ, यो राम्रो पक्ष हो । तर, ती व्यक्तिले पाएको सफलतालाई सामान्य विश्लेषणको आधारमा मात्र बुझेको पाइन्छ । यो भने राम्रो पक्ष पक्कै पनि होइन ।

हिजोआज हरेक पुँजी बजार तालिम केन्द्र तथा बजारलाई विश्लेषण गर्ने विश्लेषकले बजारलाई विश्लेषण गर्ने क्रममा वारेन बफेट जस्ता कयौं व्यक्तिको सफलतालाई उदाहरणको रुपमा दिने गरिन्छ, त्यो उदाहरण सत्य र साँचो कुरा हो । तर, वारेन बफेट जस्ता कयौं व्यक्तिलाई सफलता मिल्दै गर्दा वास्तविक सफलताको लागि के–के कुरामा रणनीति आपनाउनु परेको थियो । त्यो कुराको वास्तविक विश्लेषण गरेको भने पाइदैन । त्यसका निम्ति केही टिप्सहरू यस्ता छन् ।

देशीय विश्लेषण गर्दा हेर्नुपर्ने कुरा :– देशको अर्थतन्त्र, आर्थिक नीति, पुँजी बजारसँग जोडिएका विविध नीति नियम, राजनीतिक परिवेश, देशभित्र रहेका जनताको पहुँचमा रहेको आधुनिक प्रविधि, शिक्षित वर्ग र पुँजी बजारमा लगानी गरिरहेका व्यक्तिको संख्या । कालान्तरसम्म पुँजी बजारमा लगानी गर्न सक्ने सम्भावना भएका व्यक्तिको संख्याको अनुमान ।
व्यक्तिगत विश्लेषण गर्दा हेर्नुपर्ने कुरा :– व्यक्तिको बजारप्रतिको वास्तविक बुझाइ र मनोभावना, लगानी गर्न सक्ने पुँजी, जोखिम बहन गर्न सक्ने क्षमता, कम्पनीहरुको छनोट प्रक्रिया, लगानी गर्दा बजारको अवस्था, लगानीपछि प्रतिफलको समय, बजार उतारचढाब गर्दै गर्दा लगानी अघि नै उसले लिएको निर्णयको अठोट, पुँजीको राम्रो व्यवस्थापन, प्रतिफलपछिको लगानीशैली र कम्पनीको छनोट, बजार उतारचढाब गर्दा सहनु परेको घाटा त्यसले निम्त्याएको मनोबैज्ञानिक असर, बजारप्रति धैर्यताको दृष्टि तथा देशीय विश्लेषणको रुपमा माथि उल्लेखित बिषयलाई हेरेर उसले अपनाएका रणनीति ।

उल्लेखित कुरालाई शेयर लगानीकर्ताले बजारको विश्लेषण गर्दा मध्यनजर गरेको पाइदैन । यदी कुनै पनि व्यक्तिले पाएको सफलता हेर्दै गर्दा यस्ता कुरालाई आफू र आफ्नो लगानीशैली तथा बजारको परिवेशको मध्यनजर विश्लेषण गर्न सकिँदैन भने ती व्यक्तिको अनुशरण गर्न पनि व्यर्थ हुन जान्छ ।

सुरक्षित र नाफा मुलक लगानी के हो ?

प्रायः शेयर लगानीकर्तालाई ‘सुरक्षित र नाफामुलक लगानी के हो ?’ भनि सोध्यांै भने सजिलै जवाफ पाउन सक्छौ–‘बजार कुनै बेला घटे पनि एक दिन अवश्य बढ्ने हो । कुर्न सके फाइदा हुन्छ, यति धेरै व्यक्तिको लगानी कम्पनीहरुमा रहेको छ कम्पनी डुब्ने भन्ने कुरा पनि आउँदैन ।’

कतिपय अवस्थामा यो कुरा सही पनि हो । तर, सत्य र यथार्थ भने होइन । यदि कुनै पनि कम्पनीमा लगानी गर्दा कम्पनीको प्राथमिक शेयरमा लगानी गरेको हुन्छ भने फाइदा हुने सम्भावना त बढी नै होला । तर, कति समयमा कति प्रतिफल तथा कम्पनी सुरक्षित नै छ भन्ने कसरी ? यस्ता कुरामा लगानीकर्ताको अझै पनि ध्यान जान सकेको देखिँदैन ।

त्यसैगरी बिना झन्झट शेयर खरिद गर्न सकिने कारणले अहिले शेयर खरिदका लागि लगानीकर्ताले मन पराएको बजार हो दोस्रो बजार, दोस्रो बजारमा लगानी गर्ने कयौं लगानीकर्ताहरु हजारपतिबाट करोडपति र करोडपतिबाट रोडपति भई बजारबाट नै बिस्थापित हुनु परेका उदाहरण धेरै छन्, कारण हो बजारप्रतिको असामान्य सकारात्मक सोच, लगानीकर्ताहरुको यस्तो असामान्य सकारात्मक सोचकै कारण एक दिन पछुताउने दिन नआउला भन्न सकिँदैन, किनकी अहिले बजारमा लगानीकर्ताले छनोट गरेका कम्पनीलाई हेर्ने हो भने जुन कम्पनीको मूल्यमा धेरै उतार चढाब हुने गर्छ, त्यस्ता कम्पनीहरु छनोटमा परेको देखिन्छ । वास्तबमा यसरी छनोट भएका कम्पनीहरु सबै लगानीकर्ताका लागि नाफामुलक बन्न सक्दैनन् । किनकी जुन कम्पनीको शेयरको मूल्यमा धेरै उतार चढाब हुने गर्छ, त्यो कम्पनीको शेयरमा प्रतिफल र घाटाको अनुपात पनि धेरै हुन्छ । त्यसैले सामान्य लगानीकर्ता जसले सानो रकम बजारमा लगाउन चाहन्छ त्यो लगानीकर्ताका लागि त्यस्तो कम्पनीको शेयरमा लगानी गर्दा कसरी सुरक्षित र नाफामुलक हुन सक्छ ? अब कुरा त्यहि आउँछ । एक दिन त त्यो कम्पनीको शेयरको मूल्य बढ्छ, एक दिन बढ्छ भन्दैमा कहिलेसम्म बढ्ने ? शेयर मूल्यमा गिरावट आउँदा कतिसम्म घाटा सहनु पर्छ ? आफूले लगानी गरेको पुँजीको प्रतिफलको अपेक्षा कहिले सम्म ? कम्पनीको मूल्यमा भएको वास्तबिक उतार चढाबका कारणहरु के–के थिए ? आफूले लगानी गरेको पुँजी अल्पकालीनरूपमा आफूलाई कति आवश्यक पुँजी हो ? यदी मूल्यमा अत्याधिक गिरावट देखियो भने आफूलाई मनोबैज्ञानिक असर कस्तो पर्ला ? लगानीकर्ताहरुले यस्ता यावत कुराको लेखाजोखा गरी दोस्रो बजारमा लगानी गरेको एकदमै कम पाइन्छ ।

सामान्यतया एउटा लगानीकर्ता जसले एकदमै थोरै पुँजी बजारमा लगाउन चाहन्छ, उसको कम्पनी छनोट र अलिकति ठूलो पुँजी लगानीकर्ताको कम्पनी छनोट लगभग मिल्दो जुल्दो छ कारण के ? यसको उत्तर प्रस्ट छ, एकदमै छोटो समयमा प्रतिफल चाहानु । धेरै उतार चढाब गर्ने कम्पनीको शेयरले मात्र फाइदा दिने सोच राख्नु गलत कुरा हो, किनकी धेरै उतार चढाब गर्ने कम्पनीको शेयर बजार मूल्य पनि धेरै पर्छ, थोरै उतार चढाब गर्ने कम्पनीको शेयर बजार मूल्य पनि थोरै नै हुन्छ । जसले गर्दा थोरै बजार मूल्य भएका कम्पनीको शेयर धेरै खरिद गर्न सकिने अवस्था रहन्छ, बजार मूल्य धेरै पर्ने कम्पनीको शेयर इकाईले दिने प्रतिफल र कम बजार मूल्य भएका कम्पनीको शेयर इकाईले दिने प्रतिफल अनुपातमा उस्तै हुन आउँछ । यसरी लगानी गर्दा कम्पनीको वित्तीय अवस्थालाई ध्यान दिन भने छुटाउनु हँुदैन । र लगानी गर्दा प्रतिफलको लागि थोरै समय बढी लाग्न सक्ला । तर, सबैभन्दा ठूलो फाइदा भनेको भावी दिनमा घाटाको अनुपात एकदमै कम हुन्छ, फाइदाको अनुपात बढी हुन्छ । जसले गर्दा लगानी सुरक्षित, दीर्घकालीन, नाफामुलक हुन्छ र लगानी माथि पछुताउने दिन तथा बजारबाट नै विस्थापित हुनुपर्ने दिन आउँदैन ।

(थापा हिमालय टेलिभिजनबाट प्रशारण हुने ‘बजार गुरु’ टीभी कार्यक्रमका कार्यक्रम सञ्चालक हुन् )

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया