NMB Bank Saral Bachat Khata

सेजनका नव निर्वाचित पदाधिकारीलाई बोर्डको बधाई तथा शुभकामना

काठमाडौं, भदौ २८ । नेपाल धितोपत्र बोर्डले नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नव निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना प्रदान गरेको छ । सेजनका अध्यक्ष पूष्पराज आचार्य, उपाध्यक्ष प्रभात भट्टराई, कोषाध्यक्ष भागवत भट्टराई तथा सदस्यहरु एलिजा उप्रेती, हिमाल पौडेल, सागर घिमिरे र शिव बोहोराको उपस्थिति रहेको उक्त कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले सम्पूर्ण सहभागीलाई स्वागत गरेका हुन् ।

सेजनका नवनियुक्त अध्यक्ष पुष्प राज आचार्यले हालका दिनमा धितोपत्र बजार विकास गर्न बोर्डले दोस्रो बजारमा पूर्ण अभौतिक धितोपत्रको कारोवार अनिवार्य गर्ने, वास्तविक क्षेत्रका कम्पनीलाई बजारमा भित्र्याउन धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ ल्याउने, प्राथमिक बजारमा संरचनात्मक सुधार गरी आस्वा प्रणालीमार्फत् देशभर प्राथमिक बजारको पहुँच पुयाउने, बोर्ड सदस्य तथा कर्मचारीका लागि आचार संहिता लागु गर्ने, धितोपत्र बाँडफाँड प्रणालीलाई पुनरावलोकन गर्ने लगायतका विभिन्न सुधारात्मक कार्य गरेको उल्लेख गर्दै आर्थिक पत्रकारको क्षमता विकास तथा अन्य विभिन्न कार्यक्रम सेवोन र सेजनको सहकार्यमा हुनुपर्ने कुरा औल्याए ।

कार्यक्रममा बोर्ड अध्यक्ष डा. रेवत बहादुर कार्कीले सेजनका नवनियुक्त पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना ज्ञापन गरे । उनले पत्र पत्रिकामा प्रकाशित समाचारको प्रभाव धितोपत्र बजारमा पर्ने हुनाले यसको गाम्भिर्यतालाई मध्यनजर गरी व्यवसायिक तवरले समाचार प्रकाशन गनुपर्ने कुरामा जोड दिए ।

धितोपत्र बजारमा संस्थागत सुशासनको महत्व दर्शाउँदै डा. कार्कीले सेवोनले बोर्ड सदस्य तथा कर्मचारीका लागि आचार संहिता लागू गरी सुशासनमा सुधार ल्याउने कार्यमा जोड दिएको र अब सूचिकृत संगठित संस्थाको संस्थागत सुशासन अभिबृद्धि गरी स्वच्छ, प्रभावकारी तथा पारदर्शी धितोपत्र बजार विकास गर्न सूचिकृत संगठित संस्थाका लागि चाडै नै आचार संहिता लागू गरिने बताए । साथै, बोर्ड अध्यक्ष डा. कार्कीले वर्तमान नेतृत्व धितोपत्र बजार तथा यसको नियमनका सम्बन्धमा उपयुक्त पद्धति स्थापित गर्न प्रयासरत रहेकाले यसमा देशका आर्थिक पत्रकारहरुसँगको सहकार्य एवं सहयोग महत्वपूर्ण हुने धारणा व्यक्त गरे ।

कार्यकारी निर्देशक परिष्टनाथ पौड्यालले सम्पूर्ण सहभागीलाई धन्यवाद ज्ञापन गर्दै नेपालमा वित्तीय साक्षरता कमी भएको हुनाले साना साना सूचनाले पनि धितोपत्र बजारमा प्रभाव पार्न सक्ने कुरालाई मध्यनजर गर्दै सत्य तथ्य विवरण लगानीकर्तामा प्रवाहित गर्न आर्थिक पत्रकारले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया