बजार निरन्तर ओरालोमा


काठमाडौं, साउन २९ । नेप्से परिसूचक घट्ने क्रमले आइतबार पनि निरन्तरता पाएको छ । गत बुधबार ६ दशमलव २२ अंकले ओरालो लागेको नेप्से परिसुचक विहिबार ८ दशमलव १९ अंकले घटेको थियो । आइतबार कारोबारमा आएका आठ समूह मध्ये छ समूहले साथ छोडेपछि समग्र बजार घटेको हो । आज परिसुचकमा ११ दशमलव ४० अंकको घटेर १ हजार ६ सय ४२ दशमलव १३ को बिन्दुमा कारोबार बन्द भएको छ ।

परिसुचक घटेसँगै कारोबार रकम पनि घटेको छ । गत साताको अन्तिम कारोबार विहिबार करिब ९३ करोडको कारोबार भएको बजारमा आज १६० कम्पनीको ८० करोड १८ लाख ३२ हजार १६ रुपैयाँको शेयर किनबेच भएको छ । जसमध्ये नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको ६ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै नेपाल लाईफ इन्स्योरेन्सको ४ करोड १३ लाखमाथि र स्ट्याण्र्ड चाटर्ड बैंकको ३ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

यसरी बजारमा करेक्सन आउदा दुई समूहका परिसुचकमा भने सामन्य अंकको हरियाली छाएको छ । उत्पादन तथा प्रशोधन समूहमा १६ दशमलव २९ अंकको वृद्धि भएको छ भने फाइनान्स समूह ८ दशमलव ५४ अंकले बढेको छ ।
त्यस्तै आइतबार समूहगत रुपमा सर्वाधिक गुमाउनेमा बीमा समूहका लागानीकर्ताहरु रहेका छन् । यो समूह १०४ दशमलव ३७ अंकले घटेको छ । त्यस्तै होटल समूह ५४ दशमलव ५८ अंकले, जलविद्युत समूह २१ दशमलव ८२ अंकले, विकास बैंक समूह १८ दशमलव ५१ अंकले, बैंकिङ समूह ९ दशमलव १६ अंकले र अन्य समूह शुन्य दशमलव ८६ अंकले घटेका छन् ।

आज सर्वाधिक कमाउनेमा महालक्ष्मी विकास बैंकका लगानीकर्ता रहेका छन् । यसदिन यो कम्पनीको शेयर मूल्य ९ दशमलव ५९ अंकले बढेको छ । आइतबारको कारोबारमा सबैभन्दा बढी गुमाउनेमा ललितपुर फाइनान्सका लगानीकर्ता रहेका छन् । यो कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ४४ अंकले घटेर ३४४ दशमलव ५९ अंकमा आइपुगेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया