नेपालको शेयर बजार : संभावना नै संभावनाको पुञ्ज


नेपालको शेयर बजार

चन्द्रा कार्की,

धेरैले नेपाली पुँजी बजारलाई अनिश्चय र अन्यौलताले भरिएको बजारका रुपमा व्याख्या गरेका छन् । कतिपयले त सिमित व्यक्तिहरुको इशारामा चलेको बजार पनि भन्ने गरेका छन् । तर, सकारात्मक भएर हेर्ने हो भने नेपाली शेयर बजारलाई संभावनाको पुञ्ज भन्दा पनि फरक पर्दैन । किनकि राम्ररी पोर्टफोलियो मिलाउने र वित्तीय अवस्था सबल भएका कम्पनी हेरेर लगानी गर्ने लगानीकर्तालाई यो बजारले निश्चय नै निराश बनाउँदैन । लगानी गर्ने भन्दैमा अन्धाधुन्ध गरिएको लगानीले भने नेपालमा मात्र होइन कहीं पनि राम्रो रिजल्ट दिंदैन।

आईपीओ, एफपीओको बाढीका लाभहरु

हाम्रो देशमा शेयरमा लगानी गर्ने प्रवृति दिनप्रतिदिन बढ्दो क्रममा छ । राज्यले पनि पुँजी बजारमा बढी भन्दा बढी मानिसले लगानी गरुन् भन्ने इच्छा राखेको देखिन्छ । बैंक तथा वित्तीय सँस्थाहरुले पनि आम मानिसलाई लगानीका लागि सहजीकरण गर्ने प्रतिष्पर्धा नै गरिरहेको देखिन्छ ।

यो हिसाबले हेर्ने हो भने शेयर बजारका नवप्रवेशीका लागि प्राथमिक शेयर निकै राम्रो र सुरक्षित ‘इन्ट्री’ साबित हुन्छ   । यो किनपनि सही निर्णय ठहर्ने पक्का छ भने पछिल्लो व्यवस्था अनुसार अब प्राथमिक शेयर (आइपीओ) भर्ने प्रत्येकलाई कम्तिमा दश कित्ता शेयर छुट्याउनै पर्ने हुन्छ । त्यसैले पनि भर्खर पुँजी बजार छिर्न खोज्नेमात्रै नभई बजारका खेलाडी पनि प्राथमिक शेयरमा आकर्षित हुन्छन् ।

यस्तैमा अबको केही महिनाभित्रैमा २१ कम्पनीको आईपीओ तथा एफपीओ आउने भएको छ । जसमध्ये ५ कम्पनीले फर्दर पब्लिक अफरिङ (एफपीओ) र १६ कम्पनीले आईपीओ जारी गर्दैछन् । राज्यले नै विकासको प्रमुख आधारको रुपमा परिभाषित गरेको जलविद्युत परियोजनाहरु पछिल्लो समय लगानीको लागि निकै आकर्षक क्षेत्रका रुपमा लिइंदै आएको छ ।

हाल १५ कम्पनी सूचीकृत रहेको यो क्षेत्रमा केही कम्पनी साधारण शेयर निष्काशन गरी सूचीकृतको क्रममा रहेका छन्, भने अझै १३ कम्पनी साधारण शेयर निष्काशनको अनुमतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् । त्यस्तै, तीन लघुवित्त कम्पनी- सपोर्ट, उन्ननी र सामुदायिक लघुवित्तले पनि आईपीओ जारी गर्दैछन् ।

नयाँ बीमा कम्पनी : शुरु लगानीको राम्रो अवसर

बीमा कम्पनीको शेयरमा लगानीकर्ताको निकै आकर्षण देखिन्छ । दीर्घकालिन रुपमा लगानी गर्ने भन्दा पनि छोटो समयमा शेयर खरिद बिक्री गरी कमाई गर्ने सोच बीमा कम्पनीका लगानीकर्ताहरुमा देखिन्छ । त्यसैले  दोश्रो बजारमा लगानीकर्ताको रोजाईमा पर्ने गर्दछन् , बीमा कम्पनीहरु ।

दोश्रो बजारमा अधिकांश बीमा कम्पनीको शेयर २ हजारमाथि रहेको अवस्थामा १० वटा नयाँ बीमा कम्पनीले बीमा समितिबाट सञ्चालनको अनुमति पाएका छन् ।

बीमा समितिले दिएको समय अनुसार दशैंपछि यी दश बीमा कम्पनी सञ्चालनमा आउनेछन् । अबको दुई वर्षभित्रमा अथवा आगामी आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेपछि यी नयाँ बीमा कम्पनीले शेयर जारी प्रक्रिया अगाडी बढाउन सक्नेछन् । त्यो बेला लगानीकर्ताहरुले ६ अर्ब मूल्य बराबरको साधारण शेयरका लागि आवेदन दिने अवसर पाउनेछन् ।

लाभांश सुरक्षित गर्ने मौका  

दोश्रो बजारमा छिर्ने मौका पर्खेर बसेका लगानीकर्ताका लागि पनि अहिले राम्रो अवसर बन्न सक्छ । आर्थिक वर्ष २०७३/७४ को समाप्तिसँगै कम्पनीहरुले धमाधम वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् ।

अहिले दोस्रो बजारमै पनि मूल्य आम्दानी अनुपात २५ गुणा भन्दा कम रहेका, प्रतिशेयर आम्दानी राम्रो भएका, विगतमा राम्रो प्रतिफल दिँदै आएका कतिपय कम्पनीको शेयर बजार मूल्य तुलनात्मक रुपमा सस्तो छ ।  जुन लगानीका लागि राम्रो अवसरको रूपमा लिन सकिन्छ ।  त्यसमा पनि शेयर बजारमा ‘क’ वर्गका वाणिज्य बैंकले दिने प्रतिफलमा सबैको ध्यान जाने गरेको छ ।

लगानीको मुख्य उदेश्य प्रतिफल नै हो । वित्तीय अवस्था सबल रहेका र राम्रो लाभांश दिनसक्ने कम्पनी छनौट गरेर गरिएको लगानीबाट अवश्य पनि राम्रै प्रतिफल लिन सकिन्छ ।

सिकारुका लागि म्यचुअल फण्ड

शेयरमा लगानी गर्ने दक्षता नभएकाहरुका लागि भने म्यचुअल फण्डको प्रति एकाइ खरिद गर्नु अर्को राम्रो विकल्प हुनसक्छ । शेयर बजारबारे राम्रो जानकारी नभएका र भर्खर बजार पस्न खोज्नेहरुका लागि म्यचुअल फण्ड निकै राम्रो मानिन्छ ।

विभिन्न ६ वटा म्युचुअल फन्डहरुले ६ अर्ब १० करोड रुपैयाँ बराबरको शेयर जारी गर्ने भएका छन् । यी कम्पनीहरुले शेयर निष्काशन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

शेयर निष्काशनका लागि आवेदन माग गर्ने कम्पनीमा सिद्धार्थ बैंकको सहायक कम्पनी सिद्धार्थ इक्विटी फन्ड, ग्लोबल आईएमई बैंकको ग्लोबल आईएमई ब्यालेन्स फन्ड १, सानिमा इक्विटी फन्ड, सिटिजन्स म्युचुअल फन्ड १, एनआईसी एसिया ग्रोथ फन्ड, एनआईबीएल सहभागिता फन्ड रहेका छन् ।

यसरी अनगिन्ति सम्भावना र सिमित चुनौती रहेको नेपाली पुँजी बजारमा थोरै ध्यान दिने र लगानीगर्न लागेको कम्पनी बारे सामान्य अध्ययन गरेर लगानी गर्ने हो भने राम्रै प्रतिफल प्राप्त गर्न सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया