केहि कम्पनीको शेयर मूल्यमा अस्वभाविक वृद्धि, के गर्दैछ धितोपत्र बोर्ड ?

इशारा कोइराला


धितोपत्र

काठमाडौं, साउन २५ । नेपाली शेयर बजारमा पछिल्लो समय केहि कम्पनीहरुको शेयर मूल्य अस्वभाविक रुपमा बढेको छ । यसरी अस्वभाविक रुपमा शेयर मूल्य बढ्ने कम्पनीमा फरर्वाड् कम्युनिटी माईक्रोफाइनान्स वित्तीय संस्था, हिमालयन डिस्टिलरी लिमिटेड, नेसनल माईक्रोफाइनान्स लिमिटेडलगायतका कम्पनीहरु रहेका छन् ।

यी कम्पनीहरुको शेयर मूल्य पछिल्लो एक महिनालाई हेर्ने हो भने १२ सयदेखि २२ सय रुपैयाँसम्म बढेको देखिन्छ । यसरी शेयर मूल्य अस्वभाविक रुपमा बढेकोप्रति नेपाल धितोपत्र बोर्डको गम्भिर ध्यानाकर्षण भएको बोर्डले जनाएको छ । यसबारे प्रतिक्रिया दिंदै बोर्डका प्रवक्ता निरज गिरीले भने, ‘हामीले अन्तरिक रुपमा छानविन गरिरहेका छौं, यसमा इन्साइर्डर सूचनाको आधारमा शेयर मूल्य बढाईएको रहेछ भने धितोपत्र ऐनअनुसारको कारबाही हुन्छ ।’ यदि माग र आपूर्तिका कारण कुनै कम्पनीको शेयर मूल्य बढेको हो भने त्यसलाई स्वभाविक लिनुपर्ने उनको तर्क छ ।

यता लगानीकर्ताहरुले भने यसरी छोटो समयमा कम्पनीहरुको शेयर मूल्यमा अस्वभाविक वृद्धि हुँदा पनि नियमक निकाय मौन बसेको आरोप लगाएका छन् । यो आरोप किनपनि सही देखिन्छ भने उल्लेखित तीन वटै कम्पनीको त्यो तहमा शेयर मूल्य बढ्नुपर्ने कुनै कारण देखिंदैन । यसको अर्थ त्यहाँ भित्र आन्तरिक सूचना चुहावट या सामान्य लगानीकर्ता डुबाउने उदेश्यले आन्तरिक किनबेच केहि हुनसक्ने सम्भावना बढी रहेको लगानीकर्ताले आरोप लगाएका छन् ।

नेसनल माईक्रोफाइनान्स लिमिटेडको शेयर मूल्य असार २८ गते प्रतिकित्ता १५ सय ७१ मा कारोबार भएकोमा त्यो मूल्य एकमहिनाको अवधिमा २२ सय ८४ रुपैयाँले बढेर साउन २३ गतेसम्म आइपुग्दा ३८ सय ५५ रुपैयाँ पुगेको छ । त्यस्तै, फरर्वाड् कम्युनिटी माईक्रोफाइनान्स वित्तीय संस्थाको शेयर असार २६ गते २५ सय ८६ रुपैयाँमा कारोबार भएको थियो भने साउन २३ गतेसम्म आइपुग्दा यो मूल्य १३ सय ८४ रुपैयाँले बढेर ३९ सय ७० रुपैयाँ पुगेको छ । सो अवधिमा हिमालयन डिस्टिलरी लिमिटेडको शेयर मूल्य१२ सय २५ रुपैयाँले बढेर दुई हजार ३५ रुपैयाँ पुगेको छ ।असार १३ गते ८ सय १० रुपैयाँमा प्रतिकित्ताकारोबार भएको थियो ।

उता छिमेकी मुलुक बंगलादेशमा भने बंगलादेश  सेक्युरिटि एण्ड एक्चेन्ज कमिसनले पाँच कम्पनीको शेयर मूल्य अस्वभाविक रुपमा बढेकोभन्दै छानबिन समितिको गठन गरेको छ । कमिसनले सोमबार तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

उक्त समितिलाई कमिसनले ३० दिन भित्र किन शेयर मूल्यमा अस्वभाविक वृद्धि किनभएको हो, त्यसको सत्य तथ्य विवरण बाहिर ल्याउन निर्देशन दिएको छ । ती कम्पनीहरुको मूल्य बढ्नुपर्ने कुनै तथ्यपरक कारण देखिएको छैन तर, ती कम्पनीहरुको शेयर मूल्य विगत डेढ महिनायता एक्कासी बढेपछि छानविन गर्न समिति गठन गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया