NMB Bank Saral Bachat Khata

आधा दर्जन लघुवित्त कम्पनीमध्ये कसको मुनाफा कति ?

लघुवित्त

चन्द्रा कार्की,

काठमाडौं, साउन १२ । लघुवित्त कम्पनीमा लगानीकर्ताको निकै आकर्षण देखिने गर्छ । हालसम्म सात लघुवित्त वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेका छन् । आज हामीले यी लघुवित्त कम्पनीको पछिल्लो अवस्था केलाउने प्रयत्न गरेका छौं ।

नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था

नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था (National Microfiance Bittiya Sanstha Limited) ले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा ७ करोड २१ लाख रुपैयाँ खुद मु्नाफा आर्जन गरेको छ, जुन गत वर्षको तुलनाभन्दा ७६ दशमलव ५० प्रतिशतले वृद्धि भएको हो । अघिल्लो गत वर्षको सोही अवधिमा ४ करोड ८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

१० करोड रुपैयाँ चुक्ता पुँजी भएको नेसनल माइक्रोफाइनान्सले जगेडा कोषमा १२ करोड २ लाख रुपैयाँ राखिएको छ । कम्पनीको पुँजी कोषको अनुपात १३ दशमलव ६८ प्रतिशत रहेको छ भने निष्कृय कर्जा शून्य दशमलव ४७ प्रतिशत रहेको छ । जसको प्रतिशेयर आम्दानी वार्षिक ७२ दशमलव ११ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २३ दशमलव ७७ गुणा, प्रतिशेयर नेटवर्थ २२० दशमलव २४ रुपैयाँ र तरलता अनुपात १८ दशमलव ३० प्रतिशत रहेको छ ।

स्वदेशी लघुवित्त वित्तीय संस्था

बुधबार (साउन ११) मात्रै नेप्सेमा शेयर कारोबार खुलेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड (Swadeshi Laghubitta Bittiya Sanstha Limited) ले गत आवको चौथो त्रैमासमा खुद मुनाफा ५३ दशमलव ३३ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो आवमा १ करोड ५५ लाख मुनाफा कमाएको कम्पनीले गत आवमा २ करोड ३९ लाख रुपैयाँ कमाएको छ ।

१० करोड रुपैयाँ चुक्ता पुँजी भएको स्वदेशीले जगेडा कोषमा २ करोड ८५ लाख रुपैयाँ छुटाएको छ । निक्षेपमा १६६.४० प्रतिशतले वृद्धि गरी ३४ करोड ११ लाख रुपैयाँ संकलन गरेको कम्पनीले १ अर्ब ३९ करोड ३३ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३२.४८ रुपैयाँ रहेको छ ।

वोमी माइक्रोफाइनान्स वित्तीय संस्था

वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (Womi Microfinance Bittiya Sanstha Limited) ले गत आवको चौथो त्रैमासमा खुद मुनाफा २ करोड १० लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनाभन्दा २३ दशमलव ५२ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोहि अवधिमा वोमीले मुनाफा १ करोड ७७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

चुक्ता पुँजी ६ करोड ४८ लाख रुपैयाँ भएको वोमीले जगेडा कोषमा ३ करोड ९४ लाख रुपैयाँ राखेको छ । सो अवधिमा कम्पनीले २५ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरी ६५ करोड ८६ लाख रुपैयाँ लगानी गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ३२ दशमलव ४१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ६१ दशमलव शून्य ६ गुणा, तरलता अनुपात २२ दशमलव ३४ गुणा र प्रतिशेयर नेटवर्थ १ सय ६० दशमलव ९१ रुपैयाँ रहेको ।

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था (NMB Microfiance Bittiya Sanstha Limited) ले अघिल्लो आर्थिक वर्षको तुलतामा गत आवमा मुनाफा ५१.९९ प्रतिशतले वृद्धि गरेको छ । गत आवमा ४ करोड ५३ लाख रुपैयाँ कमाएको अघिल्लो वर्षको सोही अवधिमा मुनाफा २ करोड ९८ लाख रुपैयाँ कमाएको थियो ।

११ करोड २७ लाख रुपैयाँ चुक्ता पुँजी भएको एनएमबि माइक्रोफाइनान्सले जगेडा कोषमा १० करोड ५८ लाख रपैयाँ राखेको छ । जगेड कोष बढ्दै जानु भनेको नै कम्पनी अझै सबल र सक्षम हुनु हो । एनएमबि माइक्रोफाइनान्सको निष्कृय कर्जा शून्य दशमलव ९८ प्रतिशत रहेको छ भने पुँजीकोषको अनुपात १२ दशमलव १९ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी वार्षिक ४० दशमलव २८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक ७० दशमलव ६६ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ९३ दशमलव ९५ रुपैयाँ र तरलता अनुपात १५ दशमलव ३७ प्रतिशत रहेको छ ।

लक्ष्मी लघुवित्त वित्तीय संस्था

लक्ष्मी लघुवित्त वित्तीय संस्था (Laxmi Laghubitta Bittiya Sanstha Limited) ले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा खुद मुनाफा ७२ दशमलव ५८ प्रतिशतले वृद्धि गरी १० करोड ७१ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थाले जम्मा ६ करोड २४ लाख रुपैयाँ मुनाफा गरेको थियो ।

२२ करोड रुपैयाँ चुक्ता पुँजी भएको लक्ष्मी लघुवित्तले जगेडा कोषमा १६ करोड ९५ लाख रुपैयाँ राखेको छ भने निक्षेप ६६ दशमलव ४९ प्रतिशतले वृद्धि गरी ६६ करोड १२ लाख रुपैयाँ संकलन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ३९ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

कम्पनीको निष्कृय कर्जा शून्य दशमलव ५० प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति १७ दशमलव शून्य ७ प्रतिशत रहेको छ । जसको प्रतिशेयर आम्दानी वार्षिक ४८ दशमलव ६९ रुपैयाँ रहेको छ । मूल्य आम्दानीको अनुपात ३८ दशमलव २२ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ७७ दशमलव ०८ रुपैयाँ र तरलता अनुपात १४ दशमलव ४९ प्रतिशत रहेको छ ।

फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक

फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक (First Micro Finance Development Bank Limited) ले गत आर्थिक वर्ष को चौथो त्रैमासमा खुद मुनाफा ८ करोड २ लाख रुपैयाँ कमाउन सफल भएको छ जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनाभन्दा ४७ दशमलव १९ प्रतिशतले वृद्धि गरेको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिमा ५ करोड ४५ लाख रुपैयाँ कमाएको थियो ।

कम्पनीको ३९ करोड ५५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ भने, जगेडा कोषमा १२ करोड २५ लाख रुपैयाँ छुटाएको छ । माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी २० दशमलव २९ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ५२ दशलमव ८५ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३० दशमलव ९८ रुपैयाँ र तरलता अनुपात १० दशमल ७० प्रतिशत रहेको छ ।

मेरो माइक्रोफाइनान्स वित्तीय संस्था

मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (Mero Microfinance Bittiya Sanstha Limited) ले गत आवको चौथो त्रैमासमा खुद मुनाफा ९ करोड २८ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको २२ दशमलव ७५ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा मुनाफा ७ करोड ५६ लाख रुपैयाँ कमाएको थियो ।

सो अवधिमा कम्पनीले निक्षेपमा १०२.०२ प्रतिशतले वृद्धि गरी ४९ करोड ९५ लाख रुपैयाँ संकलन गरेको छ भने २ अर्ब ४० करोडभन्दा माथि कर्जा लगानी गरेको देखिन्छ । २२ करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडा कोषमा १६ करोड ९७ लाख रुपैयाँ राखेको छ । कम्पनीको निष्कृय कर्जा शून्य दशमलव ९८ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ४२ दशमलव १९ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १७७ दशमलव १४ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ५२ दशमलव २४ गुणा र तरलता अनुपात ६ दशमलव ६९ प्रतिशत गरेको छ ।

 

United Cement

फेसबुकबाट तपाईको प्रतिक्रिया