विनोद चौधरी भन्छन् – खै सरकारले हामीलाई सुनेको ?


हामी वर्षमा साधारणसभा जस्ता कार्यक्रम गरेर हाम्रा कुरा सरकारसँग राख्न सक्छौं, कमसेकम महिनामा एकपटक एक घण्टा सरकारसँग बसेर हाम्रा कुरा, हाम्रा योजना, सपना, आकांक्षा सबै राख्न पाउनुपर्छ । सरकारले डिनर, लन्च, ब्रेकफास्टमा बोलाएर निजी क्षेत्रका कुरा सुन्नुपर्छ । सरकारका कुरा, मन्त्रीका कुरा हामीले दिनहुँ पत्रपत्रिका, अनलाइन, रेडियो टेलिभिजनमा सुन्छौ । तर, खैँ सरकारले हामीलाई सुनेको ? निजी क्षेत्रलाई सुनेको ?

Eco Roofing

२०४८ सालको राजनीतिक परिवर्तनपछि नेपाल अभूतपूर्व गतिमा अगाडि बढेको थियो । त्यसपछि निर्यात र राजस्व संकलन दोब्बर भएको थियो । त्यही बेलामा भारतसँगका पुराना गतिरोध हटे । फलस्वरुप नेपालमा भारतीय बहुराष्ट्रिय कम्पनी डावर, युनिलिभरका उद्योग स्थापना भए । यसका निम्ति सरकार र निजी क्षेत्रको दरिलो हातेमालो रहेको थियो । त्यो समयमा मैले एफएनसीसीआईको अध्यक्षको भूमिका निभाउने मौका पाएको थिँए ।

कसरी सरकार अगाडि बढिरहेको थियो, कसरी विश्वले त्यो बेलाको सरकारलाई हेरेको थियो । भन्ने विषयमा त्यस बेला निजी क्षेत्रको प्रत्यक्षदर्शी म थिँए । तर, एक डेढ वर्ष नबित्दै राजनीतिले अर्को बाटो लियो । त्यसपछि निरन्तर राजनीतिक उथलपुथल भयो । फलस्वरुप २६ वर्षमा २५ वटा सरकार परिर्वतन भएको हामीले हेर्न पायौं । त्यसका बाबजुत पनि नेपाली जनताको विकासप्रतिको चाहाना, विभिन्न निकाय तथा राष्ट्रको नेपालप्रतिको समर्थनले फेरि प्रशस्तै सकरात्मक संकेत अहिले देखिएका छन् । पुनः कताकत २०४८ सालको परिस्थितिजस्तै भएको महशुस गरेका छौं ।

अहिले नेपाल विश्वको तीव्र अर्थिक विकास गर्ने राष्ट्रहरुको सूचीमा परेको छ । विकासका कुरा गर्ने हो भने निर्वाचन भए सबै प्रमुख पक्ष हुन्छन् । राजनीतिक दलका नेताले म यो गर्छु, यो क्षेत्रमा यस्तो गर्छु भनेको सुनिन्छ । अब हुने प्रान्त र केन्द्रको चुनावले निजी क्षेत्रलाई झनै उत्साहित बनाउने हामीले महशुुस गरेका छौं । यो विकासप्रतिको सकरात्मक जोशलाई उपयोग गर्ने वातावरण सिर्जना गरियो भने देशले विकासको गति लिनसक्ने थियो ।

(उद्योगपति विनोद चौधरीले नेपाल उद्योग परिसंघको १४औं वार्षिक साधारणसभामा व्यक्त गरेका विचारको सम्पादित अंश)

फेसबुकबाट तपाईको प्रतिक्रिया