तेलको भाउ १० महीनाकै न्यूनबाट माथि


जापान, असार ९ । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ १० महीनाकै न्यून विन्दुबाट माथि उक्लिएको छ । अघिल्लो दिनको कारोबारमा गत वर्षको अगस्तयताकै न्यून विन्दुमा झरेको कच्चा तेलको भाउमा बिहीवार भने सुधार आएको हो । अमेरिकाको कच्चा तेल र पेट्रोल सञ्चितिमा कमी आएको समाचारले उक्त दिन तेल बजारले केही टेवा पाएको हो । यद्यपि, पछिल्ला तीन वर्षयता विश्वबजारमा देखा परेको अत्यधिक आपूर्तिलाई ओपेकको उत्पादन कटौतीले कम गर्न सक्दैन कि भन्ने चिन्ताले भने बजारमाथिको दबाब यथावत् रहेको विश्लेषण गरिएको खबर आजको अभियान दैनिकमा छापिएको छ ।

Eco Roofing

लण्डनस्थित आईसीआई फ्यूचर्सको कोमेक्स डिभिजनमा बिहीवार ब्रेण्ट क्रुडको भाउ शून्य दशमलव ७३ प्रतिशतले प्रतिब्यारेल ४५ डलर शून्य ३२ सेण्टसम्म कायम भएको थियो । अघिल्लो दिनको कारोबारमा भने यो प्रतिब्यारेल २ दशमलव ६ प्रतिशतले घटी अगस्तयताकै न्यून विन्दुमा झरेको थियो । यो समाचार तयार पार्दासम्म नेपाली समयअनुसार साँझ ७ बजे अन्तरराष्ट्रिय बेञ्चमार्क प्रतिब्यारेल ४५ डलर १२ सेण्टमा किनबेच भइरहेको थियो । न्यूयोर्क मर्कण्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा यूएस क्रुडको भाउ बिहीवार २० सेण्टले बढी प्रतिब्यारेल ४२ डलर ६७ सेण्ट कायम भएको थियो । अमेरिकी बेञ्चमार्कले बुधवार भने अगस्तयताकै न्यून विन्दु छोएको थियो । यो समाचार तयार पार्दासम्म यूएस क्रुड ४२ डलर ७५ सेण्टमा किनबेच भइरहेको थियो ।

फेबु्रअरीमा उचाइमा पुगेको तेलको भाउ अहिले करीब २० प्रतिशतले घटेको छ । यसले गतवर्षको अन्त्यमा ओपेकले उत्पादन कटौती सहमति गरेपछि तेलको भाउमा भएको वृद्धि गुमेको छ । नाइजेरिया र लिबियाको बढ्दो उत्पादन र अमेरिकाको उत्पादनमा भइरहेको वृद्धिले उत्पादन कटौतीको प्रभावलाई उल्टयाइएको छ । ‘अहिले तेल ‘बियर’ क्षेत्रमा आएको छ,’ अष्ट्रेलियाली बैङ्क एएनजेले एक अनुसन्धान नोटमा भनेको छ ।

३० डलरसम्म आउन सक्छ
मङ्गलवारयता कच्चा तेल ‘बियर बजार’ मा प्रवेश गरेको र यसको भाउमा अर्को ३० प्रतिशतको कमी आउन सक्ने एक प्राविधिक विश्लेषकले बताएका छन् । बैङ्क अफ अमेरिकाको लगानी एकाइ मेरिल लिञ्चका प्राविधिक विश्लेषक पल सियानाका अनुसार तेलको भाउ प्रतिब्यारेल ३० डलरसम्म आउन सक्नेछ । ‘तेलको भाउ निरन्तर तल झरिरहेको छ, यसले एकपछि अर्को गर्दै टेवा र प्रतिरोध स्तर पनि तोडिरहेको छ,’ उनले भने । पछिल्लो समय ऋणपत्र बजार बढ्न थालेकाले तेलको भाउ घटेको हुन सक्ने अभिव्यक्ति उनले दिएका छन् । हालैका वर्षहरूमा ऋणपत्रको भाउ बढ्दा तेलको भाउ घट्ने गरेको पाइएको र यो प्रवृत्ति अहिले पुनः दोहोरिएको सियानाको धारणा छ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया