आस्बा बारे बुझौं, शेयर आवेदन रद्द हुनबाट बचौं

आस्बामा कति वित्तीय संस्था

यसै साता मात्र स्ट्याण्डर्ड चार्टर्ड बैंकको फर्दर पब्लिक अफरिङको बाँडफाँट भएको छ । बैंकले कुल २५ लाख ५८ हजार कित्ता शेयर निष्काशन गरेको थियो । गत चैत्र १ गते देखि ४ गतेसम्म यसका लागि आवेदन खुल्ला गरिएको थियो ।

बैंकले ३ अर्ब ३० करोड रुपैंया बराबरको शेयर आब्हान गरेकोमा२ लाख २१ हजार आबेदनबाट ३६ अर्ब २१ करोड रुपैंया बराबर रकम संकलन भएको थियो । बैंकको फर्दर पब्लिक अफरिङको बाँडफाँटमा १ सय ४० कित्ता आबेदन दिने लगानीकर्तालाई गोलाप्रथा तथा १ सय ४० कित्ता भन्दा बढी आबेदन दिने लगानीकर्तालाई ६ दशमलब ३८ प्रतिसत फ्लेट प्रक्रियाबाट बाँडफाँट गरिएको छ ।

बैंकले आस्बा  प्रणालीबाट आबेदन दिने प्रणाली अपनाएकोमा कुल आबेदन मध्ये ४ हजार २ सय ९१ कित्ता रद्द भएको थियो । यसको मूल कारण गलत डीम्याट नम्बर, आड कित्ताको आबेदन तथा डुब्लिकेट आबेदन रहेको बताएको छ । कुल रद्द आबेदन मध्ये ३ हजार ७ सय ४१ आबेदन गलत डीम्याट नम्बरका कारण भएको छ । यस्तै खालको समस्या नेपाल लाइफ इन्सुरेन्सको एफपीओ र फार्वर्ड माइक्रोफाइनान्सको प्राथमिक शेयर निष्काशनमा पनि देखिएको थियो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको फर्दर पब्लिक अफरिङको लागि परेको कुल आबेदन मध्ये ५१ करोड ५० लाख रुपैंया बराबरको आवेदन रद्द भएको छ । कर्जामा पैसा लिएर आबेदन दिने लगानीकर्ताको आबेदन यसरी रद्द भएमा लगानीकर्ता नराम्ररी फँस्ने पक्का छ । त्यसैले लगानीकर्ताले आस्बा  प्रणालीकोबारे राम्ररी जानकारी राख्नु जरुरी देखिन्छ ।

के हो आस्बा  प्रणाली ?

आस्बा  प्रणाली अन्तर्गत लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनका लागि धितोपत्र बोर्डबाट दरखास्त संकलन गर्न अनुमतिप्राप्त र आफ्नो खाता रहेको बैंक वा वित्तीय संस्थामा मात्र दरखास्त दिनु पर्ने हुन्छ । यसका लागि धितोपत्रको आवेदनका लागि अनुमतिप्राप्त बैंक वा वित्तीय संस्थाले बोर्डले तोके बमोजिमको ढाँचामा दरखास्त फारम तयार गरी लगानीकर्तालाई उपलब्ध गराउँछ । ति संस्थाले दरखास्त संकलन गर्न विद्युतीय प्रणालीको समेत प्रयोग गर्न सक्छन् ।

आवेदन फारम बुझेपछि बैंक वा वित्तीय संस्थाले सम्बन्धित लगानीकर्तालाई आवेदन बुझेको प्रमाण स्वरुप बोर्डले तोके बमोजिमको बिल उपलब्ध गराउछन् । शेयर खरीदका लागि आवेदन प्राप्त गर्ने बैंक वा वित्तीय संस्थाले शेयर बाँडफाँट नहुन्जेल झिक्न नपाउने गरी आवेदकको खातामा रहेको रकममध्ये दरखास्तमा उल्लेख गरे बमोजिमको शेयर किन्न लाग्ने रकम तत्काल रोक्का राख्छ । दरखास्त संकलन गर्ने समय सकिएपछि दरखास्त संकलनको विवरण शेयर निष्काशन तथा बिक्री प्रबन्धकलाई बैंकले पठाउँछन् ।

कस्तो अवस्थामा दरखास्त रद्द हुन सक्छ ?

एउटै लगानीकर्ताको नाममा एकभन्दा बढी दरखास्त दर्ता हुन आएको कुरा प्रमाणित भएमा त्यस्तो दरखास्त रद्ध गरिन्छ ।दरखास्त फारममा गलत विवरण भरेको वा उल्लेख गर्नुपर्ने सम्पूर्ण विवरण उल्लेख नगरेको वा नभरेको रहेछ भनेपनि त्यो दरखास्त मान्य हुँदैन । शेयर खरिदको लागि दरखास्त दिंदा वा दिएपछि खरिद गरेको रकम भुक्तानी नहुँदै प्रचलित कानून बमोजिम अधिकार प्राप्त अधिकारी वा निकायबाट लगानीकर्ताको खाता रोक्का राख्ने आदेश प्राप्त भएमा पनि आवेदन रद्द हुन सक्छ ।

शेयर बाँडफाँट र रकम फुकुवा

शेयर  बाँडफाँट सम्पन्न भएपछि बाँडफाँट भएको जानकारी सम्बन्धित लगानीकर्तालाई एकमुष्ठ वा व्यक्तिगत रुपमा गराइने छ । शेयर बाँडफाँटको जानकारी पत्रिकामार्फत नभई वेबसाईट मार्फत आउनेछ । शेयर बाँडफाँट भएको भोलिपल्ट प्रत्येक लगानीकर्ताले प्राप्त गरेको धितोपत्रको संख्या बमोजिमको रकम त्यस्तो लगानीकर्ताको खाताबाट तीन कार्य दिनभित्र निष्काशन तथा बिक्री प्रबन्धकको खातामा स्थानान्तरण गरिदिन सम्बन्धित बैंक वा वित्तीय संस्थालाई सूचना पठाउने गर्छन् । यसरी सूचना प्राप्त भएको तीन कार्य दिनभित्र सम्बन्धित बैंक वा वित्तीय संस्थाले आवेदकको रोक्का राखेको रकममध्ये सम्बन्धित लगानीकर्तालाई बाँडफाँटमा परेको शेयर बापतको रकम निष्काशन तथा बिक्री प्रबन्धकको खातामा स्थानान्तरण गरिदिनु पर्छ । आफ्नो खातामा पैसा जम्मा भएको दुई कार्य दिनभित्र निष्काशन तथा बिक्री प्रबन्धकले शेयर जारी गर्ने कम्पनीको खातामा सो रकम जम्मा गरिदिने गरी व्यवस्था मिलाइएको छ ।

शेयर  जारी गर्ने कम्पनीको खातामा रकम जम्मा भएको सात कार्य दिनभित्र निष्काशन तथा बिक्री प्रबन्धकले बाँडफाँट भएको अभौतिकृत धितोपत्र सम्बन्धित लगानीकर्ताको डिम्याट खातामा जम्मा गरिदिनेछ । शेयर बाँडफाँट भएको भोलिपल्ट निष्काशन तथा बिक्री प्रबन्धकले आवेदकले आवेदन दिएको बैंक तथा वित्तीय संस्थालाई जानकारी दिन्छन् । यसरी जानकारी दिएको बढीमा तीन कार्य दिनभित्र शेयर  नपर्ने आवेदकको रोक्का रकम फुकुवा हुन्छ । शेयर पर्ने आवेदकको बाँडफाँटमा परेको शेयर वापतको रकम निष्काशन तथा बिक्री प्रबन्धकको खातामा स्थानान्तरण गरेपछि बाँकी रकम फुकुवा हुन्छ ।

 

NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया