के हो बैंक कर्जा ? किन लिने, कर्जा लिंदा के के कुरामा ध्यान दिनु पर्छ ?

loan

निश्चित समयपश्चात ब्याज सहित वा साँवा मात्र फिर्ता गर्ने शर्तमा कुनै व्यक्ति वा संस्थाबाट लिएको रकम नै कर्जा वा ऋण हो । यहाँ बैंक कर्जा भन्नाले बैंकबाट लिइने कर्जा वा ऋणलाई बैंक कर्जा भनिन्छ ।

कुनैपनि उद्यम व्यवसाय गर्नका लागि रुपैयाँ पैसाको आवश्यकता पर्दछ । सोही रकमको व्यवस्था परम्परागत रुपमा हामीले कुनै साहु महाजनको गर्ने गर्दथ्यौं भने आधुनिक र विकसित अहिलेको समाजमा बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराउँछन् ।

कुनै व्यापार व्यावसाय गर्न मात्रै नभएर अनेपक्षित आपत विपत, छोराछोरी पढाउनकै लागि पनि पनि पैसाको आवश्यकता पर्दछ । जुन आफूसँग नहुन सक्छ । त्यसका लागि हामीले बैंक तथा वित्तीय संस्थामा गएर लिन सक्छौं ।

बैंक कर्जा लिंदा केके कुरामा ध्यान दिने

  • तिर्न सक्ने क्षमताभन्दा बढीको कर्जा लिनु हुँदैन् ।
  • भविष्यमा ऋण चुक्ता गर्न नसकेमा व्यक्तिगत जमानीका आधारमा सो चुक्ता गर्नु एकाघर परिवारको समेत दायित्वभित्र पर्न सक्ने हुँदा ऋण लिनुपूर्व परिवारका सदस्यहरुसँग पनि सरसल्लाह गर्नु पर्ने हुन्छ ।
  • नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त वित्तीय संस्थाहरुबाट मात्र ऋण लिने गर्नुपर्दछ । जसका कारण अनावश्यक ठगी र चर्को ब्याजदरबाट बच्न सकिन्छ ।
  • ऋण लिनुपूर्व तुलनात्मक रुपमा महंगो ब्याजदर नलगाउने, अन्यायपूर्ण शर्तहरु नराख्ने, सजिलै कम मार्जिनमा धितो राख्न सकिने, ब्याजका अतिरिक्त अन्य थप शुल्क कम मात्र लिने, ऋण प्रक्रिया छिटो एंव सरल भएका र किस्ता बुझाउन ढिलो भएमा चर्को जरिवाना तिर्नुपर्ने या नपर्ने जस्ता विषयमा सोधपूछ गरेर वा जानकारी लिएर मात्र बैंक तथा वित्तीय संस्थाको छनौट गरी ऋण लिनुपर्दछ ।
  • ऋणको साँवा र ब्याजको किस्ता कहिले कहिले र कति कति रकम तिर्नुपर्ने हो सो बारे स्पष्ट जानकारी लिनुपर्दछ ।
  • तपाईको स्थायी आम्दानीको एउटा निश्चित अंशले ऋणको साँवा ब्याज तिर्न पुग्ने हुनुपर्छ ।
  • मुख्यतः उपभोगका लागि ऋण लिने बानीलाई घटाउँदै जानु पर्दछ । अर्थात पछि आम्दानी दिने काममा लगानी गर्नका लागि मात्र ऋण लिनु उपयुक्त हुन्छ ।
  • ऋण लिएर लगानी गरेको परियोजनाबाट तुरुन्त आम्दानी हुँदैन भने त्यस्तो आम्दानी नहुञ्जेल ऋणको साँवा ब्याज कसरी भुक्तान गर्ने भन्ने योजना बनाउनु पर्दछ ।
  • जुन कामका लागि ऋण लिएको हो सोही काममा लगानी गरी आय आर्जन गर्नुपर्दछ । यदी त्यस्तो काममा लगानी गरिएन भने कर्जा दुरुपयोग भएको मानिनुका साथै पछि कर्जा भुक्तान गर्न सकिन्न ।
  • समयमा ऋण तिर्न नसकेमा हर्जाना तिर्नुपर्ने, धितो लिलामी हुन सक्ने, कानुनी कारवाहीको सामना गर्नुपर्ने हुनसक्छ ।
  • सामूहिक जमानीमा ऋण लिएको भए समूहका अन्य सदस्यले समेत ऋण लिन नपाउने हुँदा दबाब व्यहोर्नु पर्ने हुन्छ ।
  • बैंकबाट ऋण लिएको साँवा ब्याज समयमा बुझाउन नसक्दा अन्तत कर्जा सुचना केन्द्रको कालो सूचीमा समेत पर्न जाने र ऋण लिने व्यक्तिको सामाजिक प्रतिष्ठामा समेत आँच आउन सक्ने हुँदा समयमै कर्जाको किस्ता बुझाउने तर्फ सधैं सजग रहनुपर्दछ ।
    विद्यार्थीसँग नेपाल राष्ट्र बैंकबाट साभार
NMB Bank Saral Bachat Khata

फेसबुकबाट तपाईको प्रतिक्रिया