शेयर शिक्षा : शेयरमा लगानी कि व्यापार ?


सामान्यतः शेयर भविष्यको लागि किनिन्छ र यसमा मुनाफा हेरिन्छ, तर विगत १–२ वर्षमा शेयरको दोस्रो बजारमा आएको मूल्यको उतारचढावले मानिसले वस्तु कारोवार गरे जस्तै शेयरको व्यापारका लागि समेत किन्न थालेका छन् ।

हो, शेयरमा दुई प्रकारको मुनाफा हुन्छ १) नगद वा शेयरको रुपमा कम्पनीबाट पाइने लाभांस र २) बजारमा शेयरको मूल्य बढ्दा हुने पुँजीगत लाभ । यसमध्ये व्यापारी वा कारोवारीको लक्ष्य मूलतः पुँजीगत लाभ नै हुन्छ र हुनुपर्दछ भने लगानीकर्ताले बजारमूल्य भन्दा कम्पनीले प्रदान गर्ने लाभांश (नगद वा बोनस शेयर) लाई ध्यान दिनुपर्दछ ।

विगतलाई हेर्ने हो भने शेयरको किन्ने भनेको दीर्घकालीन लगानीको लागि गरिन्थ्यो । तत्कालिन अवस्थामा शेयरको भौतिक रुपमा खरिद विक्री हुने र नामसारीमा समेत निकै समय लाग्ने भएकोले मात्र होइन शेयर वास्तवमा दीर्घकालीन लाभ अर्थात् सम्पत्ति आर्जन (वेल्थ माक्सिमाइजेसन) गर्ने उद्देश्यले गरिन्छ । नेपालमा पनि विगतमा लगानीलाई मूल उद्देश्य बनाएर आर्थिक आवश्यकताका व्यवहारिक समस्या समाधानका उपायको रुपमा शेयर विक्री हुने गरेको थियो । तर गत वर्षदेखि कार्यान्वयनमा आएको अभौतिक शेयरको कारोवारसँगै शेयरको हस्तान्तरणमा सहजताले गर्दा मानिसले यसलाई वस्तु व्यापारको एउटा विकल्प वा सोही अनुरुप शेयर व्यापारलाई अगाडि बढाएको देखिन्छ, भने म्यूचुअल फण्डहरुले यस्तो शेयर व्यापारमा थप सघाउ पु¥याएका छन् ।

के त्यसो भएर शेयर सँधै किन्ने मात्र हो त ?

शेयर किन्नु भनेको कुनै कम्पनीमा लगानी गर्नु हो । यस हिसावले भन्ने हो भने शेयर किन्ने मात्र हो । लगानीको मुख्य उद्देश्य मुनाफा अर्थात् लाभांस हुन्छ र शेयरमा लगानी पनि लाभांशको लागि गरिन्छ । शेयरबाट प्राप्त हुने पुँजीगत लाभ लगानीकर्ताको लागि प्राथमिक मुनाफा हुनै सक्दैन, यो त केवल पुरक मुनाफा हो । यो सँगै लगानीबाट मुनाफा पाउन निश्चित समय र परिश्रम लाग्छ । कुनै पनि लगानीमा आजको भोलि मुनाफा हुँदैन । यस्तो केवल व्यापारमा मात्र हुन्छ । अहिले आमव्यक्तिले लगानी गरेका कम्पनीहरुको व्यवस्थापन व्यवसायिक व्यक्तिबाट हुने हुँदा मात्र अरु व्यवसायमा गरिएको लगानी जस्तो लगानीकर्ताले बढी परिश्रम गर्नु नपरेको हो । यसको साथै हामीले शेयर किनेर लगानी गर्दा अरुले स्थापना गरेको कम्पनीहरुमा लगानी गर्ने हुँदा कम्पनीले पहिलो पटक सार्वजनिक निस्कासन गरेको अवस्थामा बाहेक थप मूल्य तिर्नुपर्ने हुन्छ । यस्तो मूल्य कम्पनीको मुनाफाको अवस्था, विक्रीका लागि उपलब्ध शेयरसंख्या, खरिद गर्न चाहने संभावित क्रेताहरु, भविष्यको अवस्था आदिमा निर्भर गर्दछ । हाम्रो शेयर बजारमा क्रेता र विक्रेताको प्रत्यक्ष भेट हुँदैन र उक्त दुवै पक्षको तर्फबाट शेयर दलालहरुले निर्धारित शुल्क लिएर कारोवार गरिदिन्छन् ।

यसलाई सहज तरिकाले बुझ्न एउटा घर वा जग्गाको उदाहरण लिउँ । जसरी घर किन्दा पछि यति मूल्यमा बेच्छु भन्ने होइन आफ्नो सम्पति र सुविधाको लागि किनिन्छ । आज किन्यो भोलि २–४ लाख बढी मूल्य आयो भनेर पक्कै विक्रि गरिन्न । हो, आफुले प्रयोग गरेर बढी भएको क्षेत्र अरुलाई प्रयोग गर्न दिएर निश्चित भाडा लिइन्छ । तर समयक्रममा पहिले बनाएको वा किनेको घर मन लागेन वा त्यसमा समस्या आयो वा बजारमा मूल्य वृद्धिले निकै राम्रो मूल्य आयो भने बेचिन्छ । बेच्ने पनि आफूलाई चित्तबुझ्दो मूल्य पाए न बेच्ने हो ।

त्यस्तै शेयरमा लगानी पनि सम्पतिको खरिद हो र यो दीर्घकालीन हुन्छ । यसमा कम्पनीबाट वार्षिक मुनाफाको आधारमा लाभांसको रुपमा मुनाफा पनि पाइन्छ । योसँगै समयक्रममा यसको मूल्य पनि बढ्दछ । यहाँ एउटा फरक के छ भने शेयर ससानो इकाइमा खरिद वा विक्रि गर्न सकिन्छ र कम्पनीले पुँजी बढाउने क्रममा दिने बोनस वा हकप्रदले प्रतिशेयर औसत लागत कम गर्दै गर्न सक्छ । जबकी घरजग्गाको लागत कुनैपनि अवस्थामा कम हुँदैन र सहजरुपमा सानो इकाइमा खरिद विक्रि हुनसक्दैन ।

शेयर व्यापार

समयक्रमसँगै अन्य वस्तुको व्यापार जस्तै शेयर पनि एउटा वस्तुको रुपमा व्यापारयोग्य वस्तुको रुपमा देखापरेको छ । व्यापारीहरुले अन्य वस्तु जस्तै शेयर खरिद गर्ने र निश्चित मुनाफा वा मूल्य थप गरेर विक्रि गर्ने गर्दछन् । जसरी व्यापारीहरुले विक्रीका लागि सामानको भण्डारण गर्दछन्, शेयर कारोवारीले पनि विक्रिका लागि शेयर किनेर राख्नु स्वभाविक हो । यहाँ लगानीकर्ताले जस्तो लाभांस होइन मूल्य वृद्धिलाई जोड दिइन्छ र सकेसम्म बढि मूल्य नै व्यापारीको प्राथमिकता हुन्छ । तसर्थ, शेयर व्यापारीको मुख्य आम्दानी भनेको पुँजीगत लाभ नै हो ।
अन्य वस्तु तथा सेवाको व्यापार भन्दा शेयर व्यापारमा फरक भनेको यसमा व्यापारी र क्रेताको भेट हुँदैन भने व्यापारको लागि सरकारले तोकेको नेपाल स्टक एक्सचेन्ज मार्फत खरिद विक्री गर्नुपर्दछ । यहाँ अर्को पसल खोलेर बस्नु पर्दैन् । शेयर दलालले नै तपाइको शेयर बेचेर पैसा ल्याइदिन्छन् । यसरी हेर्दा यो सहज व्यापार पनि हो ।

शेयरको व्यापार कि लगानी गर्ने ?

शेयर वस्तु तथा सेवा जसरी व्यापार गर्न पनि सकिने र धनसम्पतिको रुपमा लगानी पनि गर्न सकिने द्वैध विशेषता भएको हुँदा आफ्नो उद्देश्य अनुरुप लगानी वा व्यापार गर्न सकिन्छ । तर शेयर किन्नु अगाडि कुन उद्देश्यले शेयर किन्ने हो सो निश्चित गर्नुपर्दछ । उद्देश्य अनुरुप निम्न कुराहरुमा विशेष ध्यान दिइनु पर्दछ

वास्तवमा व्यापारबाट तत्काल मुनाफा आउछ र दैनिक आर्थिक आवश्यकता समाधान गर्न सहज हुन्छ । यसले छिटोछिटो नगद प्रवाह हुँदा बजारको जोखिम व्यवस्थाप सजिलो हुन्छ । दीर्घकालमा हेर्ने हो भने कुल सम्पत्ति लगानीकर्ताको नै बढ्ने विश्वव्यापी व्यवहारिक अनुभवले देखाएको छ । यदि लगानी र व्यापार दुवैको लाभ र जोखिम लिन चाहनु हुन्छ भने उपलब्ध कोषको निश्चित प्रतिशत छुट्याएर सोही अनुरुप व्यवस्थापन गर्नुस् । लगानी गर्दै हुनुहुन्छ भने तत्कालिन उतारचढाव र मुनाफा भन्दा दीर्घकालिन मुनाफा र सम्पति वृद्धिमा ध्यान दिनुस् । बजारमा आफूले लगानी गरेको शेयरको मूल्य निकै घटेमा सस्तोमा थप शेयर किनेर औसत लागत घटाउनुस तर कम्पनीको अवस्था र प्रगति सन्तोषजनक छैन भने लागत घटाउने भन्दा घाटा घटाउने उपाय अपनाउनुस् । लगानीलाई कम्पनी छनौट गर्दा विगत र भविष्यलाई ध्यान दिनुस भने व्यापार गरिने शेयरको लागि माग र आपूर्तिलाई विशेष ध्यान दिनुस् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया